
क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु

२२ माघ, चाैतारा । सिन्धुपाल्चोक जिल्लाभर पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ । सदरमुकाम चौतारास्थित वनदेवी माविबाट खोप अभियानको शुभारम्म गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका खोप समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा र प्रमुख जिल्ला अधिकारी किरण थापाले वनदेवी खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर संयुक्त रुपमा अभियान सुरु गरेका थिए।
वनदेबी माध्यमिक बिद्यालयकी कुसुम तामाङले अभियानको पहिलाे खाेप पाएकी छिन् । जनस्वास्थ्य कार्यालयका अनुसार ६–१० कक्षामा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १०–१४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने छ । सिन्धुपाल्चोकमा माघ २९ गतेसम्म साता चल्ने अभियानमा १० हजार ४ सयभन्दा बढी किशोरीलाई खोप दिने लक्ष्य रहेको प्रमुख जनस्वास्थ्य अधिकृत दुर्गा बजगाईँले जानकारी दिइन् ।
जिल्लाका १२ वटै तहमा एकसाथ अभियान सुरु गरिएको उनले बताइन् । अभियानको लागि २ सय २ विद्यालयलाई खोप केन्द्र बनाइएको छ । ४ सय चार खोप कार्यकर्ता र ८ सय आठ स्वयमसेबक अभियानमा खटिएका छन् ।
अनुगमन लगायत आकस्मिक कार्यको लागि ३२ जनाको व्यवस्थापकीय टीम बनाइएको प्रमुख जनस्वास्थ्य अधिकृत बजगाईँले जनाइन् । अभियानको शुभारम्भ गर्दै जिसस प्रमुख श्रेष्ठ र नगर प्रमुख सापकोटाले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका थिए । यो खोप निशुल्क लगाइने छ ।
आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक यो अभियान सञ्चालन हुने छ । देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ७६८ जना किशोरीहरुलाई यो खोप दिने लक्ष्य छ ।खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।