५ वटा वडालाई सुख्खा क्षेत्र घोषणा गर्ने याेजनामा चौतारा साँगाचोकगढी

२८ चैत्र (२०८१), चाैतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले ५ वटा वडालाई सुख्खा क्षेत्र घोषणा गर्ने याेजनामा लागेकाे छ । त्यसको लागि बिहिबार नगरकाे आयाेजनामा सर्वपक्षीय छलफल गरेको छ । नगरपालिकाको सभा हलमा आयोजित सर्व पक्षीय बैठकले वडा नम्बर १०, ११, १२, १३ र १४ लाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न आवश्यकता रहेको औंल्याउंदै सिचाइ र खानेपानीको विशेष कार्यक्रम संचालन गर्नुपर्ने निचोड निकालेको हो ।

छलफल प्रारम्भिक भएको बताउदै नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले सुख्खापन ठूलो चूनौति बन्दै गएको बताए । बढ्दो सुख्खा पनले कृषिको उत्पादन, जलस्रोत व्यवस्थापन र जनजीवनमा ठूलो प्रभाव पर्दा नागरिकको दैनिकी प्रभावित बनेको सापकोटाको भनाई छ ।

सुख्खा ग्रस्त क्षेत्र न्युनिकरणका लागि विविध पक्षहरू मध्ये खानेपानी प्रमुख समस्या भएकाे बताउँदै खानेपानीकाे व्यवस्थापनकाे लागि नगरले दृघकालिन र टिकाउ हुने खालकाे याेजना बनाएकाे बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटाले सुख्खा ग्रस्त क्षेत्रका भू–भागहरूमा पानीको अभाव, विशेषगरी वर्षा र अन्य जलस्रोतहरूको कमीको कारण खेतीपाती, पानी आपूर्ति, र जनजीवनमा समस्या उत्पन्न भएको औल्याए । उनले यहि कारण सुख्खा क्षेत्र घोषणा गरी काम गर्न जरुरी रहेको तर्क समेत राखे । तिनै तहका सरकारबाट लागत साझेदारीमा परियोजना संचालन र ब्यवस्थापन नगरेसम्म स्थानीयको समस्या टर्न सक्ने अवस्था नरहेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाको भनाई थियो ।

वडा नम्बर १० देखि १४ सम्म १३ हजार ९ सय २२ जनसङख्या रहेको ३२ प्रतिशत भुभाग सुख्खा क्षेत्र घोषण गर्नुपर्ने अवस्थामा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले जनाएको छ । यस्ता क्षेत्रहरुलाई राज्यले सुख्खा ग्रस्त घोषण गर्दै विकल्प सहितका कार्यक्रम ल्याएर जनजीवन सहज बनाउनुपर्नेमा नगरपालिका संवेदनशिल रहेको उपप्रमुख सिता थापाले बताईन् ।

विशेषगरी २०७२ को विनासकारी भूकम्पपछि त झनै यी क्षेत्रमा पानीका मुहान सुकेर नपलाउने, डढेलो बढेर मुहान सुक्ने मात्रै नभइ पोखरीहरु हराउँदै जाँदा समस्या धेरै छ । एकातिर सुख्खा बढ्दै गएपछि हिउँद भर खेति बाझो हुँदा कृषि उत्पादनमा नोक्सानी अर्कोतर्फ पानीको आपूर्तिमा संकट भोग्दै आएको स्थानिय बिमल गिरीले बताए ।

साविक साँगाचोक गाविस भित्र पर्ने ३ वटा वडालाई आर्थिक वर्ष २०७३÷७४ को वजेट वक्तव्य मार्फत सुख्खा क्षेत्र घोषणा भएको भनिएपनि अभिलेख कतै छैन । नगरपालिकाको गत पौष २८ गतेको नगर सभाबाट कुल ५ वटा वडामा सिचाइ र खानेपानीका विशेष कार्यक्रम संचालन गर्ने निर्णय गर्दै सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न प्रारम्भिक छलफल थालेको हो ।

जलवायु परिवर्तनले वर्षा कम र अनियमित हुनुका साथै जंगल काट्ने, जमिनको दुरुपयोग, अव्यवस्थित जलस्रोत जस्ता मानव जन्य कारणहरूले पहाडी क्षेत्रहरू सुख्खा ग्रस्त हुने समस्या देखिएकोले नगरपालिकाको प्रस्तावमा दलका प्रतिनिधिले समेत ऐक्यवद्धता जनाएका छन् । कार्यक्रममा सम्बन्धीत वडाका अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि, पत्रकार लगायतको सहभागीता थियो ।

कृषिका लागि आवश्यक वर्षा कम हुनुका साथै पानीको मुहान सुक्दै जादा चौतारा साँगाचोकगढी नगरपालिकाले गत वर्षबाट रिचार्ज पोखरी निर्माणका लागि प्रति वडा एक लाखका दरले बजेट समेत विनियोजन गर्दै आएको छ । सुख्खा क्षेत्र घाेषणा सम्बन्धि प्रस्तुतीकरण प्रस्तुती प्रमुख प्रसासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकाेटाले गरेका थिए ।