कोदारीस्थित इको पहिरो समस्या समाधानका लागि सांसद सापकोटाद्वारा पहल
साउन २८, काठमाडौं । अरनिको लोकमार्ग अन्र्तगत कोदारी सडक खण्ड स्थित इको पहिरोको दृघकालिन समाधानका लागि सिन्धुपाल्चोक १ नम्बर क्षेत्रका सांसद माधव सापकोटाले पहल थालेका छन् ।

भोटेकोशी गाउँपालिका–२ अन्तर्गत कोदारी स्थित इको क्षेत्रमा लगातार पहिरो र सडक भासिने समस्याका कारण विगत १० दिनदेखि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
उक्त विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्ट र भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मासंग गम्भीर छलफल भएको सांसद सापकोटाले सामाजिक सञ्जाल फेसबुक पेजमा उल्लेख गरेका छन् । बुधबार संघीय सांसद सापकोटा सहित वाग्मती प्रदेश सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, नेता टिएन सापकोटा, भोटेकोशी गाउँपालिका पार्टीका स्थानीय नेताहरू समेत पुगेका थिए ।

हरेक वर्ष दोहोरिँदै आएको यस समस्याबारे स्थानीय पीडित तथा प्रभावित समुदायसँगको विचार–विमर्शमा, इको क्षेत्रको समस्यालाई राष्ट्रिय प्राथमिकतामा राख्न जोडदार आग्रह गरिएको छलफलमा सहभागी नेता टिएन सापकोटाले बताए ।
रसुवागढी नाका समेत बन्द रहेको अवस्थामा तातोपानी नाकालाई निरन्तर सुचारु राख्ने आवश्यकतामा छलफलमा एकमत भएको उनले बताए । उनका अनुसार प्राधिकरणले सम्वद्ध निकायहरूसँग समन्वय गर्ने र प्रभावित स्थानीयको आग्रह तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा प्राधिकरणको राष्ट्रिय परिषदमा उक्त विषय निर्णय गर्ने सहमति भएको छ ।
छलफलका क्रममा निर्णय भएअनुसार सडक विभागका अधिकारी तथा भौगर्भिक अध्ययन टोली बुधबार नै इको क्षेत्रमा पुगेका थिए । उक्त टोलीले चिनियाँ सरकार संग समेत प्रविधी सहयोग लगाएत सन्दर्भमा आवश्यक पहल समेत गरिने जनाइएको छ ।
बुधबार नै सांसद सापकोटाले सोही पहिरोको विषयलाई प्रतिनिधिसभाको आकस्मिक समयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

