
इन्द्रावती गाउँपालिकाद्वारा ९९ करोड ४४ लाखको बजेट प्रस्तुत, कृषि र पशुलाई प्राथमिकता

magazine (1)
दिनेश दुलाल
असार १० (२०८२), नवलपुर । जिल्लाको इन्द्रावती गाउँपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को लागि ९९ करोड ४४ लाखको बजेट प्रस्तुत गरेको छ ।
अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्वि हाँसिल गर्ने लक्ष्य सहित पूर्वाधार विकास, सामाजिक विकास र आर्थिक विकासमा कृषि तथा पशुपालनलाई आधुनिकीकरण तथा व्यवसायिककरण गर्नेगरी प्राथमिकता राखेर गाउँपालिकाले मंगलबार बजेट प्रस्तुत गरेको हो ।
इन्द्रावती गाउँपालिका गाउँसभाको आठौं अधिवेशनले आर्थिक बर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सहितको बजेट मार्फत जनपक्षीय योजनाहरु ल्याईएको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले बताए । गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई विशेष प्राथमिकता दिएर जनताको आर्थिक जीवनस्तर उकास्ने गरी एक गाउँ एक संकलन केन्द्र स्थापना गरिने समेत उनले सुनाए । तर प्रदेश र संघीय समानीकरण बजेट कटौति भएको प्रति आपत्ती जनाउँदै अध्यक्ष नेपालले भने, ‘कसैको कृपाले संघीय समानकिरण बजेट प्राप्त भएको होईन ।’ संघीय र प्रदेश सरकार स्थानीय सरकारप्रति अनुदार भएपनि आफूहरु जनताका आधारभूत आवश्यकताहरुप्रति संवेदनशिल रहेको बताए ।
गाउँपालिकाका योजनाहरुमा निर्माण व्यवसायीले कामदारलाई भुक्तानी निदिए गाउँपालिकाले सहजकिरण गरिदिएर भुक्तानी दिने व्यवस्था मिलाउने उनको कथन छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार सहितको विनियोजन विधेयक २०८२ उपाध्यक्ष शोभाना तामाङले पेश गरेकी हुन् । पालिकाले आन्तरिक आय (दहत्तरबहत्तर समेत) १३ करोड, अन्य आय ९ करोड २१ लाख ३४ हजार आम्दानी हुने अनुमान गरेको छ ।
गाउँपालिकाले नेपाल सरकार संघीयबाट प्राप्त बित्तीय समानीकरण अनुदान १३ करोड ७२ लाख, राजश्व बाँडफाँड ८ करोड ८७ लाख ६७ हजार, समपुरक अनुदान १२ करोड ९० लाख, विशेष अनुदान ६ करोड ९० लाख र सशर्त अनुदान २८ करोड ३७ लाख आम्दानी हुने अनुमान गरेको छ ।
त्यस्तै वाग्मति प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १ करोड ४६ लाख ९ हजार, सवारीकर वाँडफाँड ३ करोड १६ लाख ९० हजार, सशर्त अनुदान ३ करोड ५३ लाख, समपुरक अनुदान ९५ लाख, विशेष अनुदान ६५ लाख अनुमान गरेको छ । त्यस्तै स्थानीय सरकारले सामाजिक सुरक्षा बापत १५ करोड समेत गरेर ९९ करोड ४४ लाख ३० हजार अनुमानित आय पेश गरेको हो ।
१२ वटा वडा रहेको सो पालिकाले प्रति वडा योजना÷कार्यक्रमको लागि ७४ लाख छुट्टाएको छ । पालिकाले चालु खर्चको लागि १४ करोड, पालिका स्तरीय पूर्वाधार योजनाको लागि ९ करोड र विषयगत शाखाका योजनामा ८ करोड छुट्टाएको छ ।
गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले आ.व २०८२÷०८३ सालको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ‘सुखि र खुशी इन्द्रावतीबासी–सम्वृद्विका लागि विकासमा लिन्छौं तीब्र गति’ नारा दिएर पालिकालाई आर्थिक, सामाजिक र मानवीय संशाधनको विकास गर्ने नीति कार्यक्रममा उल्लेख छ ।
आठौं अधिवेशनको सन्दर्भमा सामाजिक विकास संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष रविन्द्र खातीले अर्थ सम्बन्धित प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अर्थ विधेयक, वडा नम्बर ४ का वडा अध्यक्ष तथा आर्थिक विकास संयोजक क्षेत्रबहादुर तामाङले राजश्व परामर्श समितिको प्रतिवेदन पेश गरेका थिए ।
सभामा आर्थिक बिधेयक, नीति तथा कार्यक्रम र न्यायीक समितिको प्रतिवेदन पास भएपनि अन्य दुईवटा प्रस्तावहरु पास नभएको वडा नम्बर ७ का वडाअध्यक्ष खातीले बताए ।
सामाजिक विकास समितिका संयोजक समेत रहेका वडाअध्यक्ष खातीले पूर्वाधार विकासलाई मात्र विकास मन्न नहुने र शिक्षा, स्वास्थ्य निशुल्क गरिनु पर्नेमा आफूहरुले जोड दिएको बताए । स्थानीय सरकारको नेतृत्वलाई सहमती, सहकार्य र सह अस्तित्व सहितको समन्वय हुनु पर्नेमा आफुहरुले जोडदार माग राखेको उनले सुनाए ।