सिन्धुपाल्चोकका चार स्थानीय तहले गरे बजेट सार्वजनिक

असार ९ (२०८२), चाैतारा । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सिन्धुपाल्चोक जिल्लाका चार स्थानीय तहले नीति तथा कार्यक्रम पारित गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका, भोटेकोशी गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र बाह्रबिसे नगरपालिकाले आ–आफ्ना गाउँ÷नगरसभाबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
चारवटै स्थानीय तहले आ–आफ्ना क्षेत्रीय विशेषता अनुसार प्राथमिकता तोकेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाले १ अर्ब १६ करोड २८ लाखको बजेट प्रस्तुत गरेकाे छ । नीति तथा कार्यक्रममा नगरले नगर प्रहरी भर्नादेखि सुख्खा प्रभावित क्षेत्रका लागि विशेष योजना र सुकुटे पर्यटन पूर्वाधार विकास कार्यक्रम घोषणा गरेको छ ।
हरेक वडाका लागि ८५ लाखको दरले बजेट विनियोजन गरिने जनाइएको छ । नगर प्रमुख कृष्णप्रसाद सापकोटाले संघ–प्रदेशबाट प्राप्त अनुदान घटेका कारण बजेट सीमाभित्रै सिमित राख्नु परेको सुनाए । उपप्रमुख सीता थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन । नगरले विस्तृत ब्रेकडाउन सहितको बजेट केही दिनमा पारित गरिने बताईन ।

शिक्षा, युवा र खेलकुदलाई पहिलो प्राथमिकता दिँदै ६ करोड छुट्याइएको छ भने स्वास्थ्य र कृषि सेवामा २÷२ करोड र पशुसेवामा १ करोड विनियोजन गरिएको छ ।

नगर सभामा मन्तब्य राख्दै वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठले प्रस्तुत बजेटले नगरवासीको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । यस्तै वडा नं. ८ का वडाध्यक्ष अमृत दंगालले विगतका कार्यक्रमहरूसँग केही दोहोरिएको भएपनि नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले लैजानु पर्ने बताए । यस्तै प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटाले नगरसभा संविधानले तोकेको सीमाभित्र रहेर सञ्चालन गर्नुपर्ने बताए ।

यस्तै जिल्लाकाे पाँचपोखरी थाङपाल गाउँपालिकाले गाउँसभा सम्पन्न गरेकाे छ । १७ औँ गाउँसभा सम्पन्न गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाले ‘पर्यटन प्रर्वद्धन, आफ्नै गाउँमा रोजगारी’ नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अध्यक्ष टासी लामाले भोताङकोड डुप्खाङमा पर्यटक चेकपोइन्ट निर्माण गरिने जानकारी दिए ।

तर, संघ र प्रदेश सरकारको भूमिका प्रती जनप्रतिनिधिहरू असन्तुष्ट देखिए। वडा ४ का अध्यक्ष कुलबहादुर बस्नेतले “नेताहरूले बोलेका कुरा पूरा नभएको” भन्दै आपत्ति जनाए ।
यस्तै, विद्यालय सिकाइ उपलब्धिमा आधारित पुरस्कार कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकालाई यातायात खर्च वृद्धि (अब १ हजार), तथा कृषि उत्पादन–बजार व्यवस्थापनमा ध्यान दिइएको छ ।

यसैगरी भोटेकोशी गाउँपालिकाले१६ अाै गाउँसभा सम्पन्न गरेकाे छ । १६औँ गाउँसभा सम्पन्न गर्दै भोटेकोशी गाउँपालिकाले पर्यटन, पूर्वाधार, विपद् व्यवस्थापन, र फोहोरमैला व्यवस्थापनजस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पारित गरेको हो । उपाध्यक्ष दिछेन शेर्पाले भैरवकुण्ड भिलेज निर्माणका लागि ४ करोड विनियोजन गरिएको जानकारी दिइन् ।

यसैगरी बाह्रबिसे नगरपालिकाले स्वरोजगार र कृषि आधुनिकीकरणमा फोकस गर्दै ६० करोड ३३ लाखको बजेट प्रस्तुत गरेकाे छ ।

आईतबार ६० करोड ३३ लाख रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको बाह्रबिसे नगरपालिकाले दिगो विकास र स्वरोजगार केन्द्रित योजना अघि सारेको छ । बाँझो जमिनमा एकीकृत खेती, दलित समुदायको सीप आधुनिकीकरण, तथा पर्यटकिय प्रवर्धनलाई प्राथमिकता दिइएको छ ।
१० गते स्थानीय तहले बजेट ल्याउनै पर्ने वाध्यताका काण १० गते बजेट ल्याएका छन् ।