पिङडाँडा सहकारीद्वारा ठोकर्पामा यसरी मनाइयो पहिलो कोदो दिवस (फोटो फिचर तथा भिडियो सहित)
साउन १६, ठोकर्पा । सिन्धुपाल्चोकको ठोकर्पामा पहिलोपटक राष्ट्रिय कोदो दिवस कोदो रोपेर मनाइएको छ । देशको चौथो मुख्यबाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाउँदै आएका थिए ।

मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व नदिंदा यो बाली संकटमा पर्दै आएको थियो तर पछिल्लो पटक सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाएर साना किसानको आयआर्जन बढाउने उद्देश्यले यस वर्षदेखि १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाउन थालिएपछि कोदोको महत्व बढ्न थालेको छ ।
video
सिन्धुपाल्चोकका विभिन्न ठाउँहरुमा समेत यो दिवसलाई भव्यताका साथ मनाईएको छ । ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार’ भन्ने नाराका साथ सिन्धुपाल्चोक ठोकर्पामा रहेको पिङडाँडा साना किसान कृषि सहकारी संस्थाको आयोजनामा ठोकर्पामा कोदो रोपेर यो दिवस मनाएको हो । त्याहाँका संयौ स्थानीय जम्मा भएर कोदो रोपेर दिवस मनाईएको पिङडाँडा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रामशरण आचार्य (हिम) ले जानकारी दिए । उनका अनुसार सोही दिवसको दिनमा कोदो रोपाई कार्यक्रममा सहभागीलाई कोदोबाट बन्ने विभिन्न परिकारहरु बनाएर खुवाईएको थियो ।

कुनै समय गरिबको खाना भनेर होच्च्याइएको कोदो र यसबाट बन्ने परिकारको माग हाल सहर बजारमा बढेकोले पिङडाँडा साना किसान कृषि सहकारीले कोदो लगाउने अभियानको रुपमा चलाएको बताए ।
कम खर्चमा यसको खेती गर्न सकिने भएकोले कोदोलाई रैथाने बालीको रुपमा संरक्षण गरिने समेत उनको भनाई छ ।
स्मरण रहोस पिङडाँडा साना किसान कृषि सहकारी रैथानेबाली संरक्षणका हिसाबले सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा स्थापित रहेको छ ।

तराई देखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा कम मलिलो तथा सुक्खा जग्गामा कोदो खेती गर्न सकिने छ । कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाइन्छ । कोदोका परिकार पोषणयुक्त हुन्छन् । खाद्य सुरक्षाका दृष्टिले कोदोलाई ज्यादै महत्वपूर्ण बालीका रुपमा लिइन्छ । सिन्धुपाल्चोकमा १० वर्षको तुलनामा कोदोखेती गर्ने किसानको सङ्ख्या घटेको छ ।

कृषिविकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीका अनुसार २०८०÷०८१ तथ्याङक अनुसार सिन्धुपाल्चोकमा १७ हजार ३ सय ७५ हेक्टरमा कोदोखेती हुँदै आएको छ । जसमध्ये उत्पादन २२ हजार ९ सय ३५ मेट्रिकटन भएको उनले बताए । सिन्धुपाल्चोकका १२ स्थानीय तहमै कोदो उत्पादन हुने गर्दछ । ‘कोदो ढिलो पाक्ने र लगाउन, थन्काउन झन्झटिलो भएका कारण यसतर्फ किसानको ध्यानाकर्षण गराउन नसकिएका होे’, दवाडीले भने ।

पर्याप्त आम्दानी नहुने भएकाले किसानहरु वैकल्पिक खेतीमा लागेको चौतारा साँगाचोकगढी नगरपालिका–१३ का रामप्रसाद चौलागाँई बताउँछन् । ‘आम्दानी राम्रो नहुने तथा खेती गर्न झन्झटिलो भएकाले गाउँघरमा व्यवसायिकरुपमा कोदोखेती गर्ने चलन हरायो’, उनले भने । स्थानीय बजारमा कोदो प्रतिपाथी रु १५० देखि १६० सम्ममा विक्री हुने गरेको छ ।

गामीण भेगमा एक दशक अघिसम्म कोदोखेती हुने गरेकामा हाल ती क्षेत्रका बारीमा किसानले गोलभेंडा खेती गरिरहेका छन् । तर गोलभेंडामा समेत भने जति आम्दानी नभएपछि किसानहरु दोधारमै रहेको किसान बासुदेव दुलाल बताउँछन् । वडा नम्बर १४ मा किसानहरुले बिगत दुई दशक देखि कोदोको सट्टा नगदेबाली गोलभेंडा लगाएर मनग्य आम्दानी गरिरहेका छन् ।

कोदोखेती बढी उत्पादन हुने चौतारा साँगाचोकगढी नगरपालिका अन्र्तगत साँगाचोक, ठूलोसिरुवारी, सानोसिरुवारी, ईर्खु, चौतारा, स्याउले र देउराली रहेका छन् । त्यस्तै इन्द्रावती गाउँपालिका अन्र्तगत भोटसिपा, कुनचोक, नवलपुर आसपास रहेका छन् । यसैगरी सुनकोशी गाउँपालिकाको ठोकर्पा, कालिका, सुनखानी लगाएतमा कोदो खेती गरिन्छ । त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाका सबै स्थानमा कोदो खेती गरिन्छ । यस्तै जुगल, बलेफी, भोटेकोशीका केही स्थान, लिसंखुपाखर गाउँपालिकाका केही स्थान समेत यो बाली लगाईन्छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकामा भने कोदो अर्गानिक उत्पादन गरेर अमेरिका समेत निर्यात गरिएकोले यो ठाउँमा कोदो उत्पादनको महत्व बढेको छ । यस्तै बाह्रबिसे नगरपालिका केही स्थान र मेलम्ची नगरपालिकाका अधिकांश ठाउँमा कोदो खेती रहेको छ । हेलम्बु गाउँपालिकाको भने केही स्थानमा मात्रै कोदो खेति गरिन्छ । युवापुस्ता विदेशिने र सहर पस्ने क्रमसँगै कोदोखेती हुन छाडेको हो । यद्यपि जिल्लाका अधिकांश पालिकाका वभिन्न ठाउँहरुमा कोदोखेती हुने गरेको छ ।

