चौतर्फी बिरोधको बाबजुत बस्नेतले सांसदकै हैसियतमा दुई ठाउँमा गरे उदघाटन

८ जेठ, सिन्धुपाल्चोक । नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स खरिद प्रकरणमा सवा तीन अर्ब भ्रष्टाचारको अभियोग लागेका कांग्रेस सांसद मोहनबहादुर बस्नेतका गतिविधि र सक्रियता पहिलेकै जस्तो छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनको सांसद पद निलम्बनमा परेको छ । तर बस्नेत सांसदकै हैसियतमा जिल्लामा विभिन्न स्थानको कार्यक्रममा प्रमुख अतिथिको रूपमा जाने गरेका छन् ।

सोमबार उनले लिसंखुपाखर गाउँपालिका– २ निगालेमा हालै सम्पन्न निगाले नारगाउँ खानेपानी योजना र सुनकोशी गाउँपालिका–२ ठोकर्पामा रहेको नवनिर्मित स्वास्थ्य चौकी भवनको उदघाटन गरेका छन् ।

खानेपानी योजनाको उदघाटन गर्न नारगाउँ पुगेका पूर्वस्वास्थ्यमन्त्री बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रम हुने एकदिन अघि स्थानीय सरकार प्रमुख राजु लामाले विज्ञप्ति जारी गरेर भ्रष्टाचार मुद्दामा रहेका निलम्बित सांसदले खानेपानी योजना उदघाटन गर्न नमिल्ने भन्दै प्रेसज्ञिप्ति नै जारी गरेका थिए । लामा माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । वडा नम्बर २ का अध्यक्ष कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । स्थानीय सरकारबाट एक करोड ३० लाख विनियोजन गरेर निगाले नारगाउँका ५५ घरधुरीलाई खानेपानी व्यवस्थापन भएको थियो । खानेपानी योजनामा बस्नेतको कुनै भूमिका नरहेको अध्यक्ष लामाको दाबी छ ।

यद्यपि कांग्रेस नेता बस्नेतले स्थानीय सरकारलाई पुरै बाईपास गरेर स्थानीयको विरोधका बाबजुत खानेपानीको उदघाटन गरिछाडे ।
त्याहाँ मात्रै होईन उनले सुनकोशी गाउँपालिका–२ ठोकर्पामा रहेको नवनिर्मित स्वास्थ्य चौकी भवनको उदघाटन गरि छाडे ।

उक्त स्वास्थ्य चौकी भवनको उदघाटनमा सरकि नहुन सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले प्रेस वक्तव्य नै जारी गरेका थिए । त्याहाँ पनि उनले स्थानीय सरकार र जनताको विरोधको बाबजुत जर्वजस्ती उदघाटन गरे । बस्नेत प्रमुख अतिथिको रूपमा आउने प्रचार–प्रसार गरिएपछि स्थानीय सरकार प्रमुख टपीन्द्र तिमल्सिनाले पनि विज्ञप्ति जारी गरेर स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ को उपदफा २ (झ)मा भएको व्यवस्थाविपरीत कांग्रेस कार्यकर्ताले जबर्जस्ती गरे प्रतिकारमा उत्रने चेतावनी दिएका थिए । ‘नैतिकता भए भ्रष्टाचार मुद्दामा रहेका निलम्बित सांसदले कार्यक्रमको उदघाटन गर्न मिल्दैनथ्यो तर नैतिकता बिर्सिएपछि के लाग्छ ?’ अध्यक्ष तिमिल्सिनाले पूर्वमन्त्री बस्नेतप्रति इंगित गर्दै भने ।

एमाले र माओवादी सुनकोशी गाउँपालिका कमिटीका अध्यक्षद्वय रामहरि खड्का र भीमबहादुर योञ्जनले समेत विज्ञप्ति जारी गरेर राजनीतिक नैतिकताको खिल्ली उडाउने विरुद्ध प्रतिकार गर्ने चेतावनी दिएका थिए ।

तर बस्नेतले जर्बजस्ती उदघाटन गरिछाडे । सोमबार र मंगलबार गरी दुइवटै योजनाको उदघाटन गरेका बस्नेतले आयोजित उदघाटन समारोह कार्यक्रमलाई सम्वोधनका क्रममा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि तथा सांसदलाई सत्तोसराप मात्रै गरेनन ‘सांसद, मन्त्री भए वा नभए पनि सिन्धुपाल्चोकको सरकार मै हुँ’ भनेर चुनौति समेत दिए ।

स्थानीय सरकारको अनुरोधलाई बेवास्ता गर्दै ठुलो संख्यामा मोटरसाइकल, गाडी र कार लिएर नाराबाजी गर्दै उदघाटनस्थल पुगेका बस्नेतले सिन्धुपाल्चोक १ का सांसद माधव सापकोटा र कम्युनिस्ट शक्तिको विरोध गरेका थिए । विशेष अदालतमा मुद्दा परे पनि केही फरक नपर्ने बताउँदै उनले राजनीतिक पूर्वाग्रह साधेर मुद्दा लगाएको दावी गरे । सिन्धुपाल्चोकमा भएका सबै विकास आफैँले गरेको जिकिर गर्दै उनले अझै चारपटक चुनाव लड्ने घोषणा गरे ।

निलम्बित बस्नेतको यो हठात क्रियाकलापले कतिपय कांग्रेस कार्यकर्ता उग्र बनेका छन् भने धेरैजसो शुभचिन्तक निराश देखिन्छन् । सामाजिक सञ्जालमा कांग्रेस कार्यकर्ता उनको बचाउमा लागेका छन् । एमाले र माओवादी नेताकार्यकर्ताले राजनीतिक नैतिकता स्थापित गर्न अख्तियारले दर्ता गरेको मुद्दाको फैसला अगवै बस्नेत सार्वजनिक कार्यक्रममा गएको भन्दै चर्को विरोध गरिरहेका छन् ।