कन्टेनर भ्यानमा २५ करोड बोक्ने सिन्धुपाल्चोकका ‘फुच्चे’ पक्राउ

चैत्र ५ (२०८१), काठमाडौँ । कन्टेनर भ्यानमा २५ करोड बोक्ने सिन्धुपाल्चोकका ‘फुच्चे’ भन्ने कुशाङ लामा पक्राउ परेका छन् । ४३ बर्षीय कुशाङ सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर १ का भएको खुलेको छ । ५ वर्षअघि ७ किलो अवैध सुन तस्करीको आरोपमा पक्राउ परी २०७८ पुसमा नख्खु कारागारबाट कैदमुक्त भएका कुसाङ यो घटनामा पक्राउ परेका एक मात्रै व्यक्ति हुन् ।

सोमबार राति ११ बजेतिर काठमाडौंको टोखाबाट बरामद २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँ बराबरको डलर र युरो बोक्ने कहाँ र कसरी संकलन भएको थियो भन्ने प्रश्न उब्जिएको छ । सुन किन्नकै लागि पठाउन लागिएको प्रारम्भिक सूचना मिले पनि त्यतिका धेरै रकम कसरी जम्मा गरियो भन्ने प्रश्नको उत्तर नमिलेको प्रहरीका केही अनुसन्धान अधिकारीले बताएका छन् । प्रहरीका अनुसार यसअघिको घटनामा उनीसहित चार जना पक्राउ परेका थिए । त्यतिबेला पनि उनी भरियाका रुपमा जोडिएको अनुसन्धानबाट देखिए पनि त्यो सुनको मालिक को थियो भन्ने खुलेको थिएन ।

प्रहरीले यतिका धेरै युरो र डलर नेपाली बजारबाटै संकलन गरेर जम्मा गरिएको हो कि भारतबाट पनि ल्याइएको हो भन्ने कोणबाट अनुसन्धान अघि बढाएको छ । प्राप्त सूचनाको विश्लेषणबाट यति धेरै विदेशी मुद्रा सुन किन्नकै लागि लैजान लागिएको निष्कर्ष नजिक प्रहरी पुगेको छ ।

प्रहरीका अनुसार युरो र डलर काठमाडौंमा जम्मा गरिएको हो भने कहाँ र कसरी जम्मा भयो र यसमा कोको संलग्न छन् भन्ने प्रश्न उब्जिएको छ । ’भारतबाट पो यतिका धेरै विदेशी मुद्रा ल्याइएको हो कि वा भारतीय व्यापारीलाई अवैध सुन बेचेर हात परेको रकम हो भन्ने कोणबाट पनि अनुसन्धान थालिएको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

२५ करोड रुपैयाँभन्दा बढीको युरो र डलर ट्रकभित्रबाट बरामद भएको हो । सो ट्रक झन्डै २० दिनसम्म स्वयम्भूतिरको ग्यारेजमा राखिएको र त्यहीँ फल्स बटम बनाएर रंगरोगन गरिएको सूचना प्रहरीले प्राप्त गरेको छ ।