भोटेकोशीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु, खेलाडी र पत्रकारलाई सम्मान
निर्मल बस्नेत
५ पौष, फुलपिङकट्टी । भोटेकोशी गाउँपालिका सातौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता कार्यक्रमकै बिच खेलाडी र पत्रकारहरुलाई सम्मान गरेको छ ।

पौष ५ देखि ७ गतेसम्मा ३ दिन चल्ने प्रतियोगिता शुक्रबार गाउँपालिकाको ४ नम्बर वडाको थापीनारायण माध्यमिक विद्यालयमामा एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले उदघाटन गरेका हुन् ।

गाउँपालिकाभरका बिद्यालयबाट बिद्यार्थीहरु उक्त प्रतियोगताको बिभिन्न बिधामा सहभागि रहेका छन् । प्रतियोगितामा भलिबल, दौड, फुटबल,सर्टफुट, हाईजम्प, लङजम्प, ज्यावलिङ थ्रो, कराँते, टेक्वान्दो लगायतका बिधाहरुमा प्रतिस्पर्धा हुने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।

सोही कार्यक्रमको अवसरमा गत महिना सम्पन्न साफ महिला च्याम्पीयनसीपमा उपबिजेता बनेका खेलाडीहरु र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको १२ औँ अधिबेशनको निर्वाचनवाट निर्वाचित धु्रव दंगाल नेतृत्वको सञ्चारकर्मीहरुलाई सम्मान गरेको छ ।
गाउँपालिकाले महिला खेलाडीहरुलाई सम्मानपत्रको साथमा गाउँपालिकाबाट १३ लाख रकमको चेक प्रदान गरेको छ । गाउँपालिकाको खेलाडीहरुका मनोबल उच्च राख्न गाउँपालिकाले उक्त प्रोत्साहन रकम प्रदान गरिएको बताए ।

त्यस्तै सिन्धुपाल्चोकका नवनिर्वाचित पत्रकारहरुलाई पनि सम्मानपत्रको साथ खादा ओडाएर सम्मान गरेको छ । उनीहरु सवैलाई गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा र उपाध्यक्ष दिछेन शेर्पाले सम्मान गरेका हुन् ।
कार्यक्रमकै बिच युक्ति फाउण्डेशनमार्फत छात्रा खेलाडीहरुलाई सेनेटरी प्याड वितरण गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्षहरु, नेपाली काङग्रेसका जिल्ला उपसभापति दोर्जे लामा र नेकपा एमालेका बागमती प्रदेश समिति सदस्य आङछिरिङ शेर्पाले प्रतियोगिता सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

गाउँपालिकाभरको खेलाडी बिद्यार्थीहरु, शिक्षक, अभिभावक र स्थानीयहरु सहभागि कार्यक्रममा बिद्यार्थी र शिक्षिकाहरुको नृत्यले मनोरञ्जन प्रदान गरेको थियो ।

