नगरपालिकाद्वारा अपाङ्गता पहिचान र निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

कुसुम थामी

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका अपाङ्गता पहिचान र निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर १२ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा ५ र प्रादेशिक अस्पताल चौतारामा पौष ६ गते अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनर्स्थापना र अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर सञ्चालन गरिएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा सिबिएम ग्लोबल (सप्रोस् नेपाल) ,अपाङ्गता बाल अस्पताल बनेपा, बौद्धिक अपाङ्गता अभिभावक संघ सिन्धुपाल्चोक, महिला आत्मनिर्भरता केन्द्र मेलम्ची,नगर अपाङ्गता समन्वय समिति चौतारा लगायत अन्य संघसंस्थाको समन्वयमा घुम्ती शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहायक सामग्री नाप जाँच गरी २३ जना अपाङ्गता भएका व्यक्तिहरूलाई वितरण गरिएको थियो । यसैगरी ४४ जना अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी परिचयपत्र वितरण गरिएको छ । १ सय ९१ जना व्यक्तिहरूलाई स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरिएको सप्रोस नोपलका कार्यक्रम व्यवस्थापक महेश्वर ढकालले जानकारी गराए ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले शिविरलाई निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने बताउदै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । सापकोटाले कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने संघसंस्थाहरूलाई धन्यवाद व्यक्त गरे ।

नगरपालिका क्षेत्रका बिभिन्न स्थानमा अपाङ्गता भएका व्यक्तिहरूको लागि लक्षित गरेर आगामी दिनमा वडा सम्म पुगेर सेवा दिने योजना रहेको नगरपालिका उप–प्रमुख सिता थापाले बताइन् ।

यसै बीच गत असोज ११ र १२ गते परेको अविरल वर्षा गरीएको सर्वेक्षणबापछि पहिचान भएका नगरपालिका भित्रका ८ जना पहिरो प्रभावित व्यक्तिहरूलाई सप्रोस् नेपालद्वारा आर्थिक सहयोग गरिएको सप्रोस नेपालका समानता परियोजना संयोजक महेश्वर ढकालले बताए ।