बलेफी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित

जेठ २६, चौतारा । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका आईतबार ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित भएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित जिल्ला खोप समन्वय समिति सिन्धुपाल्चोकले औपचारिक रूपमा घोषणा गर्दै पालिकालाई प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख तथा खोप समन्वय समितिका संयोजक बालकृष्ण श्रेष्ठले गरेका हुन ।

बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा तामाङले बालबालिकाको स्वास्थ्य सुरक्षामा खोपको योगदान अमूल्य रहेको भन्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित हुनु नहुने धारणा व्यक्त गरे । “खोपले बालबालिकामा विभिन्न रोगविरुद्धको प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, त्यसैले सबै अभिभावक जिम्मेवार बन्नुपर्छ,” अध्यक्ष तामाङले भने ।

स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेका अनुसार बलेफी गाउँपालिकाका ८ वटै वडालाई वडास्तरीय खोप समन्वय समितिहरूको सक्रियतामा पूर्ण खोपयुक्त घोषित गरिएको हो । घोषणाअघि प्रत्येक घरधुरीमा १५ महिनासम्मका बालबालिकालाई लक्षित गर्दै व्यापक सर्वेक्षण गरिएको थियो । “सर्वेक्षणका क्रममा एक जना पनि बालबालिका कुनै खोपबाट छुटेको पाइएन,” उनले बताए ।

स्वास्थ्यकर्मीहरूको निरन्तर परिश्रम, समुदायको सहयोग र समन्वयकै कारण बलेफी पूर्ण खोप सुनिश्चित पालिकाको मान्यता पाएको हो । पालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मीहरूलाई सम्मान समेत गरेको छ ।

बलेफीसँगै सिन्धुपाल्चोकमा पूर्ण खोप सुनिश्चित पालिकाको संख्या तीन पुगेको छ। यसअघि हेलम्बु र भोटेकोशी गाउँपालिकाले पूर्ण खोप सुनिश्चितताको मान्यता पाइसकेका थिए ।

जिल्ला खोप समन्वय समिति सिन्धुपाल्चोककी सदस्य सचिव दुर्गा बजगाईका अनुसार, सिन्धुपाल्चोकका अन्य पालिकाहरू पनि अन्तिम तयारीमा छन् । जेठ महिनासम्ममा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ ।

तर, जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले भने अझैसम्म माईक्रो प्लानिङसमेत गरेको छैन । स्वास्थ्य शाखाभित्रको आन्तरिक द्वन्द्वले योजनाहरू अघि बढ्न नसकेको स्रोतले जानकारी दिएको छ । यसले जिल्लाभर खोप सुनिश्चितताको लक्ष्यमा असर पर्न सक्ने चिन्ता समेत व्यक्त गरिएको छ ।

जिल्लाको जुगल, त्रिपुरासुन्दरी र पाँचपोखरी संगै मेलम्ची नगरपालिका घोषणाको अन्तिम तयारीमा रहेका छन् ।