सिन्धु–सुकुटे पर्यटन व्यवसायीद्वारा राष्ट्रिय बीच भलिबल प्रतियोगिता गरिदै


दिनेश दुलाल
मंसिर ९, सुकुटे । सिन्धु–सुकुटे पर्यटन व्यवसायी संघद्वारा राष्ट्रिय बीच भलिबल प्रतियोगिता गरिने भएको छ ।
नेपालकै ख्याति प्राप्त पर्यटकीय नगरी सुकुटे करिडोरमा ८ औं पूरुष तथा सातौं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको आयोजना गरिने व्यवसायी संघले जनाएको छ ।

नेपाल भलिबल संघको आयोजना तथा सिन्धु–सुकुटे पर्यटन व्यवसायी संघ र जिल्ला भलिबल संघ, सिन्धुपाल्चोक संरक्षक÷प्रर्वद्वक रहने गरी २०८१ माघ १ गते देखि ५ गते सम्म सुकुटेमा उक्त आयोजना गर्न लागिएको सिन्धु–सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले सिन्धुज्वालालाई बताए ।


उक्त कार्यक्रमको घोषणा मंसिर १० गते दिउसो काठमाडौंको भृकुटी मण्डप स्थित पर्यटन वोर्डको सभाहलबाट गरिने उनले जानकारी दिए । उनका अनुसार नेपाल भलिबल संघ र सिन्धु–सुकुटे पर्यटन व्यवसायी संघ बीच सम्झौता–पत्रमा हस्ताक्षर हुनेछ । सोही दिन सम्पूर्ण पत्रकारहरुलाई बोलाएर पत्रकार सम्मेलन मार्फत कार्यक्रको जानकारी गराईने समेत थापाले बताए । ‘८ औं पूरुष तथा सातौं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको सभ्य तथा भव्यताका साथ सम्पन्न गर्न प्रचारप्रसार समेत गर्नुपर्ने भएकोले सम्पूर्ण मिडियाकर्मी साथीहरुलाई निमन्त्रणा गरेका छौं’, संघका अध्यक्ष थापाले भने ।

नेपाल पर्यटन वोर्ड, भृकुटि मण्डप, काठमाडौंमा मंसिर १० गते दिउसो १ बजे हुने सम्झौतापत्र तथा पत्रकार सम्मेलन कार्यक्रममा विशेष सहभागि जनाई सहयोग पु¥याईदिनु सम्पूर्ण सञ्चारकर्मी, खेलाडी तथा खेलप्रेमी, राजनैतिककर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, स्थानीय क्लब तथा संघ–संस्था र सम्पूर्ण पर्यटन व्यवसायी सबैमा उनले अपिल समेत गरेका छन् ।


स्मरण रहोस थापाकै नेतृत्वमा बनेको सिन्धु–सुकुटे पर्यटन व्यवसायी संघ गठन भएसंगै सिन्धुपाल्चोकमा पर्यटकीय गतिविधिहरुले तिब्रता पाउन थालेको छ । सिन्धुपाल्चोक भरीकै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले गठन भएको सिन्धु–सुकुटे पर्यटन व्यवसायीले पहिलो चरणमा पर्यटकीय नगरी सुकुटे करिडोरमा राष्ट्रिय बीच भलिबलको आयोजना गर्न लागेको हो । केही बर्ष अघि यहि क्षेत्रमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा सुकुटे महोत्सव गरिएको थियो । पछिल्लो पटक यो क्षेत्रमा पर्यटकहरुको रोजाई हुँदै आएको छ ।