
पूर्वमन्त्रीलाई रिवन काट्न हतारो, स्थानीयको अवरोधका बीच पुल उदघाटन

दिनेश दुलाल
मंसिर २२, चौतारा । नेपालीमा एउटा उखान छ–‘कोहीलाई के धन्दा–कोहीलाई के धन्दा, घर ज्वाईलाई खानको धन्दा’ भने झैं सिन्धुपाल्चोकको पुल उदघाटनका सन्दर्भमा त्यस्तै भएको छ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ र ३ जोड्ने दाबी खोलाको पुल उदघाटनका क्रममा यस्तो गाईजात्रा देखिएको हो ।
पूर्व स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आज उक्त पुलको उदघाटन गरेका छन् । त्याे पनि हतार- हतारमा । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद रहेका बस्नेतले प्रतिनिधिसभा १ नम्बर क्षेत्र अन्र्तगत दावी खोलामा बनेको २२ मिटर लम्बाई र सिंगल स्पान रहेको पुलको उदघाटन गर्न ११ः३० मा त्याहाँ पुगेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलै डप्फा सहित पुगेका बस्नेतले स्थानीयको अवरोध र विरोधका बीच प्रहरीकै घेराबन्दीमा रिवन काटेर उदघाटन गरे ।
७० घरधुरी भन्दा बढी रहेको दावीका स्थानीयलाई खवर नै नगरेर पुल उदघाटन गर्न लागेपछि केही स्थानीयले अवरोध गर्ने प्रयास गरेका थिए । ‘प्रहरी र कांग्रेसका कार्यकर्ता लगाएर विरोध गर्ने स्थानीयलाई लखेटियो’, स्थानीय रामकाजी श्रेष्ठले सिन्धुज्वालासंग दुःखेसो पोखे । आफूहरुले पुल निर्माणको केही काम बाँकी रहेको र निर्माण कम्पनी तथा स्थानीयलाई सोत बोलाएर विधिसंवत ढंगले हस्तान्तरण तथा उदघाटन गरौं भनेर माग गर्दा उल्टै स्थानीयलाई खेद्ने काम भएको उनले सुनाए । उनका अनुसार स्थानीयले पूर्वमन्त्री लगाएतलाई ‘मुर्दावाद’ को नारा समेत लगाएका थिए । गाउँपालिकाले त्याहाँका स्थानीय कसैलाई खबर नै नगरेको दावीका सुरेन्द्र श्रेष्ठको भनाई छ । उनका अनुसार केही जम्मा भएका स्थानीय कार्यक्रम स्थलमा नगई अलि केही टाढा बसेका थिए ।
उसोत कार्यक्रमको आयोजक रहेको गाउँपालिकाले कार्यक्रममा पुल निर्माण कम्पनी तथा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकलाई समेत खवर नगरेको उनीहरुको भनाई छ । आफूहरुलाई पुल उदघाटन कार्यक्रमको कुनै खवर नै नगरेको एम.एम. कन्ट्रक्सनका प्रोपाईटर सुनिल गौतमले बताए । ‘हामीलाई पुल उदघाटन कार्यक्रमको कुनै जानकारी नै भएन, पहिलोपटक यस्तो खालको कार्यक्रम देखियो’, निर्माण व्यवसायी गौतमले भने ।
पुल निर्माणको काम भने आफूहरुले लगभग १०५ प्रतिशत नै गरेको उनले ठोकुवा गरे । उनका अनुसार पुल निर्माणको अवधि २ बर्ष रहेपनि १७ महिनामै काम सम्पन्न गरेर पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकलाई गत असारमै हस्तान्तरण गरिसकिएको हो । निर्माण कम्पनीले कार्यालयलाई पुल हस्तान्तरण गरेपनि कार्यक्रमको बारेमा कुनै जानकारी नआएको पूर्वाधार विकास कार्यालयका प्रमुख ईन्जिनियर प्रकाश पौडेलले बताए ।
स्थानीयको भावना विपरित पूर्वमन्त्री जस्तो व्यक्तिले हतार–हतारमा पुल उदघाटन गर्नु जनताको अबमूल्याङकन र मानमर्दन भएको सिन्धुपाल्चोक प्रतिनिधि क्षेत्र नम्बर १ का संघीय सांसद माधव सापकोटा ‘सुवोध’ ले प्रतिक्रिया दिए । त्यस्तै पूर्वमन्त्री तथा नेकपा (एमाले) पोलिव्युरो सदस्य अरुण नेपालले आफू प्रदेश मन्त्री हुँदा भौतिक योजना मन्त्रालयबाट दावी खोला र बुदेपा अन्र्तगत सुनकोशी खोला गरी दुईवटा पुलको पहल गरेको बताउँदै हतारमा पूर्वमन्त्रीले पुल उदघाटन गर्नु गलत भएको प्रतिक्रिया दिए । ‘पूर्वमन्त्रीको त्यो पुलसंग कुनै साईनो नै छैन, नत उहाँ त्यो क्षेत्रको सांसद, न उहाँले पुलको लागी १ प्रतिशत पहल नै गर्नु भएको छ’, पूर्व मन्त्री समेत रहेका नेता नेपालले मोहन बस्नेत प्रति ईगित गर्दै भने । लाभ पाउने त्याहाँका सबै जनतालाई सहभागी गराएर उदघाटनको लागि सोही क्षेत्रका संघीय सांसद मावध सापकोटालाई बोलाईनुपर्ने उनको तर्क छ ।
रङरोगन र सजिसजावट बिनानै पुल उदघाटन पछिको छोटो मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्व स्वास्थ्यमन्त्री तथा क्षेत्र नम्बर २ का संघीय सांसद मोहनबहादुर बस्नेतले नेकपा (माओवादी) केन्द्र विकास विरोधी पार्टी भएको आरोप लगाउँदै ‘जंगली’ को संज्ञा दिए । आफूले उक्त पुलको लागि बजेटको पहल गरेको समेत दावी गरे ।
कार्यक्रममा कांग्रेसका नेता भोला बोहोराले जनताले विरोध गर्न पाउने अधिकार भएपनि समझदारीमा जान
पर्ने धारणा राखे । कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले उदघाटन कार्यक्रममा पुल निर्माण कम्पनी तथा स्थानीयलाई समेत खवर गरेको दावी गर्दै कार्यक्रमको विरोध आउनु अस्वभाविक भएको बताए ।
स्मरण रहोस उक्त पुल निर्माणको लागि तत्कालिन नेकपा हुँदा सभामुख अग्निप्रसाद सापकोटा तथा बागमति प्रदेशमन्त्री अरुण नेपाल हँुदा बजेट परेको हो ।
४ करोड ८० लाख २२ हजार लागत लाग्ने गरी २०७९ फागुनमा सम्झौता गरेर भौतिक पूर्वाधार विकास कार्यालयले हेर्नेगरी काम सुरु भएको थियो । २०७१ को जुरे पहिरो पछि नेपाली सेनाद्वारा वैकल्पिक सडकको रुपमा बाह्रबिसे–सुनकोशी हुँदै ड्याम सम्म नयाँ ट्रयाक खोली निर्माण गरिएको उक्त सडक ठाउँ–ठाउँमा जिर्ण अवस्थामै छ । उक्त सडक मर्मत गरेर सार्वजनिक यातायात सञ्चालन गर्न समेत स्थानीयले माग गरेका छन् ।