ठूलोसिरुवारीमा कृयाकलापमा आधारित सिकाई मेला, अहिले सम्मकै उत्कृष्ट
दिनेश दुलाल
२१ माघ (२०८१), चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१३ अन्र्तगत ठूलोसिरुवारीमा कृयाकलापमा आधारित सिकाई मेला सम्पन्न भएको छ । वडा भित्रका ५ सामुदायिक विद्यालयका बालबालिकाहरुलाई केन्द्रित गरी सेतीदेवी माध्यामिक विद्यालयको प्राङग्रणमा गराईएको कृयाकलापमा आधारित सिकाई मेला अहिले सम्मकै उत्कृष्ट प्रर्दशनी भएको सहभागीहरुको ठहर छ । उक्त सिकाई मेलालाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले ढिकीमा धान कुटेर कार्यक्रमको उदघाटन गरेका हुन् ।

कार्यक्रममा सहभागी विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावक लगाएतलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले कृयाकलापमा आधारित सिकाई मेला अहिले सम्मकै उत्कृष्ट भएको प्रतिक्रिया दिए । शैक्षिक प्रर्दशनी अन्य विद्यालयमा यसअघि गरेको भन्दा फरक शैलीमा गरिएको भन्दै एसइइ लगाएत नतिजाको परिणाममा फरक शैली ल्याउन आग्रह गरे । ‘कृयाकलापमा आधारित सिकाई मेला असाध्यै मिहिनेतपूर्वक प्रर्दशन गर्नुभएको छ, यसैगरी एसईई लगाएत विद्यालयको परिणाममुखि नतिजा निकाल्नुहोस’, मेयर सापकोटाले भने । अन्य वडाहरुको तुलनामा सबै हिसाबले १३ नम्बर वडा सक्षम र सबल रहेको भन्दै मेयर सापकोटाले शिक्षामा समेत १३ नम्बर वडा अब्बल भएपछि धन्यवादको पात्र हुने संकेत दिए ।

कार्यक्रममा जुगल बहुहमुखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द पराजुलीले कृयाकलापमा आधारित सिकाई मेला अन्य विद्यालयमा यसअघि गरिने प्रर्दशनी मेला भन्दा फरक शैली अपनाएर उत्कृष्ट प्रर्दशनी गरिएको टिप्पणी गरे । ‘यो कृयाकलापमा आधारित सिकाई मेला हेर्न र यसबाट सिक्न लायक छ’, पराजुलीले भने ।

कार्यक्रमको सभाअध्यक्ष गरेका १३ नम्बर वडाका अध्यक्ष रामप्रसाद गौतमले वडाले शिक्षा क्षेत्रमा परिणाममुखि नतिजा ल्याउनको लागि कृयाकलापमा आधारित सिकाई मेला आयोजना गरेर लगानी गरिएको बताए । १३ नम्बर वडाले सिन्धुपाल्चोक जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरेर उदाहरणीय काम गरेको दावी गर्दै वडा अध्यक्ष गौतमले हरेक कृयाकलापमा यस वडाले नेतृत्व गरिरहेको ठोकुवा गरे । १३ नम्बर वडाले शिक्षा क्षेत्रमा समेत नगर भरिकै अब्बल परिणाम ल्याउने उनले उदघोष गरे ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख लगाएतले समेत सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण गरेका सिकाई सहजकर्ता एवम अर्गानिक एजुकेशन नेपालका प्रवन्ध निर्देशक अर्जुन भट्टले बालबालिकाहरुको शिक्षा सिकाईमा अर्गानिक वातारण बनाउने उद्देश्यले कृयाकलापमा आधारित सिकाई मेला आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थी बीचको सम्बन्धलाई अर्गानिक बनाउने समेत उनले ठोकुवा गरे ।

सेतीदेवी माध्यामिक विद्यालयका प्रध्यानध्यापक रमेश गौतमले वडा शिक्षा समितिको प्रायोजनमा गरिएको शैक्षिक मेला तथा क्याम विद्यालयको सिकाई उपलब्धीमा आधारित रहेको बताए । उनका अनुसार प्रत्येक क्रियाकलापहरु २०–२० मिनेटको समय दिएर शिक्षक र बिद्यार्थीबीच प्रयोगात्मक अभ्यास गराईएको बताए ।

