सम्झौता कार्यान्यन नगरेको भन्दै बलेफी हाइड्रोपावर विरुद्व उत्रिए स्थानीय
दिनेश दुलाल
३० जेठ (२०८२), चनौटे । जुगल गाउँपालिका–२ ब्रम्मायणी खोलामा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको ३६ मेगावाटको बलेफी हाइड्रोपावर लिमिटेड विरुद्व नाम्फा र सञ्चगाउँका बासिन्दा उत्रिएका छन् ।

बलेफी हाइड्रोपावर लिमिटेडले स्थानीय प्रभावितसंंग यसअघि गरिएको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु बिहिबार आयोजनाको विद्युतगृहमा पुगेका हुन । आयोजनाबाट प्रभावित नाम्फा र सञ्चगाउँका ४ दर्जन स्थानीयले बिहिबार आयोजनालाई ध्यानकर्षण पत्र बुझाएका छन् । आयोजनाले एकहप्ता भित्र स्थानीयको माग सुनुवाई नगरे विद्युतगृह घरेर विद्युत निर्माण नै बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरुले जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोलाई समेत स्थानीय प्रभावितहरुको माग पुरा गराईदिन ध्यानकर्षणपत्र दिएका छन् ।

बलेफी हाइड्रोपावर पीडित संघर्ष समितिका संयोजक दिपक सिलवालले २०७२ सालबाट निर्माण थालेर २०७८ सम्म सम्मन्न हुँदा समेत स्थानीय प्रभावितको माग सम्बोधन नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । आयोजनाको सुरुङ खन्दा बस्तीमा पुगेको क्षतिका सन्दर्भमा आयोजनाले कुनै सुनुवाई नगरेको उनको आरोप छ । उनका अनुसार आयोजनाले सडक समेत बनाईदिने स्थानीय संग प्रतिवद्वता गरेपनि अहिले सम्म नबनाएको उनको भनाई छ ।

अर्का प्रभावित नाम्फाका स्थानीय कमल सिलवालले आयोजनाले प्रभावित जनताको माग पुरा नगरे विद्यृत गृहनै घेर्ने चेतावानी दिए । ‘हाम्रा मागहरु हाईड्रोपावरले पुरा नगरे हामी सबै पीडितहरु आएर घेर्ने छौं’, उनले चेतवानी भाषामा भने । जुगल गाउँपालिका–२ का वडाअध्यक्ष चन्द्रकाजी लामाले यसअघि गाउँपालिका अध्यक्षको रोहोबरमा आफु समेत रहेर आयोजनासंग प्रभावित स्थानीय जनताले गरेको सम्झौता कार्यान्वयन नभएको बताए । जनताको मागहरुलाई छिटो पुरा गर्न आयोजनाका प्रतिनिधि समक्ष ध्यानकृष्ट गराए ।

बलेफी हाइड्रोपावर लिमिटेडले स्थानीय प्रभावितसंंग यसअघि गरिएको सम्झौता कार्यान्वयन नगरेकोले आफूहरु समेत गम्भिर बनेको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले प्रतिक्रिया दिए । आफुहरु हाईड्रो र विकास विरोधी नभएको तर जनताको जायज मागलाई हाईड्रोले पुरा गर्नुपर्ने उनको तर्क छ । जनताको माग सम्बोधन गर्न हाईड्रोले ढिला गरे गाउँपालिकाले कानुनी प्रक्रिया समेत अबलम्बन गर्ने बताए । हाईड्रोले सार्वजनिक जग्गा समेत मिचेको भन्ने स्थानीको मागलाई गाउँपालिकाले नक्साङकन गर्ने समेत बताए ।


बिहिबार दिउस आयोजनाको विद्युत गृहमा पुगेका आन्दोलनरत स्थानीयले हाईड्रोका साईड ईन्जिनिएर अनिल शिवाकोटी समक्ष ध्यानकर्षणपत्र बुझाएका थिए । ईन्जिनिएर शिवाकोटीले आफुले स्थानीय प्रभावित जनताको ध्यानकर्षणपत्र मुख्य कार्यालय काठमाडौंमा पु¥याईदिने बचन दिए ।
स्मरण रहोस उक्त आयोजना २०७२ सालमा सुरुवात भएर २०७८ सालमा निर्माण सम्पन्न भएर विद्युत उत्पादन गरिरहेको छ ।
कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको थियो ।
निष्काशन गरिने शेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नं २, ३ र ४ का बासिन्दाका लागि र आयोजनाको प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल–५ र ७ का बासिन्दा, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोसी गाउँपालिका–७ का बासिन्दाका लागि बाँकी रहेको ४० प्रतिशत अर्थात् सात लाख ३१ हजार १८८ कित्ता शेयर निष्काशन गरिएको आयोजनाको रेकर्डमा उल्लेख छ ।
कम्पनीले हाल जुगलको बलेफी खोलामा कूल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु सात अर्ब ६५ करोड रहेको थियो । आयोजनका मुख्य सञ्चालक एवंम अध्यक्ष उमेश कसजू रहेपनि हाल उनले आयोजना छाडिसकेको स्थानीयको भनाई छ ।

