नागरिकको जीउधनको सुरक्षालाई उच्च प्राथमिकता दिउँ – गृहमन्त्री लेखक

निर्मल बस्नेत
२२ असोज चौतारा । गृहमन्त्री रमेश लेखकसहितको टोली ११ र १२ गतेको अबिरल बर्षपछि बाढीपहिरोले सताएको सिन्धुपाल्चोकको जानकारी लिएका छन् । मन्त्री लेखकले बिपद्को घडीमा नागरिकको जीउधनकको सुरक्षालाई उच्च प्राथमिकता दिएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री संगै रक्षामन्त्री मानवीर राई, भौतिक योजना तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहित हेलिकोप्टरमा आएका सरकारी अधिकारीले जिल्ला विपद व्यवस्थापन समिति र राजनीतिक दलसँग जिल्लाको अवस्था बुझ्ने काम गरेका छन् ।

मंगलबार बिपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाको वर्तमान अवस्थाको बारेमा बताएका थिए । र, सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले ११–१२ गतेको बाढीपहिरोले पु¥याएको मानवीय तथा भौतिक क्षतिको विवरण प्रस्तुत गरि जानकारी गराएका थिए ।
सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा बेलिब्रिजको व्यवस्थापने गर्ने बचन दिए ।
गृहमन्त्री लेखकले बिपदको घडीमा तीनवटै सुरक्षा निकायको भूमिका उच्च रहेका भन्दै प्रशंसा उनिहरुलाई थप उद्धार, राहत र पुनर्स्थापना कार्यमा लाग्न निर्देशन दिए । उनले जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान, क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए । उनले बैठकमा भने, ‘जिल्लाबाट जति चाँडो विवरण पठाउनुहुन्छ त्यती नै सरकारको ध्यान पुग्ने बताए । बिवरण पठाएकोे तीन दिनभित्र सरकारले राहत प्रदान गर्नेछ भन्दै प्रकोपमा परेकाहरुको उपचार सरकारले नै बेहोर्ने निर्णय भएको जानकारी गराए ।
यता झण्डै २ हप्ता बित्नलाग्दा मन्त्रीहरु ढिला गरेर आएको भन्दै प्रतिपक्ष दल माओबादी केन्द्रका जिल्ला संयोजक गोबिन्द पराजुलीले सरकारको आलोचना गरेका थिए । उनले तत्कालको अवस्थामा केन्द्रिय सरकारको उच्च पदस्थ व्यक्तिहरुले स्थलगत भ्रमण गरिएको भए पीडित नागरिहरुले सरकारलाई सदैव सम्झिरहने थिए भने ।

सिन्धुपाल्चोकमा भोटेकोशी बाहेकका अन्य कुन स्थानीय तहलाई विपतग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने हो सबै पक्षसँग छलफल गरेर न्यायोचित विवरण पठाउन गृहमन्त्री लेखकले प्रजिअलाई निर्देशन समेत दिए ।
भोटेकोशीलाई मात्रै विपतग्रस्त भनेर सरकारबाट भएको घोषणा अन्यायपूर्ण रहेको भनेर सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने चार सांसदले प्रजिअ थापालाई ज्ञापनपत्र बुझाएका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मित्रराष्ट्र भारतबाट २० वटा बेलिब्रिज ल्याउन लागेको जानकारी दिदै तातोपानीमा छिटो बेलिब्रिज ल्याउने सरकारको योजना रहेको बताए ।
एकपछि अर्को गरि सिन्धुपाल्चोक जिल्लालाई बर्सेनि प्राकृतिक विपत्तिले सताउने गरेको छ । ११ र १२ गतेको भारी बर्षको कारण १० जनाको मृत्यु, दुई बेपत्ता र ठुलो परिमाणमा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तातोपानी क्षेत्र बन्द रहेकाले चीनको खासामा रहेका नेपाली व्यवसायीहरुको अर्बाैँ मूल्यको सामान अलपत्र अवस्थामा रहेकोले राज्यको राजस्वमा समेत गिरावट आउने भएको छ ।