योजनाहरू प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न नगरप्रमुख तामाङको जोड
कार्तिक २८, मेलम्ची । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले योजनाका कामहरू प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न जोड दिएका छन् ।
आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले योजनाका कामहरू प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न सबै सरोकारवालालाई आग्रह गरे । समृद्ध नगर निर्माणको अभियानमा सबैको एकताबद्ध सहयोग अपरिहार्य रहेको भन्दै नगर प्रमुख तामाङले नगरले सञ्चालन गरेका योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए ।
कार्यक्रममा उप–प्रमुख उमा प्रधानले नगरका योजनाको अनुगमन पक्षलाई व्यवस्थित ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन नगरले सञ्चालन गर्ने कार्यक्रमहरू दिगो र उपलब्धिमूलक हुनुपर्नेमा जोड दिइन ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले अघिल्लो आर्थिक वर्षमा नगरले सम्पादन गरेका कार्य, उपलब्धि, समस्या र समाधानका विषयमा विस्तृत प्रस्तुतीकरण गरे ।
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नगेन्द्र प्रसाद खतिवडाले वडास्तरबाट गरेका कार्यको अनुभव आदानप्ररदान गर्नुको साथै सुधार गर्नुपर्ने पक्षको विषयमा सुझाव दिए । साथै, नगर क्षेत्रभित्र क्रियाशील गैरसरकारी संस्थाहरूले पनि आफ्ना–आफ्ना परियोजनाको कार्य प्रगति तथा उपलब्धिहरूको प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रमले नगरपालिकाको नीति, योजना र कार्यान्वयन प्रक्रियालाई अझ पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य लिएको जनाइएको छ ।

