जुगलमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रत्न राज्यलाई
मंसिर ५, चनौटे । जुगल गाउँपालिकाले आयोजना गरेको सातौँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि रत्न राज्य माध्यमिक विद्यालय चनौटेले हात पारेको छ ।
जुगल–५ चनौटेमा रहेको रत्नराज्यले उत्कृष्ट प्रदर्शन गर्दै १२ स्वर्ण, ७ रजत र ६ कंश्य गरी कुल २५ पदक प्राप्त गरेर उपाधि जित्न सफल भएको हो ।
त्यस्तै, श्री रामेश्वर माध्यमिक विद्यालय, जुगल–५ खमारेले ८ स्वर्ण, २ रजत र ४ कंश्यसहित १४ पदक प्राप्त गर्दै दोस्रो स्थानमा रह्यो ।
तेस्रो स्थान भने श्री सेलाङ माध्यमिक विद्यालय, जुगल–१ सेलाङले ५ स्वर्ण, ६ रजत र ३ कंश्यसहित कुल १४ पदक जितेर सुरक्षित गर्यो ।

बिहीबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न प्रतियोगितामा गाउँपालिकाका १० विद्यालयले सहभागिता जनाएका थिए ।
समापन समारोहमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालय तथा उत्कृष्ट खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष रेशम स्याङबो, उपाध्यक्ष हिमालकुमार श्रेष्ठ, तथा प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले मेडल, ट्रफी, कप र प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष स्याङबोले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकास, अनुशासन, आत्मविश्वास र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए । उत्कृष्ट खेलाडीहरूको अभिलेख गाउँपालिकाले सुरक्षित राख्ने र भविष्यमा खेल क्षेत्रमा सक्रिय विद्यार्थीलाई आवश्यक सहयोग प्राथमिकताका साथ प्रदान गर्ने प्रतिवद्धता जनाए ।
उपाध्यक्ष हिमालकुमार श्रेष्ठले प्रतियोगिता “भव्य, सभ्य र सहज” रूपमा सम्पन्न गर्न भूमिका खेल्ने सबैप्रति धन्यवाद दिए । प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले खेलाडीको अनुशासन र नागरिक सहभागिताले प्रतियोगिता झनै रोमाञ्चक र प्रेरणादायी बनेको बताए ।
समापन समारोहमा शिक्षा शाखाका प्रतिनिधि प्रदिप पराजुली लगाएतले खेलाडीहरुलाई शुभकामनाको मन्तव्य राखेका थिए ।

