मेलम्ची खानेपानी हेडबक्स पुग्ने वैकल्पिक प्रवेश मार्गको बजेट कटौति गरिएकोप्रति चौतर्फी आलोचना

दिनेश दुलाल
३० जेठ (२०८२), किउल । राष्ट्रिय गौरबको आयोजना मेलम्ची खानेपानी हेडबक्स पुग्ने वैकल्पिक प्रवेश मार्गको बजेट कटौति गरिएको प्रति चौतर्फी आलोचना भएको छ । हेलम्बुको पर्यटकीय क्षेत्र पार्टीभञ्याङ–कुटुङसाङ हुँदै सुन्दरीजल सम्म पुग्ने सडक मार्गको बजेट कटौति गरिएको भन्दै हेलम्बुबासी आक्रोसित बनेका छन् ।

दातृ निकाय एशियाली विकास बैंक (एडिबी) ले लगानी गर्ने गरी सहमति भई बजेट छुट्टाउने अन्तिम चरणमा कटौति गरेको भन्दै हेलम्बुका जनताले आक्रोस पोखेका छन् । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति समेर रहेर मन्त्रालयसंग सम्झौता गरिएको हेडबक्र्स सम्मको बैकल्पिक प्रवेश मार्गको लागि सम्झौता भएको बजेट कटौति भएको भन्दै संघर्ष समितिका सचिव छिरिङ ग्याल्बु लामाले आक्रोस पोखे ।
उनका अनुसार मेलम्ची खानेपानी विकास समितिले खानेपानी मन्त्रलाय सिंहदरवारलाई २०८२ बेशाख ११ गते हेलम्बु गाउँपालिकाका दुई आयोजनालाई थप बजेटको व्यवस्था गर्न पत्र लेखेको थियो ।

उक्त पत्रमा उल्लेख गरेअनुसार मेलम्ची खानेपानी आयोजनाको मेलम्ची बजार देखि हेडबक्स सम्सको २२ किलोमिटर सम्मको मुख्य प्रवेश मार्ग निर्माणका लागि २५ करोड र सुन्दरीजल–पार्टी भञ्याङ–थानकुने–चित्रे, कुटुङसाङ–तारतुङ–रिबर्मा–हेडबक्र्स सम्मको ४१ किलोमिटर वैकल्पिक प्रवेश मार्ग निर्माणको लागि २० करोड माग गरिएको थियो ।

आयोजनाको हेडबक्र्स सम्म पुग्ने मुख्य प्रवेश मार्गका अधिकांश खण्डहरु २०७८ तथा २०८० मा मेलम्ची नदिमा आएको भिषण बाढीका कारण पूर्ण रुपमा क्षति भएकोले आयोजनाको अस्थायी सञ्चालनमा समेत कठिनायी भएको मेलम्ची खानेपानी विकास समितले उल्लेख गरेको थियो । आयोजनाको दिगो सञ्चालनको लागि नयाँ हेडबक्र्स निर्माणका लागि आवश्यक बाह्रै महिना सञ्चालन गर्न सकिने किसिमको सडक निर्माणको कार्य गरिसक्नुपर्ने गरी दातृ निकाय एशियाली विकास बैंकसंग सहमति भईसकेको र सहमति अनुसार आयोजनाको नयाँ हेडबक्र्स निर्माण नयाँ ऋण सम्झौता समेत भईसकेको उसको ठहर छ ।


मेलम्ची खानेपानी आयोजनाको मुख्य प्रवेश मार्ग मेलम्ची बजार देखि हेडबक्र्स सम्म तथा हेडबक्र्स सम्मको बैकल्पिक प्रवेश निर्माणका लागि आगमी आर्थिक बर्ष २०८२÷०८३ मा राष्ट्रिय गौरबको आयोजनाको प्रवेश मार्ग निर्माणका लागि मेलम्ची खानेपानी विकास समितिका तत्कालिन कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले खानेपानी मन्त्राललाई पत्रचार गरेका थिए । तर सरकारले प्रस्तुत गरेको बजेटमा मेलम्ची देखि हेडबक्र्स सम्मको मुख्य प्रवेश मार्ग पुननिर्माणमा २५ करोड राखेपनि हेडबक्र्स सम्मको बैकल्पिक सुन्दरी जल सम्म पुग्ने सडकको पुर्ननिर्माणको बजेट भने कटौति गरेको छ । पार्टीभञ्याङ, कुटुङसाङ हुँदै सुन्दरीजल पुग्ने यो सडक पर्यटकीय मार्ग समेत हो ।

उक्त हेडबक्र्स सम्म पुग्ने बैकल्पिक सडकलाई परेको बजेट अन्तिममा आएर कटौति गर्नुु पूर्ण रुपमा गलत भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको भनाई छ । उक्त आयोजनाको लागि अर्थमन्त्रालय समेत सहमत भईसकेको अवस्थामा एमालेका सोही भेगका नेताहरुको उक्साहटमा बजेट काटिएको पालिका अध्यक्ष शेर्पाको आरोप छ । उनका अनुसार २०८१ असोज २१ गते सो भेगका चार राजनैतिक दलका प्रतिनिधि सहित तत्कालिन खानेपानी मन्त्री प्रदिप यादव, पालिका अध्यक्ष शेर्पा, मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका अध्यक्ष पासाङ लामा लगाएतले हस्ताक्षर गरी १० बुँदे सम्झौता गरिएको थियो ।

२०७८ असार १ गते तथा श्रावण १६ र १७ गते मेलम्ची नदिमा आएको भिषण बाढीका कारण आयोजनाको हेडबक्र्स, मुख्य प्रवेश मार्ग, पक्की पुल तथा क्याम्पसहरु पूर्ण रुपमा क्षति भएको थियो भने सोही बाढीका कारण सो भेगका २४ जनाले ज्यान गुमाएका थिए ।