घरमै सम्मान पाएपछि सहिद परिवार ‘केबल बा’ का आँखा रसाए

दिनेश दुलाल
१५ फागुन (२०८१), चौतारा । चौतारा साँगाचोक नगरपालिका–२ बालुवा स्थित जंगलको बीचमा टिनले छाएको सानो झुपडी छ । ब्रम्मायाणी खोलाको किनारामा रहको उक्त झुपडीमा वृद्व दम्पति बस्छन् । माओवादी जनयुद्व कालमा तिनै वृद्व दम्पतिको झुपडी माओवादी छामामारलाई सेल्टर दिने ठाउँ थियो । त्यहि बाटो भएर माओवादी छामामार ओहोर दोहोर गर्दथे ।

७० बर्षीय उपेन्द्र बाहदुर थापा समेत माओवादी मोर्चामा सामेल भएर भूमिगत थिए । उनको पार्टीको भूमिगत नाउँ ‘केबल’ थियो । उनै छामामार केबल बा ले आफ्ना तीन छोरी र श्रीमतिलाई छाडेर पार्टीमा भूमिगत भएका थिए । साथमा आफ्नो छोरा कविन्द्रलाई समेत जनयुद्वमै पठाएका थिए । गणेश बाहुर थापा उर्फ ‘कबिन्द्र’ को सिन्धुपाल्चोकको मुडेमा २०६० मंसिर ७ तत्कालिन शाही सेनाद्वारा मारिए । एक मात्र छोरा कबिन्द्र मारिएपछि केबल बा मुर्छित मात्रै बनेनन् जीवनको शाहारा बिहिन बने । तैपनि उनले पार्टीको जिम्मेवारीलाई थाँती राखेनन्् । निरन्तर जारी राखे । जब माओवादी शान्ती प्रक्रिया पछि बिस्तारै संसदीय राजनीतिमा समाबेश हुँदै सत्तामा पुग्यो । जनयुद्वका ‘केबल बा’ जस्ता योद्वाहरुको भूमिका गौण बन्यो । ‘केबल बा’ शारिरिक रुपमा अशक्त समेत बने ।

मुलुकमा गणतन्त्र आएपछि कयौंपटक चुनाव भए तर चुनाबको बेलामा हुने चहलपहल बाहेक ‘केबल बा’ का साहारा कोही देखिएनन । नत युद्वमा लडेको छोरो फर्केर आयो न सहिद छोराको सपना नै पुरा भयो । तीन छोरीको बिहे समेत गरिसकेका ‘केबल बा’ का दम्पति बेसाहारा जीवन काटिरहेको छन् । कुनैबेला उनको घर छेउको त्यहि बाटो माओवादीको लावालस्कर हुने गरेकोमा आजभोली सुनशान छ । तर एकदिन अचानक आफुले रगत पसिना बगाएको पार्टी माओवादी केन्द्रले एक्कासी घरमै आएर सम्मान गरेपछि केबल बा दंग मात्रै परेनन भावविह्ल समेत बने ।

माओवादी जनयुद्धमा सहिद र वेपत्ता भएका व्यक्तिको परिवारलाई घरघरै पुगेर सम्मान गर्ने माओवादी केन्द्रको कार्यक्रम अन्र्तगत सहिद परिवार केबल बा लाई गरिएको थियो । पार्टीले सम्मान गरेपछि सहिद परिवार उपेन्द्र बहादुरथापा ‘केबल’ ले सहिदको सपनालाई पुरा गर्न आग्रह गरे । आँखाबाट आँशु टिलपिलाउँदै गरेका ‘केबल बा’ ले सम्मान गर्न आउने माओवादी केन्द्रका नेतासंग भावुक हुँदै भने–‘हाम्रो बेसहाराको त के कुरा गर्नु, जनयुद्वमा साहादत प्राप्त गर्ने सहिदहरुको सपना साकार पार्नुहोला ।’

सहिद सप्ताहको सुरुवातमै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ र ३ का सहिद परिवारलाई सम्मान गरिएको हो ।
माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ समन्वय समितिका संयोजक टिएन सापकोटा नेतृत्वमा गएको टिमले सहिद र वेपत्ताका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । उनीहरूलाई पार्टीको चिनोस्वरुप पानी पिउने करुवा पनि प्रदान गरिएको छ ।

सहिद गणेशबहादुर थापा ‘कविन्द्र’ मात्रै होईन बिष्णु पराजुली, बाबुकाजी ढुंगाना, होमनाथ ढुंगाना र वेपत्ता पारिएका,गेद बहादुर बस्नेतका परिवारलाई घरमै गएर सम्मान गरिएको हो । सहिद परिवारलाई सम्मान गर्दै नेता सापकोटाले सहिद र वेपत्ता योद्धाको सपना साकार पार्न माओवादी केन्द्र पुनः एकपटक जनताको चाहनाबमोजिम आवश्यक संघर्षमा अघि बढ्न लागेको बताए ।
कतिपय गल्ती सच्याएर पार्टी जनतासामु आएको उनले दाबी गरे । सम्मान कार्यक्रममा वाइसीएल सिन्धुपाल्चोक प्रमुख सुमित काफ्लेलगायत गाउँघर पुगेका थिए ।