दुग्धजन्य पदार्थ विक्री नहुँदा व्यवसायी चिन्तित
कार्तिक २८, सुकुटे । सुनकोशी गाउँपालिका–३ का हेमकान्त प्याकुरेलले करिब एकदशक देखि सुकुटेमा सिन्धुडेरी चलाएका छन् । उनले दैनिक १००० देखि १३०० लिटर सम्म वरीपरीका किसानको दुध लिन्छन् ।
उनले सुकुटे बजार र कार्कीटार आसपासको र सुनकोशी गाउँपालिकाको १,२,३ र ४ वडा र अन्य क्षेत्रबाट समेत दुध संकलन गर्छन । यो सिजनमा उत्पादन बढी छ तर विक्री कम भएको उनी बताउँछन् । सिजनमा बढी र सुख्खा समयमा कम आउँदा व्यवसायमा सन्तुलन मिलाउन नसकिएको उनी बताउँछन् । डिडिसिलाई दुध पठाउँदा बेलामा पैसा नआउँदा आफैैंले ऋण गरेर भुक्तानी गर्नु परेको उनले सुनाए । सुख्खा सिजनमा अपुग दुध अर्को ठाउँको व्यवसायीबाट खोजेर दिंदा एकातिर व्यापारी अर्कोतिर किसान छुट्ने समस्या रहेको उनको भनाई छ । निरन्तर नुहँदा एउटा बाहाना पारेर त्यो व्यापारी छाडेर अर्कोतिर लाग्ने समस्या हुने गरेको उनले सुनाए ।
यो पेशा भनेको आफ्नो पैसा भन्दा अरुको पैसामा चल्ने खालको भएको उनले बताए । दुध उत्पादन राम्रो भएपनि राम्रोसंग व्यापार गर्न नसकिएको व्यवसायी प्याकुरेल बताउँछन् । उनका अनुसार दुध वापतको रकम उनले दैनिक किसानलाई दैनिक ९० हजार बुझाउँछन् । कुनैसमय पनि किसानको दुधको पैसा नरोकेको उनले बताए । उनले ८० लाख खर्च गरेर व्यवसाय सुरु गरेका थिए । उनकोमा तीन हजार लिटर अट्ने क्षमताको दुध राख्ने ट्याङ्की रहेपनि ५ सय लिटर मात्रै प्रयोगमा ल्याउँदा बत्तीको चार्ज बढी तिर्नु परेको हो । प्याकुरेलले विक्री नभएको दुधबाट पाउडर, पनिर, घिउ लगाएत दुग्धजन्य सामाग्री बनाएको उनले सुनाए ।
अहिले सिन्धुपाल्चोक दूधजन्य पदार्थको उत्पादनमा आत्मनिर्भर बनेको छ । अहिले आन्तरिक उत्पादनबाटै नेपाली बजार धानेको छ । तर बढी भएको दुध भने विक्री नहुँदा प्याकुरेल जस्तै अन्य व्यवसायीहरु चिन्तित बनेका छन् ।
सरकारले किसानबाट उत्पादन हुने दुग्धजन्य पदार्थ निर्यातमा लगानी बढाउनुपर्ने व्यवसायी प्याकुरेल बताउँछन् । कसरी उत्पादन र बिक्रि बढाउने भन्ने सोच्न सकेमा गुणस्तरीय दुग्धजन्य पदार्थसहित अन्तराष्ट्रिय बजारमा नेपाली ब्राण्ड स्थापित हुने उनको तर्क छ छ ।
निजी डेरी क्षेत्रले अहिले पनि निर्यात गर्न सक्ने भए पनिउत्पादनदेखि प्रशोधनसम्म महँगो हुुने भएकाले निर्यातमा समस्या भएको तर्क उनले गरे । उत्पादन बढेको खण्डमा डेरी उद्योग पनि विस्तार हुने उनको भनाइ छ ।

