‘सुकुटे’ लाई पर्यटकीय क्षेत्र घोषणा गर्दै चौतारा साँगाचोकगढी नगरपालिका

दिनेश दुलाल
१६ मंसिर (२०८१), चौतारा । सिन्धुपाल्चोक जिल्लाको ‘सुकुटे’ लाई पर्यटकीय क्षेत्र घोषणाको अन्तिम तयारीमा चौतारा साँगाचोकगढी नगरपालिका जुटेको छ । नगर शुक्रबार नगर कार्यपालिका बैठकले ‘सुकुटे’ लाई पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय भएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उक्त घोषणा केही दिनभित्र गर्ने तयारी रहेको उनले सुनाए । सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा गरेसंगै पर्यटकीय पूर्वाधार निर्माणको लागि बजेटको माग तथा व्यवस्थापन गर्न सहज हुने नगरका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटाले बताए । पर्यटकीय क्षेत्र घोषणा गरेसंगै व्यवसायीहरुलाई करको दायारामा ल्याउँदा नगरलाई आम्दानी बढ्ने उनको भनाई छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो समय लोकप्रिय सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले यस अघि नै पहल थालेको थियो । सुकुटे क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले गत सुकुटेमा सरोकारवाला निकायसँग अन्तक्र्रिया गरेको थियो । राजधानीबाट नजिकको दूरीमा रहेको सुकुटेलाई व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिकाले चासो दिएको हो ।

सुकुटे बजार पर्यटकीय र धार्मिक महत्व बोकेको क्षेत्र हो । अरनिको र भृकुटीको प्रतिमासहितको पार्क निर्माण गर्न समेत विज्ञहरुले सुझाएका थिए ।
स्मरण रहोस पछिल्लो पटक सुकुटे करिडोरलाई केन्द्रित गरी सिन्धु सुकुटे पर्यटन व्यवसायले आफ्ना गतिविधिहरु तिव्रता बनाएको छ । यसै शिलसिलामा व्यवसायी संघले माघ १ देखि ५ गते सम्म सुकुटेमा सातौं महिला तथा आठौं पूरुष राष्ट्रिय बीच भलिबलको आयोजना गरेर खेल पर्यटन मार्फत सो क्षेत्रको पर्यटन प्रवद्वन गर्न लागिपरेको छ ।