गुण्डागर्दीका विरुद्व पर्यटन व्यवसायीहरु एकजुट, जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी
दिनेश दुलाल
भदौ ८, चौतारा । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटे करिडोर अन्र्तगत रहेका होटल तथा रिसोर्टहरुमा हुने गुण्डागर्दीका विरुद्व पर्यटन व्यवासायीहरु एकजुट भएका छन् ।

होटल तथा रिसोर्ट व्यवसायीहरुको छाता संगठन सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले आज जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा व्यवसाय सुरक्षाको प्रत्याभूति माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

डेडदर्जन भन्दा बढी होटल तथा रिसोर्ट रहेको सो क्षेत्रमा अधिकांश रिसोर्टहरुमा केही अराजक व्यक्तिहरु आई रिसोर्टमा क्षति पु¥याउनुको साथै व्यवसायीहरु माथि नै भौतिक हमला गरेको भन्दै उनीहरुले जिल्ला प्रशासन, प्रहरी, स्थानीय तह तथा पत्रकारको एकैचोटी ध्यानकर्षण गराएका छन् ।

संघका अध्यक्ष तथा सुकुटे बीच रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाको रिसोर्टमा भदौ ६ गते राति भएको आक्रमण पछि उनिहरुले सुरक्षाको माग गर्दै आईतबार ध्यानाकर्षण पत्र बुझाएका हुन् । संघका सचिव कृष्ण सापकोटाका अनुसार भदौ ६ गते राति करिब १० बजेर ४५ मिनेटको समयमा रिसोर्टको गेट फोरेर प्रवेश गरेका गुण्डाहरुको समूहले रिसोर्टमा कार्यरत ३८ वर्षीय सुरेन्द्र केसीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते केसीलाई तत्काल खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल हुँदै थप उपचारका लागि काठमाडौं पु¥याइएको संघले जानकारी दिएको छ ।


सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अनुसार सुकुटे करिडोर क्षेत्रमा पर्यटन प्रवद्र्धनका उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएका व्यवसायीहरु हाल असुरक्षित महसुस गर्न थालेका छन् । होटल र रिसोर्टको आम्दानीले स्थानीय तथा केन्द्रीय सरकारलाई लाखौँ रुपैयाँ कर बुझाउँदै आएको भए पनि हाल व्यवसाय गर्न सहज वातावरण नरहेको उनीहरुको गुनासो छ ।
सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले होटल तथा रिसोर्टमा सुरक्षा व्यवस्था कडा पार्न र यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा भन्दा कडा सजाय दिन माग गरेको छ । एक महिनाको अवधिमा सुकुटेका विभिन्न रिसोर्टहरुमा ४ पटक सम्म गुन्डागर्दि र आक्रमणका घटना भएको व्यवसायिको भनाई छ । सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका सचिव कृष्ण सापकोटाका अनुसार करिडोर क्षेत्रमा पर्यटन प्रवद्र्धनका उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएका व्यवसायीहरु हाल असुरक्षित महसुस गर्न थालेका छन् । होटल र रिसोर्टको आम्दानीले स्थानीय तथा केन्द्रीय सरकारलाई लाखौँ रुपैयाँ कर बुझाउँदै आएको भए पनि हाल व्यवसाय गर्न सहज वातावरण नरहेको उनको भनाई छ ।
संघका सचिव कृष्ण सापकोटाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा घटनाको तीव्र भत्र्सना गर्दै दोषीहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराइएको छ । ‘यस्ता घटनाले आन्तरिक र बाह्य पर्यटक दुवैको मनोबल गिराउने मात्र होइन, जिल्लाको पर्यटन छविलाई समेत धुमिल बनाइरहेको छ’ सचिव सापकोटाले भने । यदि समयमै कठोर कदम चालिएन भने समग्र पर्यटन उद्योग नै संकटमा पर्न सक्ने संघका उपाध्यक्ष तथा सुनकोशी बीच क्याम्पका सञ्चालक अन्जान खड्काको दावी छ ।
एक व्यवसायीको समस्यामा सबै व्यवसायीहरुको साझा समस्या भएको हुनाले व्यवसायी संघकै तर्फबाट सम्बन्धित निकायको ध्यानकर्षण गराइएको संघका कोषाध्यक्ष तथा सेण्डी बिच रिसोर्टका सञ्चालक राजन श्रेष्ठको भनाई छ ।
यसैबिच सुकुटे बिच रिसोर्टका संचालक तथा व्यवसायी संघका अध्यक्ष थापाले जिल्ला प्रहरी कार्यालयमा आईतबार नै किटानी जाहेरी दिएका छन् । आक्रमणमा संलग्न हुनेहरुमा वलेफी गाउँपालिका–५ का लिला गिरी, कमल श्रेष्ठ, गणेश श्रेष्ठ, देव केसी, रञ्जित श्रेष्ठ, श्रृजन कार्की र ठेगना नखुलेको सुनिल तामाङ रहेको जाहेरीमा उल्लेख छ ।
संघले पेश गरेको ज्ञापनपत्र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले बुझेका थिए । डिएसपी खरेलले गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई कानुनको दायरामा ल्याई कारवाही गरिने बचन दिएको संघका अध्यक्ष थापाको भनाई छ । उनका अनुसार संघले चौतारा साँगाचोकगढी नगरपालिका तथा नेपाल पत्रकार महासंघ सिन्धु शाखालाई समेत उक्त घटनाको ज्ञापनपत्र बुझाएको थियो ।

