
भोटेकोशी–१ जलविद्युत आयोजनाको निर्माण कार्य युद्वस्तरमा, एकबर्षमै ३५प्रतिशत भौतिक प्रगति

दिनेश दुलाल
१२ पुष (२०८१), हिन्दी । सिन्धुपाल्चोको भोटेकोशीमा निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजना निर्माण कार्य युद्वस्तरमा बढिरहेको छ । इलेक्ट्रोपावर कम्पनीद्वारा निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजना भोटेकोशी गाउँपालिकाको ३–४ हिन्दीमा ड्याम बाँधी चाकु डाकलाङमा पावर हाउस निर्माण हुने उक्त आयोजना सुरु भएको एक बर्ष नबित्दै समग्रमा ३५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाको मुख्य सुरुङ मध्ये ८० मिटर (ठाडो) भर्टिकल शाफ्टको अन्तिम ब्रेक थ्रु भएसंगै निर्माण कार्यले सार्थकता पाएको हो । शुक्रबार पावरहाउस निर्माण स्थलमा भर्टिकल शाफ्टको अन्तिम ब्रेक थ्रु गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले स्वीच थिचेर गरेका हुन् ।
गाउँपालिकाको गौरबको आयोजना ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजनाले छोटो अवधिमा निर्माण कार्यले सफलता पाउनु गौरबको बिषय भएको गाउँपालिका अध्यक्ष शेर्पाले प्रतिक्रिया दिए । ‘गाउँपालिका, सुरक्षाकर्मी र स्थानीय जनता लगाएतको साथ सहयोगमा आयोजनाको समग्र टिमको एकरुपता तथा मिहिनेतका कारण सफलता मिल्न सकेको देखिन्छ’, अध्यक्ष शेर्पाले भने । यहि गतिमा काम भए छोटो अवधिमा आयोजना निर्माण सम्पन्न गर्ने निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजना देशकै पहिलो आयोजना बन्न सक्ने उनको ठहर छ ।
मिहिनेती श्रमिक, कर्मचारी, व्यवस्थापन टोली, स्थानीय समुदाय र विभिन्न सरोकारवालाहरूको सामूहिक प्रयासबाट आयोजनाले गति लिएको आयोजना प्रमुख उमेश पराजुलीको भनाई छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इन्द्रध्वज गण, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्ला मालपोत कार्यालय, गौरीशंकर संरक्षण क्षेत्र लगाएत पालिका अध्यक्ष, वडा प्रमुख र सबैलाई उनले धन्यवाद समेत दिए । परियोजनाको काम तिब्र गतिमा बढ्नु टिमवर्क र व्यवस्थापकीय काम महत्वपूर्ण भएको उनको ठहर छ । आयोजनालाई स्थानीय सरकारको पूर्ण सहयोग साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको लगाएतको सहयोग रहेको आयोजना प्रमुख पराजुलीले बताए ।
आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत रहेको आयोजना जनसम्पर्क अधिकृत निर्मल राउतले जानकारी दिए । निर्माणधिन परियोजनामा ईन्जिनिएर, श्रमिकहरु रातदिन नभनी खटिएको कारण छोटै अवधिमा प्रगति हाँसिल गरेको उनले बताए ।
आयोजनाको ठेकेदार कम्पनीका अध्यक्ष भिमसेन भण्डारीका अनुसार सुरुङ मार्गको भौतिक प्रगति ५५.८७ प्रतिशत (सुरुङ खन्ने काम मात्र) भएको हो । त्यस्तै हेडवक्र्सको सुरुवात २०८० मंसिरमा भएकोमा भौतिक प्रगति ५२ प्रतिशत भएको छ । यस्तै इन्टरटनेलमा पहिलो ब्लाष्टिङ २०८० पुषमा भएकोमा ईन्टर टनेलको भौतिक प्रगति ४१.३६ प्रतिशत भएको छ ।
यसैगरी अडिटमा पहिलो ब्लाष्टिङ २०८० चैत्रमा भएकोमा अटिट टनेलको भौतिक प्रगति १०० प्रतिशत भएको भूमिगत कामका व्यवस्थापक सागर ताम्राकारले जानकारी दिए । उनका अनुसार पावर हाउसमा पहिलो ब्लाष्टिङ भएको २०८१ जेठमा भएको थियो । त्यस्तै टेलरेसमा टनेलमा पहिलो ब्लाष्टिङ २०८१ भदौमा भएकोमा यसको भौतिक प्रगति ५९.४५ प्रतिशत भएको छ । यसैगरी अटिटबाट अपस्ट्रिम र डाउन स्ट्रिमको भौतिक प्रगति ३६.२८ प्रतिशत रहेको छ । ड्यामबाट पावरहाउस सम्म २६०० मिटर दुरी रहेकोमा दुवैतिरबाट सुरुङ खन्ने काम तिब्र गतिमा भईरहेको छ । बर्षा अगवै मुख्य सुरुङको काम तथा ड्याम निर्माणको काम सम्पन्न गर्ने गरी आयोजनाले कामलाई तिब्रता दिएको आयोजनाले जनाएको छ । डेड बर्षमा बत्ती बाल्ने उसको लक्ष्य छ ।
यस्तो छ स्थानीय जनताले पाएको सुविधा
आयोजनाका अनुसार भोटेकोशी–१ जलविद्युत आयोजना अन्र्तग रहेका कर्मचारी मध्ये ७५ प्रतिशत स्थानीय कर्मचारी रहेका छन् । आयोजनामा सञ्चालनमा रहेका १७ वटा टिपर, २ वटा जेसिबि र १० वटा स्काभेटर स्थानीयकै रहेको छ । उसोत स्थानीय स्तरमा रहेका तरकारीहरु आयोजनाले खरिद गरेर स्थानीयलाई जिविकोपार्जन समेत सघाएको छ ।
रोजगारी तथा विपन्न परिवारलाई आर्थिक सहयोग
आयोजनाले विभिन्न किसिमका जटिल रोगहरु लागेका (मुटु तथा मृगौला सम्बन्धी रोग) व्यक्तिहरु तथा कमजोर आर्थिक अवस्था भएका परिवारलाई आर्थिक सहयोग दिने गरेको उसको ठहर छ ।
साँस्कृतिक सम्पदाहरुको संरक्षणमा सहयोग
भोटेकोशी गाउँपालिका अन्र्तगत विभिन्न स्थानमा रहेका मठमन्दिर तथा गुम्बाहरु मर्मत सम्भारका लागि तथा नयाँ निर्माणका लागि आयोजनाले निर्माण सामाग्रीहरु (गिटी, वालुवा, सिमेन्ट फलाम) उपलब्ध गराउने गरेको आयोजना प्रमुख पराजुली बताउँछन् । उनका अनुसार भोटेकोशी गाउँपालिका–४ मा पर्ने डाकलाङ र लाङ खोलामा फड्के पुल निर्माण, चाकु बजारमा सार्वजनिक शौचालय र डाकलाङमा सार्वजनिक शौचालय तथा प्रतिक्षालय निर्माण आयोजनाले नै गरिदिएको छ । यसैगरी गाउँपालिका रहेको स्थान हिन्दी बजार तथा चाकु बजारमा खानेपानी व्यवस्थापनको लागि आयोजनाले पाईप उपलब्ध गराएको छ । त्यस्तै गाउँपालिकाको ३ नम्बर वडा कार्यालय देखि भोटेकोशी आधारभूत अस्पताल सम्मको सडक ढलान, वडा नम्बर ४ डाक्तोलामा रहेको श्री महाकालीदेवी आधारभूत विद्यालयको मर्मत सम्भारको काम भईरहेको आयोजनाले जनाएको छ । सेही गाउँपालिकाको वडा नम्बर ५ चाकु बजार संरक्षणको लागि चाकु खोलामा प्रोटेशनको काम भईरहेको र पुरानो बजार जाने सडक ढलान गर्ने योजना रहेको आयोजनाले जनाएको छ । आयोजनाले सडक निर्माण तथा मर्मतमा सहयोग समेत गरेको जनाएको छ । त्यस्तै भोटेकोशी गाउँपालिका अन्र्तगतका ग्रामिण सडकहरु मर्मत तथा निर्माणको लागि जेसिबि तथा स्काभेटर पठाएर सहयोग गर्ने गरेको उसको ठहर छ ।
विपद व्यवस्थापनमा सहयोग
आयोजनाले गत साल गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समिति भोटेकोशी गापा वडा नम्बर ४ फुलिपिङकट्टी संगको समन्वयमा भोटेकोशी–१ जलविद्युत आयोजनाद्वारा डाकलाङ पहिरोमा १००० वटा बाँसका विरुवाहरु विक्षारोपन गरेको थियो । बर्षातको समयमा पहिरोको जोखिममा रहेका लक्षित वर्ग तथा आर्थिक विपन्न समुदायलाई त्रिपाल वितरण गर्ने कार्यक्रम अन्र्तगत गाउँपालिकाको १ मा पर्ने तुसारे गाउँ, वडा नम्बर ४ मा पर्ने सुनखानी थामी बस्ती, फुदपिङकट्टी र वडम नम्बर ३ मा पर्ने दुगुना बस्तीका ४ सय विपन्न घरधुरीलाई ४०० थान त्रिपाल वितरण समेत गरेको हो ।
दलित तथा विपन्न परिवारलाई राहत
यस्तै आयोजनाले २०८१ साउनमा भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थित लुक्सिङ बस्तीका ६० घरधुरीका दलित तथा विपन्न परिवारलाई प्रतिपरिवार एकबोरा चामल, एककिलो नुन, १ लिटर तेल र एकवटा त्रिपाल वितरण गरेको उसको भनाई छ ।
प्राकृतिक विपद, केही स्थानीयको अवरोध तथा सडकको नाजुक अवस्था लगाएत चुनौतिका बाबजुत पनि आयोजनाले युद्वस्तरमा निर्माण काममा तिब्रता दिएको आयोजना प्रमुख पराजुलीले ठोकुवा गरे । भोटकोशी–१ जलविद्युत आयोजनालाई देशकै नमुना हाईड्रोपावर बनाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए ।