मध्य भोटेकोसी जलविद्युतको १०२ मेगावाट एकसाता भित्रै ग्रिडमा जडान गरिदैं

दिनेश दुलाल
भदौ २१ (२०८२), बाह्रबिसे । सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत आयोजना मध्य भोटेकोसी १०२ मेगावाट एकसाता भित्रै ग्रिडमा जडान गरिने भएको छ ।

गत साता देखि तीनवटै आंशिक क्षमतामा सञ्चालन गरि राष्ट्रिय ग्रिडसंग टेष्ट सिंक्रोनाइजेसन सम्पन्न भएको आयोजनाले जनाएको छ ।

मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटीका अनुसार तीनमध्ये एक युनिट गत सोमबार मात्र ग्रिडमा पठाइएको हो भने बाँकी युनिटहरूको परीक्षण र क्रमिक सिंक्रोनाइजेसन अबको एकसाताभित्र सम्पन्न गरिनेछ ।

पहिलो युनिटबाट उत्पादित १७ मेगावाट राष्ट्रिय ग्रिडमा सफलतापूर्वक पठाईएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार शनिबार बेलुकासम्म २५ मेगावाट टेष्ट सिंक्रोनाइजेसन गरिने भएकाे छ । आइतबार देखि पहिलाे युनिटबाट ३४, दाेस्राे युनिटबाट ३४ र त्यस्राे युनिटबाट ३४ मेगावाट गरेर तीन चरणमा जडान गरेंसंगै १०२ मेगावाट औपचारिक रुपमै नियमित उत्पादन गरेर पठाईने प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले बताए ।

उनका अनुसार परीक्षणहरू सफलतापूर्वक पूरा भएपछि कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई पन्ध्र दिनसम्म निशुुल्क परीक्षणकै रूपमा बिजुली आपूर्ति गर्नेछ । त्यसपछि मात्र व्यावसायिक उत्पादन सुरु गर्ने उनले बताए ।

आयोजनाका अनुसार परीक्षण भइरहेको उत्पादित युनिटको नेपाल विद्युत प्राधिकरणबाट खटाइएका विशेषज्ञबाट शुक्रबार देखि परीक्षण गर्ने कार्य भरहेकाे छ ।

वार्षिक ५४२ गिगावट आवर युनिट विद्युत उत्पादन गर्ने अनुमान गरिएको यस आयोजना २०६७ चैत्र २५ गते सुरुवात भएको थियो । भूकम्प, बाढीपहिरो, प्राविधिक समस्या र ट्रान्समिसन लाइनमा स्थानीय अवरोधले परियोजनाको प्रगति ढिलाइ हुँदा झण्डै १५ बर्ष पछि उत्पादन दिने अवस्थामा पुगेको हो ।