चिनियाँ सहयोगमा अरनिको राजमार्ग स्थित कोदारीमा सुरुङ मार्ग बन्ने

साउन ८, काठमाडौँ । छिमेकी मुलुक चीनसंग जोडिएको उत्तरी नाका तातोपानी नाका पुग्ने सडक कोदारीमा चिनियाँ सहयोगमा सुरुङ बनाउन प्रस्ताव गरिएको छ ।
अरनिको राजमार्ग अन्र्तगत कोदारीमा बर्षेनी सडक भास्सिने र पहिरो जानेभएपछि वैकल्पिक सडडको रुपमा सुरुङ मार्ग निर्माण गर्ने तयारी भएको हो ।

चीन सरकारको सहयोगको अरनिको राजमार्गमा पर्ने कोदारी भन्ने स्थानमा करिब ६०० मिटर सुरुङ मार्ग निर्माण गर्न लागिएको हो । सडक विभागले पहिरो गइरहने उक्त स्थानमा सुरुङ मार्ग निर्माण गर्न प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक भएपनि आधिकारिक रुपमा कुनै जवाफ नआएको सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख आकाश श्रेष्ठले जाकारी दिए । उनका अनुसार सडक विभागले उक्त स्थानमा दीर्घकालीन रूपमा सुरुङ मार्ग आवश्यक रहेको औंल्याउँदै चिनियाँ पक्षसंग प्रस्ताव लगिएको हो । विभागका अनुसार कोदारीमा करिब ६०० मिटर सुरुङ मार्ग आवश्यक देखिएको छ । ‘चिनियाँहरू सकारात्मक छन् । यो विषय छलफल पनि भएको छ, तर चिनियाबाट कुनै जानकारी आएको छैन् यसबारेमा विभागसंगै बुझ्नुहोला’, डिभिजन प्रमुख श्रेष्ठले भने । तर यस विषयमा थप बुझ्न खोज्दा विभाग उपनिर्देशकसंग सम्पर्क हुन सकेन । तत्काल बाटो चलाइरहने र दीर्घकालमा सुरुङ मार्ग बनाउने गरी विभागले योजना बनाएको बुझिएको छ ।

सडक विभागका अनुसार बारम्बारको पहिरो, अवरुद्ध सडक र जोखिमपूर्ण यात्रा अनुभव गरिरहेका व्यवसायी र स्थानीयको समस्यालाई दीर्घकालीन समाधान दिने उद्देश्यले सुरुङ मार्ग निर्माण प्रस्ताव गरिएको हो ।

दुई देशबिच समझदारी भएपछि यो सुरुङ मार्ग सम्भाव्यता र विस्तृत अध्ययन हुनेछ ।

चीनसँग जोडिएको ठुलो र पहिलो नाका सिन्धुपाल्चोकको तातोपानी हो । यो चीनसँग जोडिएको प्राचीन र महत्त्वपूर्ण नाका पनि हो । तर २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्प र बाढी पहिरोले गर्दा यो नाका अझै बौरिन सकेको छैन । चीनसंग जोडिएको रसुवागढी नाका बाढीले बगाउँदा चीनसंगको सडकमार्गको सम्बन्ध नै टुटेको छ । चिनियाँ सहयोगको तातोपानी नाका नजिकै लार्चामा सुक्खा बन्दरगाह समेत निर्माण भएको छ ।

सरकारको उदासीनताका कारण तातोपानी नाका पुग्ने सडक अझै बन्न सकेको छैन । बल्ल निर्माणको ठेक्का निकालेर काम सुरु भएको छ ।

चिनियाँहरूले आफ्नो भूमितर्फ सहर नै विकास गर्न लागिसके पनि नेपालतिर भने भएका संरचनाहरू समेत खण्डहर अवस्थामा छन् ।

नाकासम्म जोड्ने लाइफलाइन अरनिको राजमार्ग ठाउँ ठाउँमा भत्किएको छ । चिरा परेको छ । जोखिमपूर्ण अवस्थामा छ । राजमार्ग जोखिमपूर्ण रहेकै कारण यो राजमार्ग हुँदै तातोपानीसम्म पुग्ने बस सञ्चालनमा रोक लगाएको छ । यो राजमार्ग भएर अहिले सामान आयातका लागि कन्टेनरहरू मात्रै चल्छन् । नाकाबाट लर्को लागेर चिनियाँ सामान बोकेका कन्टेनरहरू आइरहेका छन् ।

सीमामा नेपालतर्फ अध्यागमन र सुरक्षा निकायका संरचनाबाहेक केही पसलहरू मात्रै छन् । भूकम्प अघिसम्म यो नाका वरिपरिका होटलहरु भरि भराउ हुन्थे । चिनियाँ खासा बजारसम्म सामान किन्न जान पाइने भएकाले ठुलो संख्यामा मानिसहरू पुग्थे । तर अहिले प्राय सुनसान छ ।
तर अहिले भूकम्प र बाढी पहिरोका कारण यहाँका अधिकांश घरहरू भग्नावशेष अवस्थामा छन् । भिरालो स्थानमा बजार विकास गरिएका कारण भूकम्प र बाढीपछि धेरै मानिसहरूले यो ठाउँ छाडेका छन् ।