पर्यटकीय गन्तव्य बन्दै ओख्रेनी, आगान्तुकका लागि धमाधम रिसोर्ट बन्दै

दिनेश दुलाल
मंसिर ५, चौतारा । पर्यटनका लागि पनि यो सिन्धुपाल्चोक जिल्ला महत्वपूर्ण गन्तव्य हो । पाँचपोखरी, भैरवकुण्ड, हेलम्बु, मेलम्ची, तातोपानी लगाएत प्रमुख पर्यटकीय गन्तव्यहरु संगै लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको ओख्रेनी लगाएतका ठाउँहरू पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्न थालेका छन् ।

भारती रिसाेर्टकाे उदघाटन गर्नुहुँदै नगरप्रमुख कृष्ण प्रसाद सापकाेटा

जिल्ला सदरमुकाम चौताराबाट निकै नजिकको ठाउँ रहेको फुस्रे तथा ओख्रेनी पर्यटन प्रवद्र्धन गर्न सकिने सुन्दर ठाउँ हुन । यहाँको हरियाली, शान्त वातावरण, र परम्परागत ग्रामीण जीवनशैली पर्यटकहरूलाई आकर्षित गरेको छ । यहि क्षेत्रमा अहिले आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आकर्षक गन्तव्य बन्दै आएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका–१ सानो ओख्रेनीमा आधुनिक सुविधासहितको आकर्षक रिसोर्ट धमाधम बन्दैछन् । सुविधासहितको पहिलो रिसोर्ट कृष्ण भारती लगाएत समूहले निर्माण गरेको हो । करिब दुई करोड रुपियाँभन्दा बढी लगानीमा तयार भएको रिसोर्ट औपचारिक रुपमा शुक्रबारबाट सञ्चालनमा ल्याइएको हो । सहरको भीडभाड र कोलाहलबाट टाढा रहन, चिसो हावाको स्पर्श, हरियाली वातावरण र जुगल हिमालको दृश्य अबलोकन गर्न सकिनेगरी सानो ओख्रेनीमा रिसोर्टको परिकल्पना गरेर एकबर्षमै निर्माण गरिएको भारती रिसोर्टका सञ्चालक कृष्ण भारतीले बताए ।

निकै तामझामका साथ शुभराम्भ गरिएको उक्त रिसोर्टको चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले उदघाटन गरेका हुन् । संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाभरीको पर्यटकीय क्षेत्रहरुको पहिचान गरी पर्यटन प्रर्वद्वन गर्ने योजना बनाएको बताए । नगरले ‘सुकुटे’ लाई पर्यटकीय क्षेत्र घोषणा गरिसकिएको जानकारी गराउँदै नगरप्रमुख सापकोटाले सुकुटेमा आउने पर्यटकलाई साँगाचोकगढी, रानीपोखरी, चौताराको कृष्णमन्दिर, भुतछाँगा, गौराती भिमसेनथान तथा हर्लङबर्लङ हुँदै ओख्रेनी सम्म कसरी ल्याउन सकिन्छ भनेर योजनामा लागेको नगरप्रमुख सापकोटाले सुनाए ।

नगरले सुकुटे देखि बन्देउ हुँदै ओख्रेनी सम्म पर्यटकीय मार्गको रुपमा होडिङवोर्ड तत्काल राख्ने समेत सुनाए । नयाँ बनेको रिसोर्टले पर्यटकलाई थप आकार्षित गराउने धारणा राख्दै ओख्रेनी सम्मको सडक पूर्वाधारलाई आगमी दिनमा नगरले व्यवस्थित बनाउने समेत बचन दिए । नगर उपप्रमुख सीता थापाले पर्यटकीय क्षेत्र ओख्रेनीमा रिसोर्ट बनेसंगै स्थानीय उत्पादन र अर्गानिक खाद्यन्नलाई प्रयोगमा ल्याउन सुझाईन । कार्यक्रममा १ नम्बर वडाअध्यक्ष युवलाल श्रेष्ठ लगाएतले शुभकामना दिए । रिसोर्ट उदघाटनका क्रममा स्थानीय शेर्पा समुदायले शेर्पा नाच समेत प्रस्तुत गरेका थिए ।

स्मरण रहोस पर्यटकीय क्षेत्र ओख्रेनी पाँचपोखरी पुग्ने महत्वपूर्ण मार्ग पनि हो । यो ठाउँबाट ठूलो ओख्रेनी, गोब्रे हुँदै च्यो च्यो डाँडा सम्म सजिलै पुग्न सकिन्छ । जाहाँबाट जुगल हिमाल लगाएत हिमश्रृंखलाहरुको राम्रोसंग दुश्यवलोकन गर्न सकिन्छ ।