
जुगलकाे हाब्रामा करेन्ट सर्ट भई आगलागी हुँदा पाँच घर नष्ट

३ बैशाख, सिन्धुपाल्चोक । जिल्लाकाे जुगल गाउँपालिका हाब्रामा करेन्ट सर्ट भएर आगलागी हुँदा पाँच घर जलेर नष्ट भएकाे छ । गाउँपालिका वडा नं ३, हाब्रामा पाँचवटा घर पूर्ण रूपले जलेकाे गाउँपालिका अध्यक्ष रेशम स्याङबाेले जानकारी दिए । उनका अनुसार मानवीय र पशुचौपायाको क्षति नभए पनि दैनिक प्रयोग गर्ने घरायसी वस्तु अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद र गहना जलेको छ । उक्त घटनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले समेत पुष्टी गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार स्थानीय प्रेम श्रेष्ठका दुईवटा घरमा आगलागी हुँदा अन्नपात, खाद्यान्न पिस्ने मेसिन, लत्ताकपडा र सुन जल्दा २६ लाखबराबरको क्षति भएको छ। कुमार श्रेष्ठको घर जल्दा १० लाख, मनकुमारी श्रेष्ठको सात लाख ४० हजार, मिलन श्रेष्ठको घर जल्दा १५ लाखबराबरको क्षति भएको छ। पाँचवटा घर जल्दा झन्डै ६० लाखबराबरको क्षति भएको र २० जना स्थानीय विस्थापित भएका छन् । एक्कासि करेन्ट सर्ट भएर सुरुमा एउटा मात्रै घरमा आगलागी भएको थियो। त्यसपछि क्रमशः अन्य चार घरमा आगो सल्किएको हो। आगलागीबाट पाँचवटै घरका मानिस विस्थापित भएकाे स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार दिउँसो ३ बजे घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी सहायक निरीक्षक श्यामप्रसादविनय यादवको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएका थिए ।
यसैबीच जुगल गाउँपालिकाले आगाेलागि पिडितलाई धेरै थाेर मलम पटि गर्नका निमित्त टेन्ट, कम्मल, ब्यङ्केट, खाद्यन लगाएत सामानहरु उपलब्ध गराएकाे गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मितिः २०८२ बैशाख ३, बेलुका ८:00