
´ओली सरकारकै कारण व्यवस्था विरुद्व प्रतिगमनकारीहरू सतहमा आए’– वर्षमान पुन

११ वैशाख (२०८२), चौतारा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारका कारण व्यवस्था विरुद्व प्रतिगमनकारीहरू सतहमा आएको टिप्पणी गरेका छन् ।
सिन्धुपाल्चोकको चौतारामा बिहीबार भएको वाइसिएल नेपालको पाँचौँ जिल्ला सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन र व्यवस्था बचाउने सवाल, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र घरेलु समस्या जस्ता सबै विषयमा सरकार असफल भएको उनले ठोकुवा गरे ।
‘ओली सरकारकै कारण व्यवस्थामाथि प्रश्न उठाउँदै प्रतिगमनकारीहरू सतहमा आएका हुन्’, उपमाहासचिव अनन्तले भने । माओवादी केन्द्रले २०८४ सालको चुनावसम्म सरकारमा नजाने भनेको स्मरण गर्दै उनले व्यवस्था माथि नै प्रश्न उठ्न थालेको सन्दर्भमा त्यसलाई बचाउन माओवादी सरकारमा जानुपर्ने अवस्था पनि आउन सक्ने उनले सङ्केत गरे ।
माओवादी केन्द्रका प्रभावशाली नेता पूर्व अर्थमन्त्री पुनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बिचौलियाहरूले बनाएको पुष्टि भइसकेको खुलासा गरे । अहिलेसम्म गभर्नर नबन्नुको तथ्य राख्दै पुनले बचौलियाहरू अहिले राष्ट्र बैक कब्जा गर्न अर्बको डिल गरिरहेको समेत आरोप लगाए । ८४ सालसम्म माओवादीकेन्द्र सरकारमा नजाने भनेपनि ओली सरकारको कमजोर व्यवस्थापनको कारण माओवादीकेन्द्र सरकारमा जानुपर्ने हुनसक्ने संकेत दिए । ‘त्यतिबेला ८४ पर्खेर बस्नु हुँदैन, सरकारमा गए पनि जनताको काम गर्ने, जनपक्षीय माओवादी धार बनाउने र ८४ को चुनावको तयारी गर्ने काम नै हुन्छ।’
नेता पुनले केपी ओली प्रवृत्ति कायम रहुन्जेल कम्युनिस्ट धुर्विकरण सम्भव नरहेको समेत बताए । तर एमाले भित्रका राम्रा कम्युनिस्ट नेताहरू रहेको र अन्य कम्युनिस्ट घटकहरूसँग सहकार्य गर्नुपर्ने उनको तर्क छ ।
त्यसैगरी सम्मेलनलाई मावोवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, पार्टी जिल्ला ईन्चार्ज केशव नेपाल, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा, वाग्मति प्रदेश सांसदत्रय युवराज दुलाल, सरल सहयात्री पौडेल र अमृता नेपाल, पार्टी केन्द्रीय सदस्य चन्द्रबहादुर थापा, प्रेमप्रसाद सापकोटा लगाएत अन्य भातृ तथा भगिनी संगठनहरुले शुभकामना मन्तव्य दिएका थिए ।
अधिवेशनले नेतृत्व तथा पदाधिकारी चयनका लागि बिहिबार नै छलफल अगाडी बढाएको वाईसीयल नेपाल सिन्धुपाल्चोकले जनाएको छ ।