‘वर्तमान सरकार अब धेरै दिन टिक्दैन’–प्रचण्ड

दिनेश दुलाल
१ माघ, सुकुटे । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान गठबन्धन सरकारले नैतिक धरातल गुमाईसकेको हुनाले अब धेरै नटिक्ने बताएका छन् । कांग्रेस, एमाले सहित बनेको केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकार अलोकतान्त्रिक तथा असवैंधानिक रुपमा बनेको भन्दै जनतासंघको विश्वास टुटिसकेकाले केही दिन भित्रै सरकार ढल्ने पूर्व प्रधानमन्त्री प्रचण्डले ठोकुवा गरे । ‘यो अलोकतान्त्रिक र असैंधानिक सरकार भ्रष्टहरुलाई मात्र संरक्षण गर्ने पार्टी भएको हुनाले केही दिनमै ढल्ने निश्चित छ’, प्रचण्डले भने, ‘यो सरकार असंवैधानिक त छँदै छ, भ्रष्टाचारीको संरक्षण र सरकारको गतिविधिसमेत अपारदर्शी भएकोले चाँडै ढल्छ ।’ तर माओवादी केन्द्र भने सरकारमा नजाने उनले उल्लेख गरे । माओवादी केन्द्र अब सरकार बनाउने खेलमा नगई प्रतिपक्षको रुपमा सडक र सदनबाट खबरदारी गरिरहने प्रतिवद्घता जनाए ।

सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उदघाटनका लागि पर्यटकीय नगरी सुकुटे पुगेका प्रचण्डले प्रेस सेन्टर सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्र्तक्रियायामा यस्तो धारणा राखेका हुन् । जिल्लामा क्रियाशिल पत्रकारहरुले राखेको जिज्ञाशाका सन्दर्भमा पूर्व प्रम प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेको भ्रष्टाचारविरोधी अभियान रोक्न कांग्रेस र एमाले मिलेर सरकार बनाएको जिकिर गर्दै भ्रष्टाचारीलाई जोगाउन रातरात अप्राकृतिक गठबन्धन गरेर हुँदै नभएको प्रावधानमा सरकार गठन गरिएको उनले जिकिर गरे । सरकारको गलत रवैया सहन नसकेर सत्तासीन नेपाली कांग्रेस संस्थापन पक्षधर नेताहरू नै सरकारको विरोधमा लागिसकेको उनले प्रस्ट्याए ।

संवैधानिक परिषद् , विद्युत् प्राधिकरणमा हस्तक्षेप, प्राकृतिक विपत्तिमा बेवास्ता, सदन छलेर अध्यादेशबाट शासन र भ्रष्टाचारीको संरक्षण सरकार ढल्ने केही उदाहरण भएको प्रचण्डले बताए । सदन फेस गर्ने नैतिक धरातल कमजोर भएको सरकारलाई प्रचण्डले सदन चाँडो खुलाउन मागसमेत गरे ।

सिन्धुपाल्चोकको सबै सुखदुःखमा साथ रहेको बताउँदै प्रचण्डले तातोपानी नाका सहज सञ्चालन गर्न चिनियाँ राष्ट्रपति सिनजिनपिङसँग तीनपटक कुरा गरेको जनाए । अरनिको राजमार्गको स्तरोन्नति गर्न भौतिक पूर्वाधार मन्त्रालयमा फोन गरेर सम्झाएको पनि उनले स्मरण गरे । प्रचण्डको साथमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा लगाएत नेताहरु सुकुटे पुगेका थिए ।

२०८१ माघ १ गते प्रकाशित