जिल्लाकै व्यवस्थित कृषि उपज संकलन तथा विक्री केन्द्र सुकुटेमा शुभराम्भ(फोटो फिचर सहित)
दिनेश दुलाल
कार्तिक १७, सुकुटे । सिन्धुपाल्चोकको सुकुटेमा जिल्लाकै व्यवस्थित कृषि उपज संकलन तथा विक्री केन्द्रको शुभराम्भ भएको छ । सुनकोशी कृषि उपज संकलन तथा विक्री केन्द्र राखिएको सुकुटे क्षेत्र चौतारा साँगाचोकगढी नगरपालिका–१० रहेपनि सुनकोशी गाउँपालिकाले आफ्ना सातवटै वडा समिटिने गरी संकलन तथा विक्री केन्द्र राखेको हो । जिल्लाका १२ स्थानीय तहमध्ये सम्भवत आफ्नै भवन बनाएर व्यवस्थित तथा बृहत रुपमा तरकारी संकलन तथा विक्री केन्द्र स्थापना गर्ने सुनकोशी पालिका भएको छ ।

उक्त संकलन तथा विक्री केन्द्रको सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना उपाध्यक्ष कान्छी लामाले उदघाटन गरेका हुन् । तरकारी संकलन तथा विक्री केन्द्रको उदघाटन पछिको मन्तव्यलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष तिमिल्सिनाले कृषिमा सुनकोशी गाउँपालिकामा केही हुन्छ भन्ने जनतामा सन्देश गएको ठोकुवा गर्दै उनले गाउँपालिकाले एउटा कृषि संकलन तथा विक्री केन्द्र बनाउन पर्छ भनेर निर्णय गरेअनुसार सुकुटेमा स्थापना भएकोमा खुशी व्यक्त गरे ।

भौगोलिक हिसाबले नमिले पनि जोखिम मोलेरै सुकुटेमा संकलन तथा विक्रीकेन्द्र स्थापना भएको उनले बताए । अब यो संकलन तथा विक्री केन्द्रलाई टिकाउने जिम्मा उत्पादक किसान तथा व्यवस्थापकीय जिम्मा लिने संकलन तथा विक्री केन्द्रको दायित्व भएको उनले बताए । केन्द्रले सुकुटे करिडोरमा रहेका रिसोर्टहरुलाई समेत माग अनुसारको तरकारी उपलब्धता गराउन सुझाए । पालिकाले यहाँको तरकारी काठमाडौं लैजान परेमा ढुवानी खर्च व्यहोर्ने समेत बचन दिए । सुनकोशीको जनताको जीवनस्तर उठाउनको लागि साझा सम्पतिको रुपमा यसलाई लिनपर्ने उनको तर्क छ ।

सुनकोशी गाउँपालिकामा एक बर्षमा ३ करोड मूल्यको दुध विक्री भएको दावी गर्दै अध्यक्ष तिमिल्सिनाले गाउँपालिकाले किसानलाई गाईभैंसीमा डेड करोड लगानी गरेको परिणाम उक्त रकम किसानले पाउन सकेको बताए । पालिकाले किसानलाई हाते ट्याक्टर लगाएत कृषि औजार समेत अनुदानमा वितरण गरिएको समेत उनले सुनाए ।

कार्यक्रममा कार्यक्रममा उपाध्यक्ष कान्छी लामा, वडा नम्बर १ का वडाअध्यक्ष कुमार शाही, ३ का इश्वर तामाङ, ५ का जालबहादुर लामा, ७ का ईश्वर तिमिल्सिना तथा पूर्व वडाअध्यक्ष तथा होटल व्यवसायी रामहरी खड्का र जामुने कृषक अध्यक्ष गोपाल पहरी लगाएतले कृषिउपज संकलनकेन्द्रको विविध विषमा आफ्ना धारणा राखेका थिए ।

पिङडाँडा साना किसान कृषि सहकारीका अध्यक्ष हिमबहादुर आचार्यका अनुसार पिङडाँडा सहकारीको पहलमा गत बर्ष एउटा संकलनकेन्द्र बनाउने भनेर पिङडाँडा सहकारीले निर्णय गरेअनुसार संकलनकेन्द्र बनेको हो । संकलनकेन्द्रको संरचना बन्नु भन्दा पनि कसरी चलेको छ अन्य क्षेत्रहरुमा भनेर पालिकाई अनुरोध गरेपछि पालिका टिम मिलेर कास्की, स्याङजा लगाएत ठाउँमा अवलोकन भ्रमण गरेर सोही हेरेको आधारले उर्जा थपिएपछि सुनकोशी गाउँपालिकाले ५ लाख बजेट दिएपछि संकलन केन्द्र बनाउन सकिएको आचार्यले बताए ।

जामुने कृषक समुहसंग सहकार्य गरेर स्थापना गरिएको उक्त संकलनकेन्द्र निर्माणको लागि खाद्य सुरक्षाबाट १५ लाख, ३ लाख पिङडाँडा सहकारीबाट खर्च गरिएको उनले जानकारी दिए । संकलन केन्द्र सञ्चालनका लागि सुनकोशी कृषि उपज संकलन तथा विक्री केन्द्र नामकरण गरेर दर्ता प्रक्रियामा पुगेको उनले गरे ।

त्यस्तै कम्युटर लगाएत संकलनकेनन्द्रको लागि आवश्यक सामाग्री लिवर्ड संस्थाले सहयोग गरेको उनले जानकारी दिए । यो संकलकेन्द्र सञ्चालन भएपछि केही समय घाटा व्यहोरो पनि केही बर्षमै संकलन तथा विक्री केन्द्र मुनाफामा जाने उनले दावी गरे । केही बर्षमा काठमाडौंमा समेत विक्री केन्द्र स्थापना गर्ने उनले ठोकुवा गरे । तरकारी बिचौलियको हातमा जानसक्ने प्रति सचेत हुनपर्न तर्क राख्दै उनले कालीमाटी तरकारी बजारको मूल्य र बाहिरको बिक्री मूल्य नमिलेको उनले दावी गरे । गाउँपालिकाले अझै अनुदान दिए यो संकलन तथा विक्री केन्द्रले किसानलाई तरकारी तथा फलफुलको उचित मूल्य टाँस गरेर समयमै भुक्तानी दिने आश्वासन दिए । किसानहरुलाई समेत ग्रेडिङ गरेर राम्रो तरकारी ल्याउन उनले आग्रह गरे ।

सचिव विवश दाहालले सञ्चालन गरेको उक्त कार्यक्रमको पिङडाँडा सहकारीका पूर्व उपाध्यक्ष प्रकाश विकले स्वागत मन्तव्य राखेका थिए । सुकुटे बजारको बीच भागमा क्याफेसंग निर्माण भएको संकलन तथा विक्री केन्द्र उदघाटन कार्यक्रम सोमबार बिहान ७ बजे राखिएको थियो । पहिलो दिनमै संकलन तथा विक्री केन्द्रमा किसानहरुले ल्याएको गोलभेंडा, काउली, साग लगाएत तरकारी तथा फलफूल भण्डारण गरिएको अभियान्ता आचार्यले जानकारी दिए ।





