पत्रकार महासंघ सिन्धु शाखाको अध्यक्षमा दंगाल, क्लिनस्वीप हुनबाट प्रेस सेन्टर जोगियो

२८ मंसिर २०८१, चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा ध्रुव दंगाल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट दंगाल अध्यक्षमा निर्वाचित भएका हुन् । प्रेस युनियन सिन्धुपाल्चोकका पूर्वअध्यक्ष रहेका दंगालले प्रेस सेन्टरका उम्मेदवार दिनेश थापालाई ५ मतको झिनो मतान्तरले पछि पार्दै जित हाँसिल गरेका हुन् । ध्रुव दंगालले ५० मत ल्याउँदा थापाले ४५ मत ल्याएका थिए ।

त्यस्तै उपाध्यक्षहरुमा कमला पाख्रिन र दीपक अर्याल निर्वाचित भएका छन् । प्रेस युनियनकी पाख्रिनले ६० ल्याउँदा उनकी प्रतिश्पर्धी प्रेस सन्टरकी कमला तामाङ (अश्मिी) ले ३३ मत ल्याएकी थिईन भने प्रेस चौतारीका अर्यालले ५३ मत ल्याउँदा प्रेस सेन्टरका विदुर गिरीले ४२ मत प्राप्त गरे । यसैगरी प्रेस चौतारीका टिका सुवेदीले सचिव पदमा ४४ मत ल्याएर प्रेस सेन्टरका सुन्दर शिरीषलाई ५ मतको मतान्तरले पछि पार्दै निर्वाचित भएका छन् । त्यस्तै सह–सचिवमा प्रेस चौतारीका देवराज सुवेदीले ५२ मत ल्याएर जित हाँसिल गर्न सफल भएका छन् । प्रेस सेन्टरको प्यानलबाट स्वतन्त्रका उम्मेदवार विजय नेपालले ३९ मत ल्याएका थिए । समावेशी सह–सचिवमा प्रेस युनियनका सञ्जय तामाङले ५३ मत ल्याएर प्रेस सेन्टरका केशव अधिकारीलाई पराजित गरेका छन् । अधिकारीले ३९ मत ल्याएका थिए । त्यस्तै कोषाध्यक्षमा प्रेस सेन्टरका दिपक खत्रीले प्रेस युनियनका निरोज चौंलागाईलाई पराजित गरेका छन् । खत्रीले ४७ मत ल्याउँदा चौलागाईले ४६ मत ल्याएका थिए । यहाँ झिनो मतान्तरले हार जित भएको छ ।

त्यसैगरी सदस्यमा दलित सदस्य १ पदका लागि भएको निर्वाचनमा चण्डिका नेपाली निर्वाचित भएकी छिन् । अन्य सदस्यहरुमा किरण थापा, सागर खड्का, दिपिन ढुङ्गना, प्रितम कुमार तामाङ, प्रमिला विक, अर्जुन शर्मा, निर्मल बस्नेत र विपना तामाङ निर्वाचित भएका छन् ।
सिन्धुपाल्चोकबाट महासंघको केन्द्रीय पार्षद सदस्यहरुमा रामकृष्ण थापा, ज्ञानेन्द्र तिमिल्सिना र चित्र मिजार निर्वाचित भएका छन् । त्यस्तै प्रदेश परिषदमा कला अनुरागी, अशोक पराजुली, रमेश पराजुली, हरि दुलाल, हरिनाथ न्यौपाने, रुपक पुरी र रुपक कोईराला निर्वाचित भएका छन् । दुई ठूला संगठनको गठबन्धन विरुद्घ उत्रेको प्रेससेन्टर क्लीनस्वीप हुनबाट भने जोगिएको छ । कोषाध्यक्ष र तीन सदस्य सहित शाखाको कार्यसमितिमा ४ को उपस्थिति रहेको छ ।