सिन्धुपाल्चोकमा नेपाली कम्युनिष्ट पार्टीको नाममा नयाँ पार्टी कार्यालय स्थापना
मंसिर ४, चौतारा । १० घटक बीच केन्द्रीय तहमा भएको एकता प्रक्रिया पुरा भएसंगै जिल्ला तहहरुमा समेत नेपाली कम्युनिष्ट पार्टीको नाममा नयाँ कार्यालय खोल्ने प्रक्रिया सुरु भएको छ ।

सिनधुपाल्चोकको चौतारामा बुधबार नयाँ संरचनामा गठित नेपाली कम्युनिस्ट पार्टीले आफ्नो जिल्ला कार्यालयको नयाँ वोर्ड राखेर शुभराम्भ गरेको हो ।

चौतारा गैरीगाउँ स्थित सहिद स्मृति भवनलाई नेकपा (माओवादी केन्द्र) ले पार्टी कार्यालय बनाउँदै आएकोमा अब नेपाली कम्युनिष्ट पार्टीको कार्यालयको रूपमा रहने छ । नयाँ नाम, नयाँ संरचना तथा एकीकृत संगठनात्मक व्यवस्थासहित कार्यालय सञ्चालनमा आएपछि पार्टीका जिल्लास्रीय संगठनात्मक गतिविधि उक्त कार्यालयबाट नै सञ्चालन गरिने नवगठित नेकपाले जनाएको छ ।

वोर्ड सहित नयाँ कार्यालय उदघाटन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख तथा केन्द्रीय नेता कृष्णप्रसाद सापकोटा, माधव सापकोटा, युवराज दुलाल, सरल सहयात्री पौडेल, सोम सापकोटा, भगवती नेपाल, राजकुमार श्रेष्ठ, चन्द्रबहादुर थापा लगायतका नेताहरूको उपस्थित रहेको थियो । नयाँ यात्रा केवल नाम परिवर्तन मात्र नभई संगठनात्मक दिशानिर्देशनका हिसाबले पनि महत्वपूर्ण मोड भएको नेताहरुले प्रतिक्रिया दिए । उनीहरूले एकताले जिल्लामा वाम राजनीति थप सबल हुने र जनतासँगको सम्बन्ध अझै घनिष्ट बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सदरमुकाम वरपरका नेता कार्यकर्ताहरु सहभागि थिए ।


