जुगल गाउँपालिकाद्वारा बिमित परिवारलाई रकम हस्तान्तरण

११ चेत्र (२०८१), चनौटे । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले आफ्नो पालिका भित्र बीमा गरेका बीमित परिवारको सदस्यलाई रकम हस्तान्तरण गरेको छ । गाउँपालिकाले विभिन्न राजनीतिक आन्दोलनहरुहरको कारण सहिद घाइते, वेपत्ता, अपाङ्गता भएका र अती विपन्न परिवारहरुका सदस्यलाई रु १ लाख बराबरको जीवन बीमा गरिदिने कार्यक्रम अनुसार बिमित परिवारका सदस्यलाई रकम हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिए ।

चुनाव जितेर पालिका अध्यक्षको पदभार ग्रहण गर्ने क्रममा आफूले राजनीतिक आन्दोलनहरुहरको कारण सहिद घाइते, वेपत्ता, अपाङ्गता भएका र अती विपन्न परिवारहरुका सदस्यलाई रु १ लाख बराबरको जीवन बीमा गरिदिने बचन दिए अनुसारको पुरा गरिएको अध्यक्ष स्याङबोको भनाई छ ।

उनका अनुसार १० वर्षे जीवन विमा कार्यक्रममा सहभागी विमित रेटिमाई दोङको मृत्यु भएपछि उनले प्राप्त गर्ने बीमा दावी भुक्तानी वापतको रकम एकलाख ३ हजार दुई सय ८ रुपैया रेटिमाई दोङको छोरा दिनेश गोलेलाई आज हस्तान्तरण गरिएको हो ।

स्थानीय सामाजिक सुरक्षा योजना व्यवस्थापनको अधिनमा रहि गाउँपालिकाले तयार गरेको जुगल गाउँपालिका जीवन बिमा कार्यविधि २०७९, बमोजिम जुगल गाउँपालिका क्षेत्र भित्र स्थायी बसोवास गरि बस्ने जनआन्दोलनका घाईते, शहिद परिवार, अतिविपन्न परिवार र विपन्न परिवारहरूका साथै आर्थिक अवस्थाका कारण स्वास्थ्य उपचार गराउनबाट बञ्चित भएका परिवारलाई सहजता प्रदान गर्ने उद्देश्यले गाउँसभाले यस अघि निर्णय गरेको हो । गाउँपालिकाको पछिल्लो कार्यलाई त्याहाँका जनताले समेत सकरात्मक रुपमा लिएको गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठले प्रतिक्रिया दिए ।

स्मरण रहोस जनआन्दोलनका घाईते, शहिद परिवार, अतिविपन्न परिवार र विपन्न परिवारहरूका सदस्यहरुलाई बीमा गराउने सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिका दाेस्राे र जुगल गाउँपालिका पहिलाे भएको छ । जुगलले तीन बर्ष अघिदेखि बीमा गर्दै आएकाे छ ।