एमाले सिन्धुपाल्चोकबाट १७ जना महाधिवेशन प्रतिनिधि छान्न ७४ जनाको उम्मेदवारी (को–को परे नामलिष्ट सहित)

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधि छनोट गर्न बुधबार उम्मेदवारी दर्ता गरेको छ ।
सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधि १७ जना मात्र सहभागी हुन पाउने भए पनि बुधबार ७४ जनाले उम्मेदवारी दर्ता गरेको एमाले सिन्धुपाल्चोकले जनाएको छ ।

सो पार्टीका अनुसार प्रतिनिधिसभा अन्तर्गत सिन्धुपाल्चोक–१ बाट खुला, महिला तथा ४० बर्ष मुनि गरी ९ जना छनोट हुनुपर्नेमा ३३ जनाले महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गरेका छन् ।

यस्तै, सिन्धुपाल्चोक–२ बाट ७ जना महाधिवेशन प्रतिनिधिका लागि ४१ जनाले मनोनयन दर्ता गरेका छन् । एमाले सिन्धुपाल्चोकले महाधिवेशन प्रतिनिधि छनोट गर्न बुधबार मनोनयन दर्ता र मंसिर १३ गते शनिबार निर्वाचन गर्ने जनाएको छ ।

जिल्ला पार्टी इन्चार्ज सरेश नेपालका अनुसार ९ जनाकाे काेटा रहेकाे १ नम्बर क्षेत्रमा ५ खुला, ३ महिला र एक ४० बर्ष भन्दा मुनिकाे अनिवार्य समावेश गर्नुपर्नेछ । त्यस्तै ७ जनाकाे काेटा रहेकाे २ नम्बर क्षेत्रमा ४ खुला, २ महिला र १ ४० बर्ष मुनिकाे प्रतिनिधित्व हुनपर्ने प्रावधान रहेकाे छ ।
यस्तै उत्पीडित समुदायबाट जिल्लाभरीबाट १ जना चाहिनेमा ४ जनाकाे मनाेनयन परेकाे उनले जानकारी दिए ।

एमाले सिन्धुपाल्चोकका नेता टासी लामाले सहमतिका लागि बिहिबार प्रयास गर्ने र नभए निर्वाचनका माध्यमबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने तयारी गरेको बताए ।

‘महाधिवेशन प्रतिनिधिका लागि अधिकांश युवाहरूले आकांक्षा देखाएका छन् । हामीले सहमतिको प्रयास गर्छौं,’ उनले भने, ‘सहमति नभए शनिबार निर्वाचन गर्ने गरी कार्यतालिका बनाएका छौं ।’ सिन्धुपाल्चोकमा रहेका दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानेर एमालेले महाधिवेशन प्रतिनिधि छनोट गरेको हो ।

यसअघि एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा सर्वसम्मतिका नाममा उम्मेदवार हुन नदिएपछि यसपालि प्रतिनिधिका आकांक्षी बढेको एमाले नेता तथा कार्यकर्ताको आंकलन छ ।

एमालेले ११ औं महाधिवेशनका लागि जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा १२ सय पार्टी सदस्य भएको निर्वाचन क्षेत्रबाट २ जना खुला, १ जना महिला र १ जना युवा गरी ४ जना महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्ने जनाएको छ ।

यस्तै, १२ सयभन्दा बढी पार्टी सदस्य रहेको क्षेत्रबाट प्रत्येक ८०० जना बराबर १ जना महाधिवेशन थपिने गरी कार्यविधि बनाएको छ ।
सिन्धुपाल्चोकमा एमालेको क्रियासिल पार्टी सदस्य संख्या प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा ५ हजार ६ सय ३७ र २ मा ३ हजार ७ सय गरी कुल ९ हजार ३ सय ३७ जना रहेको साे पार्टीले जनाएकाे छ ।
प्रतिनिधि छनौटको लागि १३ गते हुने निर्वाचन १ नम्बर क्षेत्रको खाडीचौर र २ को मेलम्चीमा गर्ने जनजाती नेता आङछिरी शेर्पाले जानकारी दिए । एमालेले मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्दैछ ।