आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाको १२औं बार्षिक साधारणसभा सम्पन्न

दिनेश दुलाल
कार्तिक १५, ठूलोसिरुवारी । चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुवारीमा रहेको आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

नर्सिङडाँडा स्थित सहकारीको आफ्नै सभाहलमा आज भएको १२ औं बार्षिक साधारणको वाग्मती प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता तथा चौतारा सागाँचोकगढी नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १३ का वडा अध्यक्ष रामप्रसाद गौतम विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

वार्षिक साधारणसभाको प्रदेश सांसद दुलालले उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै उनले आलोपालोले सहकारीको मूल्य मान्यता अनुसार आफ्ना गतिविधिहरु अगाडि बढाएकोले जनताको बीचमा छिट्टै लोकप्रियता पाएको बताए । सहकारीको लक्ष्य अझै टाढा भएकोले सहकारीले अझै उपलब्धीमुलक कामहरु गर्न बाँकी रहेको उनले बताए । जनतालाई धनी हुनकै लागि सहकारी स्थापना भएको खुलसा गर्दै उनले सेयर सदस्यहरुलाई सहकारीको एकदुई कित्ता सेयर मात्र नभई संयौ कित्ता सेयर लिएर मुनाफा कमाउन आग्रह गरे । साहुपनि आफैं ऋणि पनि आफैं हुने खालको परिपाटी सहकारीको अवधारणा ल्याएको भन्दै यसबाट सबै नागरिकलाई सेवा सुविधा मिलेको बताए ।

अर्को एकप्रसंगमा सांसद दुलालले देश बिग्रनुमा राजनीतिज्ञ र राजनीतिमा मात्र लागेकाहरु एउटै हो भनेर वास्तविकता छुट्याउन नसक्दा यो खालको समस्या आएको दावी गर्दै दुलालले असल मान्छेलाई निर्वाचनमा जिताएर पठाइएमा नीति निर्माण राम्रो हुने उनले् ठोकुवा गरे ।

कार्यक्रममा विशेष अतिथि वडाअध्य गौतमले नगरपालिका भरीकै राम्रा सहकारी मध्येको आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारीमा ढुक्कसंग बचत गर्न आग्रह गर्दै सहकारीले किसानलाई आत्मनिर्भर हुने खालको नगदेबाली लगाउनतिर जोड दिन आग्रह गरे । सहकारीको भवन बनाउन सांसद दुलालको कोषबाट बजेट छुट्याएको स्मरण सुनाउँदै वडाअध्यक्ष गौतमले साना किसान कृषि सहकारीको भवन बनाउन पूर्वमन्त्री दुलाल समक्ष आग्रह गरे । कार्यक्रममा सेतीदेवी माविका विव्यस अध्यक्ष कुलप्रसाद दाहाल, साना किसान कृषि सहकारीका अध्यक्ष होमनाथ चौलागाई लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

यसैबीच सहकारीको १२ औं वार्षिक साधारणसभाको उपलक्ष्यमा असल ऋणी, बचतकर्ताहरुलाई सम्पान तथा पुरस्किृत गरिएको थियो । सम्मानित हुने असल ऋणीहरुमा किसन बहादुर गिरी, रबिना तामाङ, रेशमबहादुर श्रेष्ठ र संगीता लामिछाने रहेका छन् ।

यस्तै उत्कृष्ट बचत कर्ताहरुमा सेतु पुरी, सोम बहादुर तामाङ, काली गिरी, अन्जु माया श्रेष्ठ, तेज कुमारी दुलाल, रिता श्रेष्ठ, अनिश सुवेदी, सुशिला गहतराज, मन्दिरा गिरी, गोमा ढुङ्गेल र मिना श्रेष्ठ रहेका छन् । यस्तै १३ नम्बर वडाबाट गतबर्ष एसइइमा उत्कृष्ट नम्बर ल्याउने छात्र तथा छात्राहरुलाई नगद सहित सम्मान गरिएको थियो । पुरस्किृत हुनेहरुमा सेतिदेवीबाट रिकेश बुढाथोकी ३.६० (जिपिए), अस्मिता चौलागाई ३.५१ (जिपिए), प्रशान्त पूरी ३.८२ जिपिए) र मिनिशा गौतम (३.३८ जिपिए) रहेका छन् ।

यस्तै कुण्डला देवीमा सर्वोउत्कृष्ट अंक ल्याउने शान्ति दुलाल (३.३४ जिपिए), प्रशान्त राना ३.१३ जिपिए) रहेका छन् । यस्तै सहकारी दुग्ध बिक्रि गर्ने कृषकलाई नरपालिका मार्फत प्राप्त अनुदान रकम वितरण तथा साँस्कृतिक टिमलाई मायाको चिनो प्रदान गरिएको सहकारीका माहाप्रबन्धक सन्तोष गिरीले जानकारी दिए । सहकारीको आ.व.०८१÷८२को प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना अध्यक्ष नारायण प्रसाद गौतमले गरेका थिए भने कोषाध्यक्ष हरिबहादुर नेपालले वार्षिक प्रतिवेदन २०८२ प्रस्तुत गरि सभामा पारित गरिएको थियो । यसबर्ष सेयर सदस्यहरुलाई १०% प्रतिशत लाभांश समेत पारित गरिएको सहकारीले जनाएको छ ।

वडाका जनप्रतिनिधि पूर्व जनप्रतिनिधि, शेयर सदस्य तथा समाजसेवी लगाएत कार्यक्रममा सहभागी रहेका थिए । स्थानीय २५ जना संस्थापक शेयर सदस्यहरुले प्रति व्यक्ति रु.२५,०००÷–का दरले जम्मा रु.६,२५,०००÷–कुल पूँजीले बि.स.२०७० साल पौष १९ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा आलोपालो वचत तथा ऋण सहकारी संस्था लि. विधिवत् रुपमा दर्ता भई सुरु भएको सहकारीले छोटै अवधिमै ६ करोडको पूँजी तथा कारोबार गर्ने हैसियतमा पुगेको छ ।

सहकारीले भावी कार्यक्रमहरुमा कृषि तथा पशुपालन कार्यकमलाई प्रोत्साहन गर्ने, जसका लागि वडा कार्यालय र नगरपालिका संग समन्वय गरि साझेदारीमा कार्यकम सँचालन गर्न पहल गरि स्थानीय स्तरमा उत्पादित कृषिजन्य उत्पादन र पशुजन्य उत्पादनमा वडा लाई आत्मनिर्भर बनाउने नीति लिएको छ । त्यस्तै कृषक सदस्यको माग अनुसारको रासायनिक मल, कृषि यन्त्रीकरण, उपकरण, बिउ बिजन ,किटनाशक औषधि सहकारी मार्फत नै उपलब्ध गराउने कार्यकमलाई निरन्तरता दिदै जाने जसका लागि कृषि सामग्री केन्द्र लि ,चौतारा साँगाचोकगढी नगरपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, ज्ञान केन्द्र र वडा कार्यलय संग निरन्तर समन्वय गर्ने योजना बनाएको छ ।

स्मरण रहोस उक्त सहकारी सिन्धुज्वालाले सिन्धुपाल्चोकका सयौं सहकारी सर्वेक्षण छनौटमा १८ उत्कृष्ट सहकारीमा छनौट भएको थियो ।