पिस्कर आन्दोलनका एकहस्ती छत्रबहादुर बोहोराको निधन

१७ माघ, काठमाडौं । पिस्कर आन्दोलनका एक हस्तीका रुपमा चिनिने छत्रबहादुर बोहोराको निधन भएको छ । छत्र बहादुर बोहरा पिस्कर आन्दोलनका अग्रणी नेता नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका अध्यक्ष अमृत कुमार बोहराको साईला दाई हुन् ।

उनको काठ्माण्डौ चावहिल स्थित हेल्पिङ ह्यण्ड अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । बोहोराको अन्त्येष्टी आज बिहान पशुपति आर्यघाटमा हुने जनाईएको छ ।

निधन भएका बोहोरा पिस्कर आन्दोलनमा जोडिएका एक हस्ती मानिन्छन् । पञ्चायती शासकले २०४० सालको माघे संक्रान्तिका दिन सिन्धुपाल्चकको पिस्करका सर्वसाधारणमाथि हिंश्रक दमन गरे । स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा आक्रमण भयो ।

पञ्चायती शासकको गोलीद्वारा स्थानीय इले थामी र वीरबहादुर थामीको ज्यान गयो । जगतबहादुर बोहरा, पाल्कामाया थामी, सोनाम तामाङ गम्भीर घाइते भए । पिस्कर हत्याकाण्डका क्रममा अन्य पाँचजना पनि पछि ज्यान गयो।

पिस्करका थामी समुदायको अहिलेसम्म पनि अवस्था फेरिन सकेको छैन । काण्डमा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायत दर्जनौंले जेल सजाय भोगेका थिए । सयौँ जनतामाथि झुटा मुद्दा लगाएर वर्षौंसम्म दुःख दिइएको थियो । उक्त घटनाका जिउँदा साँक्षी बोहोराको निधनले पार्टीलाई अपुरणीय क्षति भएको भन्दै एमाले सिन्धुपाल्चोकले दुःख व्यक्त गरेको छ ।