आन्तरिक आयश्रोतबाट खुम्चिदै सिन्धुपाल्चोकका स्थानीय तह, पटक–पटक आह्वान गर्दा पनि दहत्तर–बहत्तरको ठेक्का लागेन


दिनेश दुलाल
कात्तिक २३, चौतारा । स्थानीय सरकारको आन्तरिक आम्दानीको प्रमुख स्रोतका रुपमा रहेको दहत्तर–बहत्तर(ढुङ्गा, गिट्टी,बालुवा) को ठेक्का नलाग्दा स्थानीय सरकार समस्यामा परेका छन् । नदी आसपासका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा आन्तरिक आम्दानीको प्रमुख स्रोत दहत्तर बहत्तरबाट रकम उठ्ने योजनाका साथ बजेट निर्माण गरेका थिए ।

चालु आर्थिक वर्ष शुरु भएको करिब ४ महिना पुगिसक्दा समेत १२ स्थानीय तहमध्ये ३ वटा स्थानीय तहको मात्रै ठेक्का लागेको छ । त्यहिपनि गत साल भन्दा झिनो गरी मेलम्ची नगरपालिका, बाह्रबिसे र बलेफी गाउँपालिकाले लगाएका छन् । ति बाहेक अरु पालिकाले भने पटक–पटक आह्वान गर्दा पनि लगाउन सकेका छैनन् ।

मेलम्ची नगरपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका, ईन्द्रावती गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका र बलेफी गाउँपालिकाले ईन्द्रावती र भोटेकोशी नदीबाट नदीजन्य सामग्री उत्खनन् गर्दा त्यसबापत लाखौ कर संकलन गर्ने गरेको थियो । ति स्थानीय सरकारले पटक पटक सूचना प्रकाशित गर्दा पनि ठेक्का नलागेको ती स्थानीय तहले जानकारी दिएका छन् ।

बाह्रविसे नगरपालिकाले दुईबर्ष अघि सुनकोशी नदी क्षेत्रको बाह्रविसे देखि जुरेसम्मको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् बापत झण्डै १ करोड रुपैयाँमा ठेक्का आवह्रान गरेको थियो । तर चार पटक सूचना प्रकाशित गर्दा समेत कोही पनि ठेक्का हाल्न आएनन् ।
यसपालि पुलदेखि तल्लो खण्ड भ्याट बाहेक ७५ लाख र माथिल्लो खण्ड २८ लाख गरी जम्मा एककरोड ३ लाखमा बल्लतल्ल ठेक्का लागेको हो । गत साल भन्दा प्रतिघनफिट २ रुपैया घटाएर आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरी शर्माले जानकारी दिए ।
त्यस्तै बलेफी गाउँपालिकामा गत साल ठेक्का नलागेकोमा यसपटक स्थानीय सुनिल कुमार श्रेष्ठ, श्रेष्ठ कन्ट्रक्सनको नाममा २६ लाखमा परेको हो ।

त्यस्तै १२ स्थानीय तहमध्ये सबैभन्दा बढी नदिजन्य पदार्थबाट राजश्व संकलन गर्ने मेलम्ची नगरपालिकामा पनि गत सालभन्दा १० करोड कम हुने गरी ठेक्का लागेको छ । मेलम्ची नगरपालिका राजश्व शाखा प्रमुख राजेन्द्र दुलालका अनुसार यसपटक मेलम्ची नगरपालिकाले २३ करोड ५२ लाखको ठेक्का लागेको छ । सुदिपा ट्रेनिङ प्रा.लीलाई उक्त ठेक्का परेको हो । नगरपालिकाले गत साल ३३ करोडमा प्रति घनफिट ९ रुपयाँ परेकोमा यसपटक २ रुपैंया घटाउँदा १० करोड घाटा व्यहोरेर लगाउन वाध्य भएको छ ।
त्यस्तै जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह चौतारा साँगाचोकगढी नगरपालिकामा समेत दहत्तर–बहत्तरको ठेक्का लाग्न सकेको छैन् । यो साल ईन्द्रावती पटी ११ करोड पाँचलाख ७९ हजार १ सय ६१, सुनकोशी पटी २ करोड ८४ लाख ७३ हजार ७ सय २७ को ठेक्का सूचना जारी भएपनि ठेक्का लाग्न सकेन । यो समेत ५ पटक आह्वान भएको नगरका प्रमुख ईन्जिनिएर विकास श्रेष्ठले जानकारी दिए । गत साल ईन्द्रावती पटी १५ करोड ४९ लाख ६ हजार ७ सय ९४ सुनकोशी पटी ४ करोड ७५ लाख ६० हजार २ सय ९३ लागेको थियो । अहिले प्रति घनफिट २ रुपैंया घटाउँदा समेत ठेक्का लाग्न सकेन ।

त्यस्तै दहत्तर–बहत्तरबाट तेस्रो ठूलो राजश्व संकलन हुने ईन्द्रावती गाउँपालिकाले गत साल १२ करोड चानचुनको ठेक्का लागेपनि यो बर्ष लाग्न सकेन । यो साल प्रतिघनमिटर २ रुपैंया घटाएर सातौं पटक आह्वान गर्दा पनि लाग्न नसकेको ईन्द्रावती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले सिन्धुज्वालालाई बताए ।

यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाले २१ लाखको झिनो टेन्डर गरेपनि नलागेको पालिका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिए ।
उता सुनकोशी गाउँपालिकाको यो आर्थिक बर्ष २०८१÷०८२ को लागि २२ लाख खुलाएपनि ठेक्का लाग्न सकेन । ‘सातौं पटक सम्म सूचना प्रकाशित गरेको र घाट–घाट को पनि छुट्टाएर ठेक्का निकाल्दा समेत कोही पनि आएनन’ पालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले भने–‘आन्तरिक आम्दानीबाट केही भरथेक हुने अपेक्षा राखेका थियौ तर अहिलेसम्म ठेक्कै लाग्न सकेन ।’
सुनकोशी गाउँपालिका प्रशासकीय अधिकृत युगबहादुर खड्काका अनुसार ३ बर्ष अगाडि ६० लाखको ठेक्का लागेकोमा त्यसपछि ठेक्का लाग्न सकेको छैन् ।

गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरुलाई आन्तरिक आम्दानीबाटै तलब खुवाउने गरेपनि रकम संकलन नभएपछि समस्या भएको ईन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल बताउँछन् ।
स्मरण रहोस गत साल सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको मात्रै अन्तरिक आयको ठेक्का लागेको थियो ।

बिक्नै छाड्यो बालुवा, गिट्टी

सिन्धुपाल्चोकको सुनकोशी, इन्द्रावती र भोटेकोशी नदी आसपसामा दुई दर्जन बढी क्रसर उद्योगहरु सञ्चालनमा छन् । निर्माण कार्य नहुँदा क्रसरहरुले उत्पादन गरेको बालुवा, गिट्टी लगायतका सामग्रहीहरु बिक्री हुनै छाडेको छ ।

बालुवा, गिट्टी बिक्री नहुँदा स्थानीय तहहरुको दहत्तर, बहत्तरको ठेक्का नलागेको हो । ‘यस अघि दैनिक सयौ टिप निर्माण सामग्रीहरु सिन्धुपाल्चोकबाट राजधानी लगायतका अन्यत्र जिल्लामा जाने गरेको थियो ।

तर अहिले मुस्किलले ५० टिप पनि बिक्री हुँदैन’ एक क्रसर सञ्चालकले भने । कुनै बेला प्रति टिपको १० हजार समेत बालुवाको मूल्य भएपनि अहिले ३ हजार हुँदा समेत बिक्री हुन छाडेको छ ।
यसले सिन्धुपाल्चोकका स्थानीय तहलाई मात्रै होईन संघीय र प्रदेश सरकारलाई समेत आर्थिक भार थपिएको जानकारहरु बताउँछन् । स्थानीय व्यवसाय समेत चौपट परेको छ । करोडौं लगानी गरेर क्रसर व्यवसाय गरेका व्यवसायीहरु यतिबेला आर्थिक चपेटामा परेर उठिबास बन्ने अवस्था आएको एक क्रसर व्यवसायीले दुःखेसो पोखे ।