
नगरसभा होस त यस्तो, विपक्षीलाई समेत खुशी पार्दै मेलम्चीको १८ औं अधिवेशन सम्पन्न

दिनेश दुलाल
१० असार (२०८२), मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको १८ औं अधिवेशन १० गतेलाई तोकिएको थियो । नगरकै सभाहलमा ११ बजे सुरुवात हुनेगरी आज (मंगलबार) तयारी हुँदै थियो ।
नगरसभाको १८ औं अधिवेशन हुनु अघि कार्यपालिका सदस्यहरु सम्मिलित बैठक विहानै देखि बसिसकेको थियो । बैठक सकेर सबै खाना खान तिर व्यस्त थिए । सबै कार्यपालिका सदस्य देखि वडाअध्यक्ष लगाएत जनप्रतिनिधि तथा कर्मचारीहरुमा उत्साह नै देखिन्थ्यो । यस्तो लाग्थ्यो नगरबासीको भलाईको लागि थालिएको विचार मन्थन तथा छलफलमा सबैजनाले जितिरहेका छन्, हारेका कसैले छैनन् ।
कार्यक्रम सुरुहुनुभन्दा अघि दौरा सुरुवाल, कालो कोट तथा कालै टोपीमा सजिएर आफ्नै कार्यकक्षमा बसिरहेका नगर प्रमुख आईतमान तामाङको अघिपछि झै अनुहारमा झनै चमक थियो । मेयरलाई भेट्न कार्यकक्षैमा उपस्थित अन्य सहभागिहरुसंग उनी भन्दै थिए– ‘मेरो व्यक्तिगत स्वार्थ के छ र ? जनप्रतिनिधि बिच मनमुटाव हुनु ?, ‘आफुले व्यक्तिगत स्वार्थ नराखेपछि सबै कुरा मिल्दो रहेछ र सहमति गराउन सकिदो रहेछ’, मेयरले यसो भन्दा सबैमा हाँसोेको पर्रा छुटिरेहेको थियो । नगरअधिवेशन सुरु गर्न प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रले मेयर तामाङलाई संकेत गरे ।
हलमा वडाअध्यक्ष देखि सबै कार्यपालिका सदस्यहरुको उपस्थिति भईसकेको थियो । सभा सञ्चालन हुनुअघि प्रमुख प्रशासकीय अधिकृत मिश्रले सबै सांसदहरु (कार्यपालिका सदस्य) लाई सभा सुरु हुनुभन्दा अघि पालन गर्नुुपर्ने नियमहरुको बारेमा बिफ्रिङ गरिरहेका थिए । यस्तो लाग्थ्यो केन्द्रीय संसदीय अभ्यासमा प्रदेश तथा संघमा चलेको संसदको तरिका स्थानीय तहले समेत सोही ढाँचामा गरिहरहेका छन । राष्ट्रिय धुन बजाएसंगै नगर अध्यक्ष तामाङले नगर अधिवेशन सुरु भएको उदघोष गरे । हल अत्यान्त शान्त, मर्यादित तथा सौहाद्रपूर्वक रुपमा सञ्चालन भईरहेको थियो ।
देशैभरी स्थानीय सरकारहरु आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट तयार पार्ने चटारोमा छन् । कतिपय स्थानीय तहहरुमा निर्वाचित जनप्रतिनिधिहरुमा एकल बहुमत नहुँदा नगरसभा प्रभावित हुने गरेका थुप्रै उदाहरण छन् । कतै एउटै दलका जनप्रतिनिधिहरुको बहुमत हुँदा समेत अल्पमत सदस्यहरुको असन्तुष्टी भएका थुप्रै उदाहरण छन् । तर सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले यसपटक सहमति र सहकार्य सहित सौहाद्र वातावरणमा १८ औं अधिवेशन सम्पन्न गरेको छ । विपक्षी दलबाट निर्वाचित जनप्रतिनिधिहरुलाई समेत सहमति गराएर विवाद रहित १८ औं अधिवेशन गर्न मेलम्ची नगरपालिका सफल भएको जानकारहरु बताउँछन् । किनकी यहाँ कार्यपालिकामा कांग्रेस निर्वाचित जनप्रतिनिधिहरु अल्पमतमा छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु बहुमतमा छन् । यति हुँदा समेत विपक्षी दलहरुलाई समेत सहमतिमा लैजान सक्नु मेयर तामाङको उच्च राजनैतिक संस्कार भएको जानकारहरु बताउँछन् ।
नगरपालिकाको १८औं नगरसभामा घाटा बजेट ल्याईएपनि सर्वसहमति र सौहाद्रपूर्व नगर अधिवेशन सम्पन्न भएको सोही नगरपालिका–१ का वडाअध्यक्ष तथा लेखा समिति संयोजक कृष्णमुरारी चौलागाई बताउँछन् । नगरको १८ औं अधिवेशन सम्पूर्ण कार्यपालिका सदस्यहरु बिचको एकता र सहकार्यको अधिवेशन भएको ९ नम्बर वडाअध्यक्ष तथा आर्थिक विकास समिति संयोजक किरणद्विप खड्का बताउँछन ।
उनका अनुसार नगरले मंगलबार एक अर्ब ५३ करोडको बजेट पारित गरेको छ ।
मेलम्ची नगरपालिकाको १८औं अधिवेशन नगरप्रमुख आइतमान तामाङको सभाध्यक्षतामा सम्पन्न भएको हो । नगरसभामा आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक र विभिन्न समितिका प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएका छन् । नगरप्रमुख तामाङले सभामा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रम, उपप्रमुख उमा प्रधानद्वारा पेश गरिएको आर्थिक विधेयक २०८२÷८३, विनियोजन विधेयक, न्यायिक समितिको प्रतिवेदन, लेखा समितिका संयोजक कृष्णमुरारी चौलागाईं र आर्थिक विकास संयोजक किरणद्विप खड्काले प्रस्तुत गरेको प्रतिवेदनलाई सभाले सर्वसम्मतिले स्वीकृति दिएको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि कुल एक अर्ब ५३ करोड ९ लाख २३ हजार ५६२ रुपैयाँको बजेट विनियोजन गरेको छ ।
यस्ता छन् नीति तथा कार्यक्रममा प्राथमिकता दिइएका क्षेत्रहरू
पूर्वाधार विकासः सडक निर्माण, ढल निकास प्रणाली, खानेपानी परियोजना र सार्वजनिक भवनहरू निर्माणमा उच्च प्राथमिकता ।
शिक्षा क्षेत्रः विद्यालय भवन मर्मत, डिजिटल शिक्षा प्रवद्र्धन र छात्रवृत्रि कार्यक्रम विस्तार ।
स्वास्थ्य सेवाः स्वास्थ्य संस्थाहरूको सुधार, मातृशिशु स्वास्थ्य कार्यक्रम र स्वास्थ्य जनशक्ति विस्तार ।
कृषि तथा पशुपालनः आधुनिक कृषि उपकरण वितरण, व्यवसायिक खेती प्रवद्र्धन तथा पशुपालनमा प्रोत्साहन कार्यक्रम ।
पर्यटन प्रवद्र्धनः मेलम्ची क्षेत्रका पर्यटकीय सम्भावनाहरूको पहिचान, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास ।
रोजगार तथा उद्यमशीलताः युवा लक्षित स्वरोजगार कार्यक्रम, सिपमूलक तालिम तथा सहकारी संस्थामार्फत लगानी प्रवाह ।
डिजिटल मेलम्चीः सेवा प्रवाहमा प्रविधिको प्रयोग, नगरपालिकाका सेवा प्रणाली डिजिटलाइजेसन ।
नगरसभामा सभासद्हरूले पारित नीतिहरूले मेलम्चीको दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । नगरप्रमुख तामाङले पारदर्शिता, सहभागिता र जवाफदेहिताको आधारमा स्थानीय सरकार सञ्चालन हुने प्रतिवद्धता व्यक्त गरे ।