इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवनमा पुस्ताकालय निर्माण

मंसिर २०, नवलपुर । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवनभित्र पुस्तकालय स्थापना गरिएको छ । गाउँपालिकाको आफ्नै प्रयासमा पालिका भवनभित्रै पुस्तकालय स्थापना गरिएको हो ।

पालिकाको दोस्रो तलमा रहेको पुस्तकालय युवा पुस्तालाई राजनैतिक जनचेतना, धर्म संस्कृतिको महत्व र गरिमा बुझाउन र पठन पाठनको विकास गर्ने उद्देश्यले स्थापना गरिएको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले सिन्धुज्वालालाई बताए । उनका अनुसार पुस्तकालयमा राजनीति, दर्शन, चार वेद, गिता, श्रीमद् भागवत, विष्णुपुराण, महापुराण, गिता, विश्वको इतिहास, नेपाली इतिहास, नेपालको संविधान, नेपाली बृहत् शब्दकोश, बाल साहित्यका कथा, उपन्यास, विद्यालयमा पठनपाठनका शैक्षिक सामग्री सहित छ सय भन्दा बढी महत्त्वपूर्ण पुस्तकहरू उपलब्ध छन् ।

सबै पुस्ताका पाठकको रुचिलाई मध्यनजर गरेर पुस्तकालयमा नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका उपयोगी र महत्त्वपूर्ण किताबहरू समेत राखिएको अध्यक्ष नेपालले बताए । पुस्तकालय आइतबारदेखि शुक्रबारसम्म कार्यालय समयमा खुला रहने र व्यवस्थापन गाउँपालिकाले गर्ने उनले बताए । पालिकाको शैक्षिक सुधार अभियानको क्रममा पुस्तकालय स्थापना पछि शैक्षिक गुणस्तर वृद्धि र नागरिक चेतनाको विकासमा पुस्तकालयले सहयोग पु¥याउने गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले बताईन ।
१२ पालिका रहेको सिन्धुपाल्चोकमा पालिकामा व्यवस्थित पुस्तकालय स्थापना गर्ने इन्द्रावती गाउँपालिका सम्भवत पहिलो भएको छ ।