बस दुर्घटनामा परेका सबै विरामी खतरामुक्त, विभिन्न अस्पमतालमा उपचार हुँदै

असार १४, (२०८२, मेलम्ची । आज दिउँसो करिब १३ः०० बजे मेलम्ची नगरपालिका–११ स्थित मेलम्ची–भोताङ सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन् ।

भोताङबाट मेलम्चीतर्फ आउँदै गरेको ना.प्र. ३०–००५ ख ९९७६ नम्बरको यात्रुबाहक बसको अगाडिको पत्ता भाँचिएपछि सवारी साधन अनियन्त्रित भई सडकबाट झन्डै ५० मिटर तल इन्द्रावती खोलाको बगरमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी मेलम्ची नगर अस्पतालमा उपचारका लागि लगिएपनि पछि टिचिङ र बि एण्ड बि अस्पतालमा पु¥याईएको छ । घाइते सबै घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्राप्त विवरण अनुसार मण्डनदेउपुर–६, काभ्रेका चालक २७ बर्षीय महेश्वर ढकाल सामन्य उपचार पछि घर फर्किएका छन् । पाँचपोखरी थाङपाल–५ की ६० बर्षीय तारा देवी श्रेष्ठ र पाँचपोखरी थाङपाल–६ का १९ बर्षीय पेमा लामालाई बि एण्ड बि मा उपचार भईरहेको छ ।

त्यस्तै पाँचपोखरी थाङपाल–६ का १९ बर्षीय अनिल भण्डारी, हेलम्बु–२ की १७ बर्षीय सुस्मिता ज्योती, पाँचपोखरी थाङपाल–६ की ३० बर्षीय लोर्की तामाङ, थाङपालधाप, पाँचपोखरी थाङपाल–६ का ३२ बर्षीय रामचन्द्र पौडेल र तामाकोसी–८, दोलखा का सहचालक २४ बर्षीय राज खड्कालाई टिचिङमा उपचार भईरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी टोली खटिएर घाइतेहरुको उद्वार गरिएको थियो ।