करेन्ट सर्ट भई बाख्रा फाममा आगलागी हुँदा ५० बाख्रा मरे
भदौ ११, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका १, गुन्सा भन्ने स्थानमा एक बाख्रा फाममा करेन्ट सर्ट भएर आगोलागि हुँदा ५० बाख्रा जलेर मरेका छन् ।
आज बिहान करिब अन्दाजी ८ः२० बजेको समयमा गुन्सामा विमला श्रेष्ठको नाममा दर्ता रहेको विदान विधि कृषि पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ८५ वटा बाख्रामध्ये ५० जलेर मरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार फाममा २९ वटा बाख्रा सकुशल, ६ वटा घाइते रहेका छन् ।
आगो निभाउने क्रममा सोहि स्थान बस्ने ४४ वर्षीय चुडामणी श्रेष्ठको टाउको र हातमा चोट लागी घाइते भएका कारण चौतारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फाममा आगोलागी भएको जानकारी प्राप्त हुनासाथ कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ पुगेको थियो । एक घण्टाकै बीचमा प्रहरी र स्थानीयको सहयोगमा आगलागि पूर्ण रूपमा नियन्त्रणमा आईसकेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ वडाअध्य युबलाल श्रेष्ठले बताए । फाममा कति मूल्य बराबरको क्षति भयो भन्ने रिपोर्ट भने प्राप्त हुन सकेको छैन् ।

