
चौतारा साँगाचोकगढी नगरपालिकाको १२ नम्बर वडाबाट निशुल्क स्वास्थ्य शिविरको शुभराम्भ

पुष ९, चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाभरी यतिबेला निशुल्क स्वास्थ्य शिविरको अभियान चलेको छ ।
नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित उक्त निशुल्क स्वास्थ्य शिविरको नगर प्रमुख कृष्णप्रसाद सापकोटाले मंगबारबाट शुभराम्भ गरेका छन् । निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन वडा नं १२ स्थित साँगाचोकमा भएको शिविरमा ७ सय २८ जनाले सेवा लिएका छन् । पहिलो दिन ५ सय १४ जनाले दन्त सेवा लिएका थिए भने २ सय सा१४ जनाले आँखाको परिक्षण गरे ।
साँगाचोकको बर्थिङ सेन्टरमा भएको शिविरमा पुगेका मेयर सापकोटाले नगरपालिको स्वास्थ्य क्षेत्रमा उलेख्य काम गरेको बताए । शिविरले नागरिकलाई स्वास्थ्य अवस्थाबारे थाहा पाउन पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । उनले घरआगनमा सेवा दिने उदेश्यले सँस्थाको सहकार्यमा शिवर गरेको भन्दै पायक पर्ने स्थानमा गई शिविरमा उपलब्ध सेवा लिन नगरबासीलाई अनुरोध गरे ।
महिला तथा बालबालिका उत्थान समाज काठमाण्डौको आयोजनामा चौतारा साँगाचोक गढी नगरपालिकाको सहयोग तथा ऊँ समाज डेन्टल हस्पिटल र तिलगंगा आँखा अस्पतालको सहकार्यमा शिविर भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा स्वास्थ्य शाखा प्रमुख शिव पुरी, जनस्वास्थ्य अधिकृत दिनेश नेपाल, नर्स, स्वास्थ्यकर्मीहरु पनि शिविरमा खटिएका छन् ।
शिविरमा दाँत सफा गर्ने, निकाल्ने, आँखा परिक्षण, सुगर, प्रेसर र तौल परिक्षण गरिएको थियो । विभिन्न ठाउँबाट शिविरमा आइपुगेकाहरुलाई ओम डेन्टल हस्पिटल, तिलगंगा आँखा अस्पताल र नगरपालिकाका चिकित्सकहरुले सेवा दिइरहेका छन् ।
दोस्रो दिन बुधबार जल्कीनि स्वास्थ्य चौकीमा शिविर हुनेछ । जिल्लाका विभिन्न ठाउँमा नागरिकलाई निशुल्क स्वास्थ्य शिविर आयोजना गरी सेवा दिने उद्देश्यले स्थानीय तहहरुको सहयोग तथा सहकार्यमा काम गर्दै आएको संस्थाकी अध्यक्ष सरोजा श्रेष्ठले बताइन् । यो अभियान नगरका अन्य वडाहरुमा समेत निरन्तरता दिईने नगरपालिकाले जनाएको छ ।