शिक्षा र स्वास्थ्य क्षेत्रमा अब्बल बन्ने बाटोमा हेलम्बु

मंसिर ५, हेलम्बु । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका शिक्षा र स्वास्थ्यमा अब्बल बन्ने बाटोमा पुगेको छ । सिन्धुपाल्चोकका १२ पालिका मध्ये शिक्षा र स्वास्थ्य क्षेत्रमा चमत्कारीपूर्ण योजना र कार्यक्रम ल्याएर जनताको मन जितेको हेलम्बुले पछिल्लोपटक स्वास्थ्य क्षेत्रमा नयाँ योजनाको शुभराम्भ गरेको छ । यसै योजना अनुसार हेलम्बु–६, इचोकमा निर्माण हुन लागेको ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को सिलान्यास भएको छ ।

हेलम्बु गाउँपालिका, हेलम्बु स्वास्थ्य प्रतिष्ठान र धुलिखेल अस्पतालको संयुक्त पहल तथा छिरिङ्स फण्ड अमेरिकाको आर्थिक सहयोगमा बन्न लागेको चिकित्सा केन्द्रको नेपालका लागि अमेरिकाका राजदूत महामहिम डिन आर थम्पसनले गरेका हुन । शिल्यान्यास कार्यक्रममा गुरु मिङ्ग्यूर रिन्पोछे, गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, छिरिङ्स फण्डका संस्थापक डा. पिटर स्केमाइडिङ, संस्थाका अध्यक्ष छिरिङ लामा, हेलम्बु स्वास्थ्य प्रतिष्ठानका अध्यक्ष पूर्ण गौतम, सचिव सुरेश तामाङ, तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो । राजदूत थम्पसनले ग्रामीण भेगमा यस्तो आधुनिक स्वास्थ्य पूर्वाधार निर्माण हुनु स्थानीय समुदायलाई निकै ठूलो फाइदा पुग्ने ऐतिहासिक कदम भएको बताए ।

समारोहमा पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुको स्वास्थ्य क्षेत्रमा रूपान्तरण ल्याउने लक्ष्यसहित दन्त तथा आँखाका सबै सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने बताए । ‘स्वास्थ्य अब हेलम्बुवासीका लागि सुविधा होइन, अधिकार हो, अब दन्त, आँखा जस्ता अत्यावश्यक सेवा निःशुल्क पाउनुका साथै क्यान्सर उपचारसहितका उन्नत विशेषज्ञ सेवा विस्तार गर्दै हामी हेलम्बुलाई क्षेत्रीय स्वास्थ्य गन्तव्य बनाउनेछौं’, पालिका अध्यक्ष ग्याल्जेनले भने । सोही दिन उक्त चिकित्सा केन्द्रको व्यवस्थापकीय जिम्मेवारी ध्ुलिखेल अस्पतालसंग सम्झौता भएको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।

उनका अनुसार, यो परियोजनाले हेलम्बुमा दीर्घकालीन सामाजिक–आर्थिक परिवर्तन पनि ल्याउनेछ । हेलम्बु स्वास्थ्य प्रतिष्ठानका अध्यक्ष पूर्ण गौतमले यो केन्द्रलाई हेलम्बुको स्वास्थ्य सुरक्षाको मेरुदण्डका रूपमा रहेको बताए । हेलम्बुवासीले उपचारका लागि राजधानी वा अन्य शहर धाउनुनपर्ने उनको दावी छ । यसले हेलम्बु मात्र नभई मेलम्ची, पाँचपोखरी, इन्द्रावती र आसपासका क्षेत्रका नागरिकलाई पनि ठूलो राहत दिने उनको भनाई छ । सचिव सुरेश तामाङले परियोजनाले समान पहुँच, मर्यादित सेवा र स्वास्थ्यमा दिगोपनाको नयाँ मानक स्थापित गर्ने बताउँदै सबै समुदायलाई समान रूपमा सेवा उपलब्ध गराइने सुनिश्चितता व्यक्त गरे ।

कार्यक्रमका विशेष सहभागी, छिरिङ्स फण्डका संस्थापक डा. पिटर स्केमाइडिङले हेलम्बु समुदायप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरे । पवित्र भूमि हेलम्बु र अद्भुत समुदायका लागि यस्ता सकारात्मक कार्यहरू गर्न पाउनु ठूलो सम्मान र खुशीको विषय भएको पिटरको ठम्याई छ । यस चिकित्सा केन्द्रले यहाँका मानिसहरूलाई दीर्घकालीन स्वास्थ्य लाभ पु¥याउनेछ भन्नेमा आफु विश्वस्त रहेको उनले बताए ।
कार्यक्रममा गुरु मिङ्ग्यूर रिन्पोछेले करिब १००० जनालाई छेवार, मनि को लुङ, बज्रगुरुको लुङ, ज्याम्बेयानको लुङ तथा मंगलमय आशीर्वाद प्रदान गरेका थिए, जसले समारोह आध्यात्मिक शान्ति, आशा र शुभकामनाले भरिएको थियो ।

यस केन्द्र निर्माणपछि हेलम्बुवासीलाई दन्त, आँखा तथा सामान्य उपचारदेखि विशेष परामर्शसम्मका सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध हुनेछन् । साथै, सेवा लिन आउने अन्य पालिकाका नागरिकलाई पनि खुला पहुँच रहनेछ, जसले यस क्षेत्रलाई स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा स्थापना गर्नेछ ।

स्थानीय बासिन्दाहरू सहित सहभागी कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, स्थानीय अगुवाहरू तथा स्वास्थ्यकर्मीहरु समेत सहभागी थिए । उक्त शिलान्यासले हेलम्बुमा निःशुल्क, गुणस्तरीय, पहुँचयोग्य र दिगो स्वास्थ्य सेवाको नयाँ युग सुरु भएको भन्दै स्थानीयबासीमा खुशी छाएको छ ।