
‘मर्यादित, सुरक्षित र व्यवसायिक पत्रकारिताको विकास गराउने मेरो लक्ष्य रहेको छ’

–धु्रब दंगाल अध्यक्ष
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा
नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाको भर्खरै सम्पन्न १२ आँै अधिवेशनबाट नेपाल प्रेस युनियन तथा प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्ष पदमा ध्रुव दंगाल निर्वाचित भएका छन् । दुई दशकदेखि जिल्लाको पत्रकारितामा क्रियाशील दंगाल पत्रकारिता क्षेत्रलाई आमनागरिकले हेर्ने दृष्टिकोण फरक भएको बेला नेतृत्वमा पुगेका छन् । सामाजिक सञ्जाल र न्यु मिडियाका कारण सञ्चार क्षेत्रका चुनौति थपिएका बेला नेतृत्वमा पुगेका दंगाललाई सिन्धु पत्रकारिता र महासंघलाई पुरानै लयमा फर्कँने योजनाका सन्दर्भमा सिन्धुज्वाला साप्ताहिकका सम्पादक दिनेश दुलालले गरेको कुराकानीको सम्पादित अंश ः
यहाँलाई बधाई छ ।
तपार्इँ लगायत जिल्लाका सबै सञ्चारकर्मीलाई हार्दिक धन्यवाद ।
कडा प्रतिस्पर्धाबीच अध्यक्ष पदमा जित हाँसिल गर्नुभयो, कस्तो अनुभूति गरिरहनुभएको छ ?
जिल्लाको पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउने उद्देश्यका साथ निर्वाचनमा गएकाले आफूमाथि जिल्लाका आमपत्रकार साथीहरुले दिनुभएको जिम्मेवारी वहन गर्ने चुनौति थपिएको महशुस गरिरहेको छु । र, मेरो स्वभाव सुखमा मात्तिने र दुःखमा आत्तिने खालको नभएकाले यसलाई स्वभाविक प्रक्रियाको रुपमा लिएको छु ।
तपाईँ पुरानो, अनुभवी र जिल्लामा परिचित पत्रकार हुनुहुन्छ, आफैँ स्थापित पत्रकार हुँदा पनि एकल उम्मेदवारी दिने आँट नगरेर प्रेस युनियन र चौतारीसँगको गठवन्धनमा निर्वाचनको मैदानमा जानुभयो, के एकल संगठनबाट निर्वाचन जित्न सकिंदैन भनेर चौतारीसँग मिल्नु भएको हो ?
एक्लेै निर्वाचनमा जाँदा जितिन्थ्यो या हारिन्थ्यो त्यो प्राविधिक कुरा हो । म नेपाल प्रेस युनियनमा आस्था राख्ने पत्रकार हुँ । मैले आस्था राख्ने संगठनले देशव्यापी रुपमा प्रेस चौतारीसँग गठवन्धन गर्ने नीति लिएकाले म युनियन र चौतारीको संयुक्त उम्मेदवारका रुपमा प्रस्तुत भएको हुँ । फेरि यो गठवन्धनको संस्कृति जिल्लामा नयाँ पनि होइन, बिगतमा पनि कुनै न कुनै संगठनबीच गठवन्धन हुने प्राक्टिस चलेकै हो ।
अरु पनि प्रेस संगठन थिए होलान्, संस्थामा दुई संगठनको मात्र बर्चस्व हुनुभन्दा सबैलाई समेटेर सहमतिको कार्यसमिति बनाउने पहल गरिएको देखिएन नि ?
प्रेस युनियनका अग्रजहरुले त्यो सम्भावनालाई मध्यनजर राख्दै संगठनहरुसँग संवादको प्रयास गर्नुभएको हो, तर कुनै संगठनलाई पनि त्यसप्रति चासो भएको नदेखिएकाले अग्रजहरु गठबन्धनलाई नै मजवुत बनाउन लाग्नुभएको हो ।
यो निर्वाचनलाई हेर्दा राज्यको चौथो अंग सञ्चार क्षेत्र पनि राजनीतिक हस्तक्षेपबाट अछुतो हुन सकेन होइन ?
लोकतान्त्रिक मुलुकमा कुनै पनि क्षेत्र राजनीतिभन्दा अलग रहन सक्दैन । रह्यो कुरा सञ्चार क्षेत्रको, यो क्षेत्रमा पनि विभिन्न राजनीतिक दलसँग आस्था राख्ने संगठनहरु छन् । र, ती संगठनको माध्यमबाट निर्वाचनमा केही राजनीति हाबी भएको हो कि जस्तो देखिएको हो । फेरि मेरो विचार भन्नुहुन्छ भने पत्रकारले समाचारमा राजनीति गन्ध आउन नदिने हो, संस्था वा संगठनमा होइन ।
निर्वाचन उठ्नुअघि यहाँले कुनै एजेन्डा अघि सारेको देखिएन, अब निर्वाचित भइसकेपछि यहाँको संकल्प र बाचा पूरा गर्न सम्भव छ त ?
स्वभाविक रुपमा समय अभाव र सबै साथीहरुसँग चीरपरिचित भएको नाताले म निर्वाचन जितेर यो यो काम गर्छु भनेर भनिरहनु आबश्यक देखिएन । र, मैले गरेका संकल्प भनेको मर्यादित, सुरक्षित र व्यावसायिक पत्रकारिताको विकाससँगै स्थानीय स्तरमा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमलाई स्थापित गराउनु नै हो । अर्को महासंघको संस्थागत विकासमा पनि केही गर्नु आबश्यक देखिएको छ । मलाई विश्वास छ मेरो नेतृत्वको यो कार्यसमितिले जिल्लाका सञ्चारकर्मीले अनुभूत गर्ने गरी देखिने र दिगो हुने काम गर्नेछौं भन्ने विश्वास लिएको छु ।
सिन्धुपाल्चोकका स्थानीय तहहरु यहाँका सञ्चार माध्यम र सञ्चारकमीप्रति त्यति सकारात्मक देखिएका छैनन्, स्थानीय सञ्चारमाध्यमलाई दिने विज्ञापन कटौती गरिरहेका छन्, यस्तो अवस्थामा पत्रकार आफँै आत्मनिर्भर हुन सक्ने बाटो के हुन सक्छ ?
स्वभाविक रुपमा सबै क्षेत्रका सकारात्मक र नकारात्मक दुवै पाटो हुन्छन् । हामीले पनि स्थानीय तहहरुका दुवै पाटोलाई मूल्यांकन गर्न सकेका छैनौं । गुण र दोषका आधारमा भन्दा पनि नजिक र टाढा भएको आधारमा व्यवहार गरिरहेका छौं । आगामी दिनमा सबै स्थानीय तह र अन्य निकायसँगको समन्वयमा जिल्लाको सञ्चार माध्यमलाई सवल बनाउने हाम्रो भूमिका रहनेछ ।
महासंघ भित्र पनि गैरपत्रकार हावी भएर यो क्षेत्र साँघुरिंदै गएको र बढी आलोचित भएको हो कि ?
केही हदसम्म तपाईँले उठाउनु भएको सन्दर्भ पनि सहि हो । यद्यपि सदस्यता लिने र नविकरण गर्ने एउटा प्रकृया छ, त्यो प्रकृया पूरा गरेर आएकाहरुलाई हामीले सदस्य मान्नु पर्छ । मैले विगतदेखि नै भन्दै आएको कुरा के हो भने मुल पेसा पत्रकारिता भएकाहरुलाई मात्र सदस्यता दिने हो भने यो समस्या केही हदसम्म समाधान हुन सक्छ ।
सदस्यता शुद्धिकरणको क्रममा केन्द्रमा भएको राजनीतिक हस्तक्षेपले केही समस्या आएको थियो । तपाईँको कार्यकालमा महासंघलाई विशुद्ध पत्रकारहरुको मात्र संस्था बनाउन सम्भव छ ?
मैले अघि पनि भनिसकें म मुल पेसा पत्रकारिता हुनेलाई सदस्यता दिनुपर्छ भन्ने मान्यता राख्छु । यस कारण म नेतृत्वमा रहँदा वास्तविक पत्रकारहरुलाई सदस्यता दिने र पत्रकारिता बाहिर रहेका साथीहरुलाई पेसामा फर्काउने कोशिस गर्नेछु ।
पत्रकार महासंघ सबै सञ्चारकर्मी घटकहरुको साझा संस्था हो भन्ने अनुभूत गराउन यहाँको प्रयास के हुनेछ ?
स्वभाविक रुपमा महासंघ सबै पत्रकारहरुको साझा संस्था हो । यसलाई सबै पत्रकारहरुले मेरो संस्था हो भन्ने अनुभूत गर्न सके मात्र नेतृत्व सफल हुन्छ । तसर्थ प्राविधिक रुपमा निर्वाचन लडेर म नेतृत्वमा आएको भए पनि मसँग प्रतिस्पर्धा गर्ने र सबै संगठनमा आस्था राख्ने साथीहरुको साझा संस्था हो भन्ने अनुभुत गराउने गरी काम गर्नेछु ।