सिन्धुपाल्चोकबाट पहिलो पटक भेप बरामद, भरिया मात्रै समातिए, नाईके फरार

७ चैत्र (२०८१) बाह्रबिसे । इलाका प्रहरी कार्यालय बाह्रबिसेले २२ लाख मूल्यबराबरको ७४० वटा भेप बरामद गरेको छ ।
चीनको सीमावर्ती क्षेत्र लिपिङबाट काठमाडौं जाँदै गरेको कन्टेनर भ्यानबाट विद्युतीय सिगरेट (भेप) बरामद गरेको सम्भव पहिलो पटक हो ।
नियमित चेकजाँचको क्रममा प्रहरीले बाह्रबिसेको खुर्सानीबारीबाट भेप बरामद गरेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक सुमेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार ५५ वटा ठुलो डब्बामा रहेको ५५० र ३८ साना डब्बामा रहेको १९० वटा गरी ७४० वटा भेप बरामद गरिएको हो । बरामद भेपको हालको बजार मूल्य २२ लाख २० हजार हुन आउँछ । बुधबार राति नौ बजेर १० मिनेट जाँदा बाह्रबिसे नगरपालिका– ३ खुर्सानिबारीमा नियमित चेकजाँचको क्रममा भेप बरामद भएको उनले बताए । चेकपोस्टको ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक बनारसी साहको टिमले कन्टेनर चेकजाँच गर्ने क्रममा तातोपानी भन्सारबाट भाटभटेनी सुपरमार्केटका लागि सामान बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ५४९६ नम्बरको कन्टेनर भ्यानलाई शंका लागेर चेकजाँच गर्दा भेप फेला परेको थियो ।

भन्सार छली गरी ल्याएको विद्युतीय सिगरेट नियन्त्रणमा लिएपछि आवश्यक प्रक्रिया पु¥याएर आजै राजस्व कार्यालय हरिहरभवन काठमाडौंलाई जिम्मा लगाउने तयारी भएको पाण्डेले बताए । चालक भोटेकोशी गाउँपालिका– २ बस्ने वर्ष ३४ का प्रवीण खत्रीसहित कन्टेनर नियन्त्रण लिइएको छ । तातोपानी नाका भएर अवैध रूपमा भेप लाने गरेको प्रहरीलाई पहिलेदेखि नै सुराक थियो । तर, भेप फेला परेको यो पहिलो घटना हो । चालक समातिए पनि भेप ल्याउने नाईके अहिले सम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।