बाह्रबिसे नगरपालिकाद्वारा एसइईमा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान


दिनेश दुलाल
२२ असार, आईतबार २०८२
बाह्रबिसे । जिल्लाको बाह्रबिसे नगरपालिकाद्वारा एसइईमा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

शैक्षिक सत्र २०८१ को एसइई परीक्षामा ग्रेडेड विद्यार्थीहरूको लागि आईतबार बाह्रबिसे स्थित कभर्डहलमा शुभकामना आदानप्रदान गरेको हो ।

उक्त कार्यक्रमको अध्यक्षता गरेका नगर प्रमुख बालकृष्ण बस्नेतले नगरभरीबाट एसइई परीक्षामा उत्तीर्ण सहभागी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिंदै आगमी शिक्षाको यात्रामा अझै धेरै सिडिहरू चढ्न पर्ने उल्लेख गरे । कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूलाई निराश नहुन आग्रह गर्दै निकै उत्साहका साथ आगमी पढाइ यात्राको शुभकामना दिए ।

जनप्रतिनिधिहरू दिनरात खटेको बताउँदै बाह्रबिसे नगरपालिकाले शिक्षा क्षेत्रको विकासको लागि पारदर्शि ढंगले अगाडि बढाउने प्रतिवद्घ जनाए । बाह्रबिसे नगरपालिकाले १२ कक्षासम्म निशुल्क शिक्षा गरिसकिएको उल्लेख गर्दै आगमी दिनमा निरन्तर सहयोग गर्ने वचन दिए । ‘असफलता नै सफलताको द्योतक’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै प्रत्येक विद्यालयहरुले आ–आफ्नो ठाउँमा समीक्षा समेत गर्न आवश्यक रहेको औल्याए ।

मेयर बस्नेतले नगरपालिका भरीका विद्यालयको भौतिक तथा शैक्षिक अवस्थालाई अब नयाँ ढंगबाट कसरी लैजाने भन्ने सबालमा बृहत् ढंगले अभिभावक, विद्यार्थी र शिक्षक तथा जनप्रतिनिधि बीच बृहत छलफल गरिने बताए ।

आफु बाह्रबिसे नगरपालिकाको सरकार प्रमुख भएको हैसियतले कुनै पार्टीको मात्रै पक्षपोषण नगरेको खुलासा गरे । शिक्षकहरूको मनोबल गिराउने गरि केही राजनैतिक दलहरूहरूले बाह्रबिसे नगरपालिकालाई हिलो छ्याप्ने काम गरेको बताउँदै मेयर बस्नेतले शिक्षामा राजनीति नगर्न जिल्लाका राजनैतिक नेतृत्वलाई चेतावनी समेत दिए । उनका अनुसार बाह्रबिसे नगरपालिकाले शिक्षा क्षेत्रमा ५ करोड छुट्टयाएको छ ।

बधाई तथा शुभकामना कार्यक्रमलाई नगर उपप्रमुख मन्जु तामाङले शुभकामना मन्तव्य राखेकी थिईन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, विभिन्न वडाका वडाअध्यक्षहरु सहभागी भएका थिए ।

कार्यक्रमको सञ्चालन गरेका शिक्षा शाखा प्रमुख सुदिप पराजुलीका अनुसार यसपटक बाह्रबिसे नगरपालिकाभरी ३३२ विद्यार्थीले एसइई दिएकोमा २०७ विद्यार्थी उत्तीर्ण भएका थिए । जसमा सामुदायिक तर्फ ५५.३५ प्रतिशत, निजीमा १०० प्रतिशत र टोटलमा ६२.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नगरभरी ९ वटा माध्यामिक तहका सामुदायिक तथा तीनवटा निजी विद्यालयबाट विद्यार्थीहरुले एसइईमा सहभागी जनाएका थिए । जसमा सामुदायिक विद्यालयबाट कालीदेवी मावि गातीबाट सतप्रतिशत उत्तीर्ण भएपनि बच्छलादेवी मावि घुम्थाङ शुन्य भएको छ ।