वादो काई कराँतेकोे बेल्ट प्रमोशन ग्रेडिङ सम्पन्न, ३२ खेलाडीले पाए नयाँ बेल्ट

मंसिर १३, मेलम्ची । वादो काई कराँतेकोे बेल्ट प्रमोशन ग्रेडिङ मार्फत ३२ खेलाडीले नयाँ बेल्ट पाएका छन् । नेपाल वादो काई कराँते संघ शाखा डोजो मेलम्चीद्वारा आयोजित बेल्ट प्रमोशन ग्रेडिङ्ग कार्यक्रम आज मेलम्ची–१२ स्थित जालपादेवी माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख तथा नेपाल वादो काई कराँते संघका केन्द्रीय अध्यक्ष आइतमान तामाङ प्रमुख अतिथिमा सम्पन्न भएको हो । कार्यक्रममा संघका संस्थापक तथा वरिष्ठ प्रशिक्षक होमबहादुर मोक्तान, अन्तर्राष्ट्रिय निर्णायक नारायण मगर, प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

ग्रेडिङ कार्यक्रममा जालपादेवी माध्यमिक विद्यालय र इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । परीक्षणको आधारमा ३२ जना खेलाडीको बेल्ट बढुवा गरिएको छ । यसअन्तर्गत ह्वाइटबाट एल्लो, एल्लोबाट ब्ल्यू, र अरेन्ज बेल्ट प्रदान गरिएको प्रशिक्षक मिङ्मार तामाङले जानकारी दिए ।

प्रमुख अतिथि आइतमान तामाङले खेलकुदले युवामा आत्मविश्वास, शारीरिक फिटनेस र सकारात्मक सोच अभिवृद्धि गर्ने भन्दै कराँते जस्तो मार्शल आर्टले समाजमा अनुशासन र नेतृत्व निर्माणमा ठूलो योगदान पुग्ने बताए ।

वरिष्ठ प्रशिक्षक होमबहादुर मोक्तानले नियमित अभ्यास र प्रतिबद्धता कराँते सिकाइको मुख्य आधार भएको उल्लेख गर्दै खेलाडीहरूलाई अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए । विद्यालयका प्रधानाध्यापक अध्यक्ष इन्द्रप्रसाद दुलालले जुनकसुकै खेलले खेलाडीहरूलाई अनुशासन, मिहिनेत र लगनशीलतासँग अघि बढ्न प्रेरित गर्ने बताए । खेलकुदमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सहयोग पुगेको बताउँदै संघलाई धन्यवाद व्यक्त गरेका थिए ।