राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा

दिनेश दुलाल
५ पुस (२०८१), सुकुटे । सिन्धुपाल्चोकको पर्यटकीय नगरी सुकुटेमा सम्पन्न राष्ट्रिय बीच भलिबलको दुवै उपाधि नेपाल पुलिस क्लबको पोल्टामा पुगेको छ । माघ १ देखि ५ सम्म चलेको सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिताको दुबै विधाको उपाधि नेपाल पुलिस क्लबले जित हाँसिल गर्न सफल भएको छ ।

नेपाल भलिबल संघको संयोजनामा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजना तथा व्यवस्थापनमा सुनकोशी नदी बगरमा शनिबार भएका फाइनल खेल जित्दै पुलिस क्लवका महिला तथा पुरुष जोडीले उपाधि लिन सफल भएका हुन् ।

महिलातर्फ पुलिसका कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलमा पुलिसकै पुनम चन्द र कामना बिष्टको जोडीलाई २१–१९ र २१–१० अन्तरले पराजित गरे । त्यस्तै एपिएफका निरुता ठगुन्ना र नेविका चौधरीको जोडी तेस्रो बन्दा एपिएफकै रस्मिता दुरा र जस्ना महतोको जोडीले सान्त्वना स्थान हाँसिल गरेका छन् ।

यस्तै पुरुषतर्फ फाइनलमा बराबरी स्थान हाँसिल गर्न सफल भएका पुलिसका चन्द्र कुँवर र सफल बिकको जोडीले एपिएफविरुद्ध जित निकाल्दै उपाधि चुम्न सफल भए । एपिएफएका रमेश बिक र बलिराम चौधरीको जोडीलाई पुलिसका यो जोडीले २१–१८, १४–२१ र ८–१५ ले हराएको हो । यस्तै त्रिभुवन आर्मी क्लबका टिकराज तामाङ र सूर्य परियारको जोडी तेस्रो हुँदा एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीले सान्त्वना पुरस्कार जित्न सफल भएको छ ।

राष्ट्रिय बीच भलिबल प्रतियोगिताको आयोजकका अनुसार प्रतियोगिताको विजेता, उपविजेताले ५० र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै तेस्रो र चौथो स्थान हासिल गर्ने जोडीले क्रमशः १५ र १० हजार नगद पाएको जिल्ला भलिबल संघका माहासचिव कुमार शाहीले जानकारी दिए । उनका अनुसार पुलिसका कमला पुन र सफल बिक प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनीहरुले ट्रफीका साथमा जनही नगद ५ हजार रुपैयाँ नगद पुरस्कार सोत पाए । विजेता खेलाडीलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका हुन् ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिताका दुवै विधाका विजेता र उपविजेता टोलीले सन् २०२५ भरि हुने अन्तर्राष्ट्रियस्तरको काभा बीच भलिबल प्रतियोगितामा भाग लिने जानकारी दिए । प्रतियोगितामा ६ प्रदेश र तीन विभागीय टोलीका महिला, पुरुष गरी ३५ जोडीले भाग लिएका थिए । पाँच दिन चलेको प्रतियोगिताको उदघाटन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।

आयोजक सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाउँदै यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । यो आयोजनाले सुकुटे करिडोरका रिसोर्टहरुमा पर्यटकहरु बढ्ने अध्यक्ष थापाको कथन छ । समापन कार्याक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा, पूर्व अरनिको यातायात प्रा.लिका अध्यक्ष केदार क्षेत्री लगाएतले विजेता खेलाडीहरुलाई शुभकामना तथा बधाई दिए । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको सभाअध्यक्षतामा भएको समापन कार्यक्रम खेलकुद क्षेत्रमा लागेका विशिष्ट व्यक्तिहरु, जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।