उज्यालो नेपालका अभियान्ता घिसिङले पाए महत्वपूर्ण तीन मन्त्रालयको जिम्मेवारी

दिनेश दुलाल
भदौ ३०, काठमाडौं । तत्कालिन नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ एकदिन चेपाङ बस्तीमा पहिलोपटक बिजुली बाल्दै थिए । त्यतिबेलै उनको पद चैट भयो । तत्कालीन प्रधानमन्त्री कपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको सिफारिसमा उनलाई बर्खास्त गरेका थिए ।

घिसिङलाई तत्कालीन सरकारले आफ्नो पूरा कार्यकालसम्म पनि काम गर्न दिइएको थिएन । उनको गत साउन २४ मा कार्यकाल सकिँदै थियो । जलविद्युत् आयोजनाका प्रवद्र्धकसमेत रहेका ऊर्जामन्त्री खड्का र घिसिङबीच बढ्दो विवादबीच २०८१ चैत ११ मा घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाइएको थियो । पदमुक्त भएसंगै उनी त्यतिकै बसेनन् । देशविदेशमा रहेका उनलाई मायाँ गर्ने नेपाली नागरिकहरुलाई भेटघाट अभियान चलाए । नेपालमा नयाँ राजनीतिको गरेर मुलकको नेतृत्व गर्न पर्छ भन्ने उनले सबैबाट सल्लाह पाए ।

ग्लोबल अवार्डबाट पुरस्कृत भएका घिसिङले २०८४ को प्रतिनिधिसभाका चुनावका लागि नयाँ राजनैतिक दल स्थापना गर्ने योजनामा थिए । उनै घिसिङले आज एक्कासि तीन वटा मन्त्रालयको जिम्मेवारी लिनुपर्ने अवस्थामा पुगेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उनलाई सफलताको यो अवस्थामा पु¥याउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । घिसिङको कार्यकाल सकिएको एक वर्ष नबित्दै प्रचण्ड नेतृत्वको सरकारले हितेन्द्रदेव शाक्यलाई मन्त्रालयमा तानेर २०७८ साउन २५ मा उनलाई दोस्रो पटक प्राधिकरणको जिम्मेवारी दिइएको थियो ।

घिसिङ नियुक्त हुनु अघिसम्म देशभर दैनिक १८ घण्टासम्म बत्ती जान्थ्यो । त्यतिबेला प्राधिकरण अर्बौंको घाटामा थियो। घिसिङ नियुक्त भएसँगै ०७३ को दसैंतिहारमा उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेका थिए । त्यसकारण पनि आमजनताले घिसिङलाई लोडसेडिङमुक्त बनाएको श्रेय दिँदै आएका छन् ।

रामेछापस्थित बेथानमा जन्मिएका घिसिङले २०५१ सालमा प्राधिकरणको सातौं तहका इन्जिनियरका रूपमा सेवा सुरु गरेका थिए । २०६७ साउनदेखि २०७१ असारसम्म उनले चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध सञ्चालक भएर रसुवागढी, मध्यभोटेकोशी, सान्जेन र माथिल्लो सान्जेन परियोजना अघि बढाउन विशेष भूमिका खेलेका थिए ।

तर तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीको हस्तक्षेप गरेपछि २०७१ साउनमा घिसिङलाई प्राधिकरणमै बोलाइएको थियो । २०७१ असोजमा उनी निर्देशक (११औं तह) मा बढुवा भएका थिए । त्यतिबेला घिसिङ राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारी सम्हाल्दै प्राधिकरणभित्र सक्रिय रहँदै आएका थिए ।

घिसिङले भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका छन् । पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङ र पोखरा विश्वविद्यालयबाट कार्यकारी व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् ।

उर्जा लगाएत तीन मन्त्रालयको जिम्मेवारी पाएका नेपाली जनताका प्रिय पात्र घिसिङको कार्यकाल छोटो तथा निकै चुनौतिपूर्ण भएपनि उनले सफलता पाएरै छाड्ने जनताले अपेक्षा गरेका छन् । उनी संगै पूर्व सचिव रामेश्वर खनाल अर्थमन्त्री र ओमप्रकाश अर्याल गृहमन्त्री भएका छन् ।